अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडामाथि हाल कायम रहेको भन्सारमा थप १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन्।
क्यानडाको ओन्टारियो प्रान्तमा बेसबलको विश्वकप चलिरहँदा प्रसारित विज्ञापनप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले क्यानडामाथि भन्सार १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका हुन्।
विज्ञापनमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको भिडियो प्रयोग गरिएको थियो। भन्सारले व्यापार युद्ध र आर्थिक विनाश निम्त्याउँछ भन्ने रेगनको भनाइलाई विज्ञापनका रूपमा प्रसारण गरिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
उक्त विज्ञापन केही दिनदेखि चलिरहेको भए पनि ट्रम्पले बिहीबार पहिलोपटक त्यसप्रति प्रतिक्रिया जनाएका थिए।
ट्रम्पले बिहीबार सो विज्ञापनलाई ‘भ्रामक’ भन्दै क्यानडासँगको व्यापार वार्ता तोडेका थिए। शनिबार आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट गर्दै उनले उक्त विज्ञापनलाई पुनः ‘धोका’ को संज्ञा दिँदै क्यानडामाथि भन्सार वृद्धि गर्ने बताएका हुन्।
‘विज्ञापन तुरुन्तै हटाइनुपर्ने थियो, तर उनीहरूले जानाजानी विश्वकपको रातमा चलाए,’ ट्रम्पले लेखेका छन्, ‘त्यसैले उनीहरूको गलत प्रस्तुति र शत्रुतापूर्ण कदमका कारण क्यानडामाथि अहिले भुक्तान गरिरहेको भन्सारमा थप १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छु।’
ओन्टारियोका प्रिमियर डग फोर्डले शुक्रबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग छलफलपछि सोमबारदेखि उक्त अमेरिकी विज्ञापन अभियान रोकिने बताएका थिए। तर शुक्रबारको विश्वकप बेसबलको पहिलो खेल (टोरन्टो ब्लुजेज र लस एन्जलस डजर्सबीच) मा पुनः विज्ञापन प्रसारण भएपछि ट्रम्प आक्रोशित बनेको रोयटर्सले जनाएको छ।
ट्रम्पले उक्त सन्देश एयरफोर्स वनमा सवार रहँदा पोस्ट गरेका थिए। उनी अहिले पूर्वी एसियाली राष्ट्रहरूको संगठन (एसियन) को सम्मेलनमा सहभागी हुन मलेसिया जाँदैछन्।
अमेरिकी वाणिज्य मन्त्रालय, ह्वाइट हाउस र क्यानडाका प्रधानमन्त्रीको कार्यालयले यस विषयमा तत्काल प्रतिक्रिया जनाएका छैनन्।
ट्रम्पको नयाँ घोषणाले कुन वस्तुहरू प्रभावित हुने हुन् भन्ने स्पष्ट छैन। संयुक्त राज्य–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसिए) अन्तर्गत अधिकांश क्यानडेली वस्तुहरू भन्सारमुक्त छन्।
गत अगस्टमा ट्रम्प प्रशासनले युएसएमसिए अन्तर्गत नपर्ने क्यानडेली वस्तुमाथि ३५ प्रतिशत भन्सार लगाएको थियो। यद्यपि यसअघि पनि ट्रम्पले सबै देशका इस्पात र आल्मुनियममा ५० प्रतिशतसम्मको भन्सार लगाएका थिए, जसको असर क्यानडेली अर्थतन्त्रमा परेको छ।
प्रधानमन्त्री मार्क कार्नीले शुक्रबार अमेरिका–क्यानडा व्यापार वार्ता पुनः सुरु गर्न तयार रहेको बताएका थिए। ट्रम्प र कार्नी दुवै मलेसियामा हुने एसियन सम्मेलनमा सहभागी हुने भए पनि ट्रम्पले कार्नीलाई भेट्ने योजना नभएको बताएका छन्।
ह्वाइट हाउसका सल्लाहकार केभिन हासेटले ट्रम्प क्यानडासँग असन्तुष्ट रहेको र वार्ता खासै राम्रो नभएको बताएका छन्।
ओन्टारियो सरकारले प्रसारण गरेको विज्ञापनमा रेगनको आवाजमा भन्सार नीति र त्यसका नकारात्मक प्रभावबारे चेतावनी दिइएको छ।
तर भिडियोमा रेगनको सन्देशलाई सन्दर्भविहीन रूपमा सम्पादन गरी प्रयोग गरिएको बताइएको छ। वास्तवमा, रेगनले उक्त सम्बोधनमा जापानमाथि लगाइएका अस्थायी भन्सारलाई “स्वतन्त्र व्यापारका सिद्धान्तको अपवाद” का रूपमा व्याख्या गरेका थिए।