नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आसन्न ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले सबैलाई मिलाउने गरी प्रस्ताव लिएर आउने र त्यसै आधारमा सबै जना ओलीमै समाहित भएर जाने बताएका छन्।
'एउटा राष्ट्रिय शक्ति भएकाले, विकास र समृद्धिको सपना देखाएकाले, अन्तर्राष्ट्रिय जगतमा देशको नाम, पहिचान र गौरव बढाएकाले, अहिले हाम्रो अध्यक्षमाथि आक्रमण भइरहेको छ। त्यसैले यसपालि हामी अध्यक्ष ओलीमै समाहित हौं। अध्यक्षज्यूले सबैलाई व्यवस्थापन गर्ने एउटा प्रस्ताव ल्याउनुहुन्छ, त्यो प्रस्तावमा चित्त बुझेन भने यो कुरा भएन भनेर सुझाव दिन सकिन्छ,' सेतोपाटीसँगको भिडिओ अन्तर्वार्तामा बस्नेतले भने।
ईश्वर पोखरेल लगायत नेताले नेतृत्व दाबी गर्न खोजेकोबारे टिप्पणी गर्दै बस्नेतले भने, 'उहाँहरूलाई मेरो आग्रह छ, यसपटक हामी ओलीमै समाहित हौं।'
विगतमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई बीचमा जिम्मेवारी दिएजस्तै ओलीले पनि बीचमा अरूलाई जिम्मेवारी दिन सक्ने उनले उल्लेख गरे।
भिडिओ अन्तर्वार्तामा हामीले उनलाई सोध्यौं, 'के अध्यक्ष ओलीको अनुहार बोकेर चुनावमा जाने वा पार्टी आन्दोलन अगाडि बढाउने सम्भावना अझ पनि जीवितै छ?'
जबाफमा उनले भने, 'किन नहुने? हिजो बालेनजीहरूको पक्षमा रविजीहरूको पक्षमा जे माहोल थियो, त्यो माहोल फरक भएको छ। यिनीहरू लुसिफर हुन्, अमूर्त शक्तिबाट चलेका छन् भन्ने बुझाइ आमजनतामा परिरहेको छ। त्यसो भएपछि माहोल स्वःस्फुर्त हामीतिर आइरहेको छ।'
महेश बस्नेत २०६५ सालमा तत्कालीन नेकपा माओवादीको योङ कम्युनिस्ट लिग (वाइसिएल) सँग भिड्न गठन गरिएको युथ फोर्सको नेतृत्व गरेर चर्चामा आएका थिए। जेनजी आन्दोलनपछि सडकमा एमाले कार्यकर्ता उतारेर होस् या अध्यक्ष केपी शर्मा ओलीको रक्षा कवच बनेर, उनी अहिले पनि चर्चामै छन्। एमालेले नेसनल भोलेटिन्यर फोर्स गठन गरेपछि त उनी थप चर्चाको केन्द्रमा छन्।
चर्चा त कतिसम्म छ भने, पछिल्लो समय जहाँ महेश बस्नेत पुग्छन्; त्यहाँ प्रतिरोध र प्रतिवाद सुरू हुन थालेको छ। आइतबार विराटनगरमा उनीमाथि अबिर भरिएको बलुन प्रहार भयो। त्यसअघि गत साता बारामा महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालसहित बस्नेत जाने भएपछि विमानस्थल क्षेत्र तनावग्रस्त बन्यो, कर्फ्यू नै लगाउनुपर्यो।
हामीले बस्नेतसँग उनको गालीगलौजपूर्ण अभिव्यक्तिबारे पनि सोधेका छौं।
'मेरो अभिव्यक्ति अराजक होइन, जुझारू चाहिँ हो,' उनले भने, 'जुझारू किन हो भने मैले कानुन तोडेर, विधि तोडेर कहिल्यै बोलेको छैन। राष्ट्रियताविरूद्ध, धर्म–धार्मिक सद्भाव र सामाजिक सद्भाव भड्काउने ढंगले बोलेको छैन। समाजमा कहिले सरकारको आडमा त कहिले बाह्य शक्तिको आडमा, कहिले अमूर्त शक्तिको आडमा, जुन खालको आपराधिक गतिविधि, अराजक गतिविधि हाबी हुन खोज्दै छ, त्यसलाई कन्ट्रोल गर्न नसक्ने हो भने आज महेश बस्नेतमाथि आक्रमण भएजस्तै भोलि अरूमाथि पनि हुन सक्छ।'
उनले अगाडि भने, 'कांग्रेस त मैदानमा गएकै छैन। कांग्रेस मैदानमा जाने हो भने गगन थापाजी, विश्वप्रकाशजीलाई आक्रमण नहोला त? मलाई भन्दा बढी आक्रमण त उहाँहरूलाई हुन्छ। बालेनजी, रवीजी लगायत यो सामाजिक सञ्जाल परिचालन गर्ने साथीहरू मसँग भन्दा बढी त उहाँहरूसँग आतंकित छन्।'
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगले अध्यक्ष ओलीलाई बयानमा बोलायो भने एमालेका एक लाख कार्यकर्ता लिएर सिंहदरबार घेर्न जाने अभिव्यक्तिबारे पनि हामीले प्रश्न गर्यौं।
उनको जबाफ छ, 'गौरीबहादुर कार्की मेरा छिमेकी हुन्, नातेदार पनि हुन्। उहाँको फूपूको छोरी मैले बिहे गरेको छु। यद्यपि उहाँ कांग्रेस क्याडर (कार्यकर्ता) हो न्यायाधीश हुँदा। आन्दोलनका दौरान केही साथीहरूलाई के लाग्यो भने, अब उथलपुथल भयो, अब हामीले नै उचित भूमिका पाउँछौं। त्यसैले उहाँले केपी ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहालहरूविरूद्ध अभिव्यक्ति दिनुभयो। यिनीहरूलाई थुन्न पछि पर्नु हुँदैन भन्ने खालका अभिव्यक्ति दिनुभयो। त्यही आधारमा आयोगमा बस्नुभएको हो।'
'गृहमन्त्री वा प्रधानमन्त्रीले कहीँ पनि शक्ति प्रयोग गर्न आदेश दिने हाम्रो कानुनी प्रावधान छैन। हाम्रो अध्यक्षज्यूले मैले लिखित या मौखिक कुनै आदेश दिएको छ भने प्रमाण पेस गरेर भन्नुभएको छ,' बस्नेतले भने, 'कुनै पनि आन्दोलनमा यस्तो घटना हुन्छ। प्रचण्डले १७ हजार मान्छे मारिएकामध्ये पाँच हजारको जिम्मा लिन्छु भन्नुभयो, कारबाही त भएन नि!'
'त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह लगायत शाही सरकारका मन्त्रीहरूले २०६२–६३ को आन्दोलनमा पनि नागरिक हत्या गरे, सहिद बनाए। त्यसमा कसैलाई कारबाही भएको छैन। पञ्चायत कालमा कमल थापा लगायतहरूमाथि गम्भीर प्रश्न उठेका थिए, त्यतिखेर पनि कारबाही भएन,' उनले भने।
हेर्नुहोस् एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतसँग गरिएको भिडिओ कुराकानी –