लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुल्ला सिमानाका कारण हुने अपराध तथा तस्करी नियन्त्रणका लागि कठोर बन्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा खुल्ला भारतीय सिमानाका कारण अवैध रुपमा कुखुरा, अण्डा, चल्ला, दुध लगायतका वस्तु निर्वाध रुपमा भित्रिएको भन्दै त्यस्तो कार्यलाई तत्काल नियन्त्रण गर्न निर्देशन दिए।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खुला सीमाका कारण राजस्व चुहावट भइरहेकोले र तस्करीलाई निरुत्साहित गर्न प्रभावकारी उपाय अवलम्बन गर्न निर्देशन दिएका हुन्।
‘खासगरी तराईका जिल्लाका भारतसँग सिमा जोडिएका नाकाहरुबाट कुखुरा, अण्डा, चल्ला, दूधलगायतका वस्तुको अवैध रुपमा चोरी निकासी हुने गरेको छ, यसरी हुने चोरी निकासीले राजश्व चुहावट भइरहेको छ त्यसतर्फ तत्काल लाग्नुपर्ने देखिएको छ,’ मुख्यमन्त्री आचार्यले भने।
उनले खुला सिमाबाट चोरी तस्करीमार्फत भित्रिने वस्तुका कारण नेपाली किसानहरु मर्कामा परेको उल्लेख गर्दै नियन्त्रणका लागि प्रहरी प्रशासनले प्रभावकारी योजना बनाउनुपर्ने बताए। ‘समयमै तस्करी नियन्त्रणका लागि प्रहरी प्रशासन कठोर बन्न सकेन भने त्यसले मुलुकको आर्थिक क्षेत्र नै धारासायी हुने छ,’ उनले भने।
मुख्यमन्त्री आचार्यले सिमित दक्षताको अभाव र साधन श्रोतको अभावका बीचपनि प्रहरी संगठनले जनतालाई शान्ति-सुरक्षा प्रदान गर्न र अपराध अनुसन्धानमा अब्बल सावित गरेको उल्लेख गर्दै प्रविधिको प्रयोगसँगै अपराधका स्वरुपमा पनि परिवर्तन भएकोले प्रहरी संगठनलाई पनि प्रविधिमैत्री बनाउन जरुरी रहेको बताए।
‘अहिले अपराधका स्वरुप परिवर्तन भएका छन्, जति प्रविधिको विकास भईरहेको छ त्यसबाट सिर्जित साईबर अपराध प्रहरीका सामु चुनौती बनिरहेको छ,’ मुख्यमन्त्री आचार्यले भने। उनले जसरी अपराधका घटनाहरुको रुप परिवर्तन भइरहेको छ प्रहरीलाई पनि सोही अनुसार अभ्यस्त बनाउनुपर्ने आवश्यकता औंल्याए।
मुख्यमन्त्री आचार्यले कानुनी जटिलता र साधन श्रोतको अभावका कारण कतिपय अपराध अनुसन्धान र अभियोजनमा सफलता प्राप्त हुन नसकेको भएपनि प्राप्त साधनश्रोतको उपयोग गरि गहिराइमा पुगेर अनुसन्धान गर्न र नतिजा दिनेगरी लाग्न आग्रह गरे।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश कुमार अग्रवालले प्रदेश र संघको दोहोर ऐनलाई कार्यान्वयन गर्ने विषयमा पनि छलफल जरुरी रहेको बताए। उनले लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले छुट्याएको आधाबढि बजेट सुरक्षा निकायको लागि छुट्याएको भन्दै प्रदेशमा सुसासन कायमका लागि सहकार्य आवश्यक रहेको बताए। हामीले सुसासन कायम गर्न र अपराध अनुसन्धानमा कतैबाट पनि दवाव र प्रभाव आउँदैन तर, प्रहरी संगठनले पनि निष्पक्ष रुपमा छानविन र अनुसन्धान गर्नूपर्ने देखिन्छ,’ उनले भने।
उनले नेपाल प्रहरीमा क्षमतावान र सिनियरलाई रोकेर भनसुनको नाममा तल्लो तहको व्यक्तिलाई बढुवा गर्ने गलत प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए।
‘राम्रो काम गर्ने र सिनियरलाई रोकेर तल्लो तहको व्यक्तिलाई प्रमोसन गर्ने परम्पराले राम्रो काम गर्नेहरुको मनोबल गिर्ने काम गरेको छ, विगतमा प्रहरी संगठनमा प्रमोसन गर्ने जुन प्रक्रिया छ त्यहि अनुसार अगाडी बढ्नुपर्छ,’ मन्त्री अग्रवालले भने।
रुपन्देहीका प्रमुख जिल्ला बासुदेव घिमिरेले जसरी अपराधका घटनाहरुका रुप फेरिएका छन् त्यसैगरि अपराध अनुसन्धान र अभियोजनका लागि दक्षता वृद्धि गर्नुपर्ने बताए।
जति धेरै न्यायसम्पादन भयो त्यसको जसपनि प्रहरी संगठनलाई नै जाने भन्दै उनले अपराध अनुसन्धान र न्याय सम्पादनलाई पनि विशिष्टीकरण गर्न जरुरी रहेको बताए। बेलाबेलामा हुने यस्ता तालिम तथा गोष्ठिले प्रहरी संगठनले गरेका असल अभ्यासलाई विस्तार गर्दै लैजाने र गलत प्रवृत्ति भएको रहेछ भनेपनि त्यसलाई सुधार गर्न सहायक सिद्ध हुन्छ,’ उनले भने।
अपराध अनुसन्धान विभागका अतिरिक्त महानिरिक्षक कुवेर कडायतले व्यवसायीक बन्ने नाममा आम नागरिकका अपेक्षाप्रति पनि संवेदनशिल बन्नुपर्ने बताए। ‘सरकारले हामीप्रति जुन विश्वास गरेको छ हामिले त्यसलाई पनि जोगाउनु छ, सार्वजनिक पद धारण गर्ने हामीहरु सधै नागरिकको आँखामा परिरहने भएकोले हाम्रो दायित्व धेरै छ त्यसतर्फ हाम्रो ध्यान जानु जरुरी छ,’ उनले भने।
उनले आफुहरुमा भएका गलत प्रवृत्तिलाई सुधार गर्ने र सरोकारवाला निकायसँग कसरी समन्वय गर्ने भन्ने विषयमा पनि यस्ता गोष्ठिले सघाउ पुर्याउने बताए।
विभागका प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण प्रसाद पंगेनी र लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले लागूऔषध ओसारपसार, साइबर अपराध, सिमा दुरुपयोग र अन्य नवीनतम सुरक्षा चुनौतीहरुको गम्भीर विश्लेषण आवश्यक रहेको बताए।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा प्रदेशका १२ वटै जिल्लाबाट नेपाल प्रहरीका उच्च अधिकारीहरु तथा अपराध अनुसन्धान विशेषज्ञहरुको सहभागिता रहेको गोष्ठिमा अपराध अनुसन्धानका चुनौतीहरु, अनुसन्धान प्रविधि र सुरक्षा रणनीतिबारे विस्तृत छलफल हुने लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।