राष्ट्रिय मानवअधिकार आयोगले जेनजी प्रतिनिधि पुरूषोत्तम यादवसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको सम्बन्ध लगायत २० वटाभन्दा बढी प्रश्न सोधेको छ।
भदौ २३ र २४ का घटना छानबिन गरिरहेको आयोगले जेनजी प्रतिनिधि यादवसँग बुधबार बयान लिँदै लिखित रूपमा ती प्रश्न सोधेको हो।
यादव अहिले रास्वपा प्रवेश गरिसकेका छन्। उनलाई रास्वपाले प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूचीमा समावेश गरेको छ।
आयोगको कार्यालयमै गएर तीन घन्टा लिखित र मौखिक बयान दिएका यादवसँग हामीले के-कस्ता प्रश्न गरियो भनेर सोधेका थियौं।
उनले जेनजी आन्दोलनमा स्कुल ड्रेस लगाएका विद्यार्थीको प्रयोगदेखि मेयर बालेन र रास्वपा सभापति लामिछानेसँगको सम्बन्धबारे सोधपुछ गरिएको जानकारी दिए।
खासगरी आयोगले आन्दोलनमा भूमिका खेलेको भनी नाम जोडिएका र त्यसमा विभिन्न तरिकाले सहयोग पुर्याएको भनिएका व्यक्तिसँगको सम्बन्धबारे चासो राखेको यादवले बताए।
'काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेसँग तपाईंको के सम्बन्ध छ भनेर उहाँहरूले सोध्नुभयो,' उनले भने।
त्यस्तै, भदौ २३ गते स्कुल ड्रेस लगाएका विद्यार्थीलाई आन्दोलनमा आउन कसले उक्सायो भनेर पनि प्रश्न सोधिएको यादवले जानकारी दिए।
'१८ वर्ष मुनिका बालबालिकालाई विद्यालय पोसाकमा आन्दोलनमा आउन कसले उक्सायो? विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्दा बालअधिकार प्रतिकूल कार्य हुने/नहुनेबारे जानकारी थियो कि थिएन भनेर सोध्नुभयो,' उनले भने।
उनका अनुसार विद्यार्थीहरूलाई प्रदर्शनीमा ल्याउने योजना कसको थियो खुलाइदिनू भन्ने आग्रहसमेत आयोगले गरेको थियो।
सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत कसले जलायो? प्रदर्शनीका लागि सिडिओ कार्यालयबाट अनुमति लिन कसले सिकायो? रक्षा बम र सुदन गुरूङलाई कसरी चिन्छौ? यस्ता प्रश्न पनि आयोगले यादवसँग सोधेको थियो।
'जेनजी प्रतिनिधिहरूलाई सडकमा ल्याउन कसैले सहयोग गरेका छन् कि छैनन भनेर पनि प्रश्न गरियो,' यादवले भने, 'धेरै प्रश्न प्रदर्शनीमा भएका घटनासँग जोडिएका थिए। त्यस दिन पानी बाँडिएको विषयमा पनि उहाँहरूले सोधपुछ गर्नुभयो।'
'भदौ २३ गतेको जुलुसमा पानी वितरण कसले, कुन प्रयोजनका लागि गरेको भनेर सोधियो,' यादवले भने, 'सानाभन्दा साना कुरा पनि सोध्नुभयो।'
यति मात्र होइन, भदौ २३ र २४ को घटनाको जबाफदेहिता र जिम्मेवारीको कसको हो? सार्वजनिक र निजी सम्पत्ति तोडफोडमा जेनजी समूहको भूमिका थियो कि थिएन? जेनजी उमेर समूहलाई विरोध प्रदर्शनका लागि आह्वान गर्न डिस्कर्ड लगायत समाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्ममा कहिलेदेखि प्रयोग गर्नुभयो? आयोगले यस्ता प्रश्न पनि सोधेको यादवले जानकारी दिए।
'घाइतेहरूको उचित व्यवस्थापनका लागि तपाईंबाट के-कस्ता प्रयास भए भनेर पनि सोधपुछ गरिएको थियो,' उनले भने, 'बालबालिकालाई प्रदर्शनीमा सहभागी गराउँदा त्यसबाट पर्न सक्ने असरबारे जानकारी थियो कि थिएन र घटनापछि घाइतेहरूलाई भेटेर सान्त्वना दिने प्रयास भयो कि भएन भनेर पनि सोधियो।'
उनले आफूलाई लिखितमा मात्र २० वटाभन्दा बढी प्रश्न सोधिएको जानकारी दिए।
आयोगले भदौ २३ र २४ को जेनजी आन्दोलनबारे छानबिन गर्ने क्रममा विभिन्न व्यक्तिसँग सोधपुछ गरिरहेको छ। त्यसै क्रममा सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि बोलाएर बयान लिएको थियो।