इसराइलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी गठबन्धन र विपक्षी नेता गादी आइसेनकोटको समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ।
मतदानपछिका एक्जिट पोलहरूले दुवै पक्षले सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत नल्याउने संकेत गरेका छन्।
एक्जिट पोलअनुसार आइसेनकोट नेतृत्वको विपक्षी समूहले ५१ देखि ५३ सिट र नेतन्याहूको गठबन्धनले ५० देखि ५१ सिट पाउने अनुमान गरिएको छ।
अरब दलहरूले भने १७ देखि १८ सिट पाउने देखिएको छ।
इसराइलमा संसद्का कुल १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ।
त्यसैले कुनै पनि पक्षले एक्लै बहुमत नल्याएपछि सरकार गठनका लागि अन्य दलको समर्थन निर्णायक बन्ने देखिएको छ।
अमेरिकी अनलाइन एक्सियसका अनुसार सुरुवाती एक्जिट पोलमा आइसेनकोटको समूहले सामान्य अग्रता लिए पनि रात बित्दै जाँदा नेतन्याहूको गठबन्धनले त्यो अन्तर घटाएको थियो।
अन्तिम नतिजा नआएसम्म सरकार गठनको समीकरण स्पष्ट नहुने देखिएको छ।
मतदानमा जनसहभागिता पनि उल्लेख्य देखिएको छ।
इसराइलको निर्वाचनसम्बन्धी निकायका अनुसार मतदान सकिँदासम्म ७७.७ प्रतिशत मतदाताले मत खसालेका थिए।
सन् २०२२ को निर्वाचनमा भन्दा यसपटक मतदानमा सहभागी हुनेको संख्या बढेको हो।
सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण र त्यसपछि गाजासहित विभिन्न क्षेत्रमा भएका युद्ध तथा सुरक्षा व्यवस्थापनलाई लिएर नेतन्याहूको नेतृत्वमाथि उठेका प्रश्नका बीच यो निर्वाचन भएको हो।
एक्जिट पोल सार्वजनिक भएपछि आइसेनकोटले आफूले विजय हासिल गरेको दाबी गरेका छन्। उनले नेतन्याहूलाई लक्षित गर्दै मतदाताले परिवर्तन रोजेको बताएका थिए।
'नेतन्याहू, यदि तपाईं सभ्य नेता हुनुहुन्थ्यो भने जनताले परिवर्तनका पक्षमा मतदान गरेपछि राजनीतिक मैदानबाट बाहिरिनुहुन्थ्यो,' आइसेनकोटले भने।
उनले नेतन्याहूले राजनीतिक स्वार्थका लागि इसराइलको सुरक्षालाई प्रयोग नगर्न पनि चेतावनी दिए।
नयाँ सरकार गठन नहुँदासम्म नेतन्याहू कामचलाउ प्रधानमन्त्री रहने भएकाले सेना, सुरक्षा निकाय र गुप्तचर संस्थाका प्रमुखहरूले आफ्नो जिम्मेवारी सम्झनुपर्ने उनको भनाइ थियो।
आइसेनकोटले आफूले गठन गर्न चाहेको सरकार तीन सिद्धान्तमा आधारित हुने बताएका छन्। तीमध्ये इसराइललाई यहुदी र लोकतान्त्रिक राज्यका रूपमा कायम राख्ने, सबैलाई सैन्य तथा राष्ट्रिय सेवामा सहभागी गराउने र हमासलाई विघटन गर्ने उनका प्रमुख प्रतिबद्धता छन्।
आइसेनकोटको समूहले बढी सिट पाए पनि सरकार गठन गर्न अरब दलहरूको समर्थन लिनुपर्ने सम्भावना छ। तर ती दलसँग सहकार्य गर्न विपक्षी गठबन्धनमा रहेका सबै दल सहमत हुन्छन् कि हुँदैनन् भन्ने स्पष्ट छैन।
त्यसैले एक्जिट पोलमा देखिएको अग्रता सरकार गठनका लागि पर्याप्त नहुन सक्छ।
अर्कोतर्फ, नेतन्याहूको लिकुड पार्टीले आइसेनकोटको याशार पार्टीभन्दा बढी सिट पाउने अनुमान छ।
तर इसराइलको संसदीय प्रणालीमा सबैभन्दा ठूलो दल बन्नुभन्दा गठबन्धनका दलहरूको संयुक्त सिट निर्णायक हुन्छ।
अन्तिम मतगणनाले पनि दुवै समूहलाई बहुमत नदिएमा सरकार गठनका लागि लामो राजनीतिक वार्ता गर्नुपर्ने हुन सक्छ।