अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा कारबाही गर्न अमेरिकी गुप्तचर संस्था सिआइएलाई अधिकार दिएको खुलासा गरेका छन्।
अमेरिकी सेनाले पछिल्ला हप्तामा भेनेजुएलाबाट अमेरिकामा लागुऔषध ओसारपसार गरिरहेको भन्दै डुंगाहरूमा बम हानेर २७ जनाको हत्या गरिसकेको छ।
बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले लागुऔषध तस्करहरूलाई भेनेजुएलाभित्रै हमला गर्न सिआइएलाई अनुमति दिएको बताएका हुन्।
खासमा भेनेजुएलाका लागुऔषध तस्करहरूलाई कारबाही गर्न सेना परिचालन गरेको भने पनि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो सत्ताच्युत भएको हेर्न चाहेको बताउँदै आएको छ।
मादुरोको हत्या गर्न सिआइएलाई अनुमति दिएको छ कि छैन भनेर पत्रकारले प्रश्न गर्दा ट्रम्पले भने, 'यो एउटा हाँस्यास्पद प्रश्न हो। खासमा हाँस्यास्पद प्रश्न होइन, तर त्यो प्रश्नको मैले जबाफ दिनु हाँस्यास्पद हुनेछैन र?'
ट्रम्पले अगस्ट महिनाको अन्त्यतिर दक्षिणी क्यारेबियन क्षेत्रमा शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएपछि उनले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई सत्ताच्युत गर्न लागेको अड्कल काटिएको छ।
ट्रम्पले सो क्षेत्रमा सात वटा युद्धपोत र आणविक शक्तिबाट चल्ने एउटा पनडुब्बीमा चार हजार पाँच सयभन्दा बढी अमेरिकी सैनिक पठाएका थिए।
दक्षिणी क्यारेबियन क्षेत्रबाट भेनेजुएला एकदमै नजिक पर्छ। यति धेरै अमेरिकी–शक्ति यो क्षेत्रमा आएपछि राष्ट्रपति मादुरो आत्तिएका छन्। ट्रम्पले आफूलाई सत्ताबाट हटाउन शक्ति प्रयोग गर्न लागेको भन्ने डर मदुरोलाई परेको छ।
अमेरिकाले भेनेजुएलाका लागुऔषध तस्करमाथि प्रहार गर्न अहिले त्यति ठूलो संख्यामा सैनिक र युद्धपोतहरू पठाउनु नपर्ने भएकाले पनि मादुरो सशंकित छन्।
अमेरिकाले अगस्टमै मादुरोको लागुऔषध तस्करसँग सम्बन्ध रहेको भन्दै उनलाई पक्रिन सहयोग गर्नेलाई दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्याएको थियो।
दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पले फेब्रुअरीयता नौ वटा ल्याटिन अमेरिकी लागुऔषध तस्कर समूहलाई विदेशी आतंकवादी संगठन घोषणा गरेका छन्। त्यसमध्ये दुइटा भेनेजुएलाका हुन्। तीमध्ये एउटा मादुरोको प्रत्यक्ष निर्देशनमा चल्ने अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।
यस्तो परिस्थितिमा मादुरोको सत्ता पल्टाउन ट्रम्पले ठूलो संख्यामा सेना र युद्धपोत पठाएका हुन सक्ने विश्लेषण गरिएको छ। सेना र युद्धपोत देखेर मादुरो डरले देश छाडेर भागून् भन्ने मनसाय पनि उनको हुन सक्छ।
मादुरो देश छाडेर नभाग्ने देखेपछि अहिले उनलाई डर देखाउन भेनेजुएलाभित्रै हमला गर्न सिआइएलाई अनुमति दिएको ट्रम्पले खुलासा गरेका हुन सक्छन्।
अमेरिकाले विगतमा त्यस्तो कदम चालेकाले पनि मादुरोलाई सशंकित पार्नेछ।
सन् १९८९ मा, राष्ट्रपति जर्ज एच डब्लु बुसका पालामा पानामाका तत्कालीन सैनिक शासक जनरल मानुएल नोरिएगालाई सत्ताच्युत गर्न अमेरिकाले पानामामाथि आक्रमण गरेको थियो। अहिले मादुरोलाई जस्तै नोरिएगालाई पनि अमेरिकामा लागुपदार्थ पैठारी र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको थियो।
त्यस्तै, तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको पालामा क्युबाका फिडेल क्यास्ट्रोको सत्ता पल्टाउन सन् १९६१ मा सिआइएले क्यास्ट्रोलाई सत्ताच्युत गर्न बे अफ पिग्समा आक्रमण गरेको थियो।
केनेडीले अमेरिकाको संलग्नता नदेखियोस् भनेकाले त्यहाँ सिआइएले अमेरिकी सेना नपठाई प्रवासमा रहेका क्युबाका जनता परिचालन गरेको थियो। तर सो आक्रमण विफल भयो, क्यास्ट्रो झन् धेरै शक्तिशाली भए र त्यसपछि आधा शताब्दी क्युबामा शासन गरे।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)