राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद (डिपी) अर्यालले सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउन कार्यदल नबनाएको स्पष्ट पारेका छन्।
बुधबार अपराह्न पार्टी केन्द्रीय कार्यालय घण्टाघरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जबाफ दिने क्रममा उनले सो स्पष्टीकरण दिएका हुन्।
कार्यवाहक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रीय समिति बैठकले अनुमोदन गरेको उल्लेख गरे।
उनले भने, ‘उहाँले लिखितम राजीनामा प्राप्त भएको छैन। तर उहाँले हाम्रो आधिकारिक ग्रुप हुन्छ पार्टी केन्द्रीय समितिको। त्यो ग्रुपमा उहाँले स्पष्ट रूपमा पार्टी छोडेको धारणा राखिसक्नु भएको हुनाले कार्यवाहक सभापतिले हैसियतले मैले उहाँको राजीनामा त्यसैलाई आधार मानेर स्वीकृत गरेको छु। र त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन पनि गरिसकेको छ। उहाँलाई पार्टीमा स्वागत गर्न हाम्रो ढोका खुला छ। कार्यदल बनाएको छैन।’
कार्यवाहक सभापति अर्यालले पार्टीभित्र कुनै फरक मत नरहेको पनि दोहोर्याए। —न्युज एजेन्सी नेपाल