इरानसँगको युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलरभन्दा बढी पुगेको छ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को पछिल्लो अनुमानअनुसार युद्धमा प्रयोग भएका हतियारको भण्डार पुनः भर्न र गुमाएका सैन्य उपकरण प्रतिस्थापन गर्न मात्रै ३५ अर्ब डलरभन्दा बढी लाग्ने देखिएको छ।
समाचार संस्था रोयटर्सले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार युद्धको खर्च गत जुलाईमा अनुमान गरिएको ३७ अर्ब ५० करोड डलरभन्दा २५ प्रतिशतभन्दा बढीले बढेको छ।
रोयटर्सले प्राप्त गरेको तथ्यांकमा युद्ध सञ्चालनको खर्चसँगै प्रयोग भएका हतियार र गुमाएका सैन्य उपकरण प्रतिस्थापन गर्न लाग्ने रकमको हिसाब पनि उल्लेख रहेको जनाएको छ।
पेन्टागनको अनुमानअनुसार युद्धमा प्रयोग भइसकेका क्षेप्यास्त्र र अन्य हतियार फेरि किन्न २९ अर्ब डलरभन्दा बढी लाग्नेछ।
त्यस्तै, युद्धमा गुमाएका विमान, ड्रोनलगायत सैन्य उपकरण प्रतिस्थापन गर्न थप ६ अर्ब डलरभन्दा बढी आवश्यक पर्नेछ।
यी रकम ४७ अर्ब डलरभन्दा बढीको समग्र युद्ध लागतभित्र समेटिएका खर्चका विवरण हुन्।
यद्यपि अमेरिकाको वास्तविक खर्च अझै बढ्न सक्ने देखिएको छ।
इरानी मिसाइल र ड्रोन आक्रमणबाट अमेरिकी सैन्य अखडामा पुगेको क्षति मर्मत गर्न लाग्ने ठूलो रकम पेन्टागनको पछिल्लो अनुमानमा स्पष्ट रूपमा समेटिएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत फेब्रुअरीमा इजरायलसँग मिलेर इरानविरुद्ध युद्ध सुरु गरेका थिए। सुरुमा युद्ध छोटो समयमै टुंगिने अपेक्षा गरिएको भए पनि यसको खर्च बढ्दै गएको छ।
युद्धको सुरुवाती चरणमा अमेरिकाले इरानको रक्षा प्रणाली कमजोर पार्न महँगा र सटिक क्षेप्यास्त्र प्रयोग गरेको थियो।
त्यसपछि तुलनात्मक रूपमा सस्ता हतियार प्रयोग गरेर आक्रमण जारी राख्ने रणनीति बनाएको थियो। तर अप्रिलमा भएको युद्धविरामपछि इरानले भूमिगत भण्डारणमा रहेका केही मिसाइल, ड्रोन र रक्षा प्रणाली पुनः सञ्चालनमा ल्याएको रोयटर्सले जनाएको छ।
युद्धविरामपछि ट्रम्पले इरानको तेल निर्यातबाट हुने आम्दानी रोक्न समुद्री नाकाबन्दी लगाएका छन्।
नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि फेरि ठूलो सैन्य कारबाही सुरु हुन सक्ने सम्भावना पनि उनले खुला राखेका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार आदेश आएमा युद्ध पुनः तीव्र बनाउन पेन्टागनले तयारी गरिरहेको छ।
युद्धको बढ्दो खर्चले अमेरिकी राजनीतिमा पनि दबाब सिर्जना गरेको छ।
नोभेम्बर ३ को मध्यावधि निर्वाचनबाट संसद्का दुवै सदनमा आगामी दुई वर्ष कसको नियन्त्रण रहने भन्ने तय हुनेछ। अहिले दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत झिनो छ।
युद्धका कारण विश्व बजारमा ऊर्जा मूल्य बढेको र त्यसले रिपब्लिकन उम्मेदवारहरूलाई असर पारेको रोयटर्सले जनाएको छ।
ऊर्जा मूल्यमा भएको वृद्धिसँगै ट्रम्पको लोकप्रियतामा पनि असर परेको छ।
यस्तो अवस्थामा युद्धको बढ्दो खर्च ट्रम्प प्रशासनका लागि आर्थिकसँगै राजनीतिक चुनौतीसमेत बनेको छ।