नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरू हुँदै गर्दा त्यसको पक्षमा उभिने नेताहरूको संख्या पनि थपिँदै गएको छ।
यसै क्रममा डा. शेखर कोइरालाका विश्वासपात्र मानिने कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। उनी अहिले काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशन स्थल पुगिसकेका छन्।
उनले देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य रहेको बताएका छन्।
केहीबेर अघि सामाजिक सन्जालमा यस्तो लेखेर आफू विशेष महाधिवेशनको पक्षमा रहेको सन्देश दिएका हुन्।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ३० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो।
देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। अहिले पनि यहाँ नाम दर्ता गराउनेहरूको लामो लाइन देखिन्छ।
भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ।
नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ साथमा लिएर आउन अनुरोध गरिएको छ।