नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने अभियानका नेतृत्वकर्तामध्ये एक गुरूराज घिमिरेले पार्टी सभापति र कार्यवाहक सभापतिलाई महाधिवेशनमा सामेल भएर एकताको सन्देश दिन आह्वान गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको उद्घाटनमा उनले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन्।
'सभापति र कार्यवाहक सभापतिज्यूलाई आजको ऐतिहासिक क्षणमा उभिएर म आग्रह गर्न चाहन्छु, मसँग अहिले तिक्ताको भण्डार रित्तिएको छ। नराम्रो बोल्ने शब्दहरू रित्तिएको छ। तपाईंहरू पनि आउनुस्, यो विशेष महाधिवेनलाई सयप्रतिशतको महाधिवेशन बनाऊँ,' उनले भने, 'आगामी संसदीय निर्वाचनलाई दिग्विजयमा परिणत गर्ने यो अवसरलाई नजरअन्दाज नगर्नूस्।'
बिपी कोइराला र सुवर्णशमशेरले एकताबद्ध रूपमा पार्टी चलाएजस्तै अहिले पनि सबै मिलेर पार्टी अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।
'नेपाली कांग्रेसको साधारण सदस्यले पनि पार्टीको दीर्घ जीवन र लोकतन्त्र सुनिश्चित भविष्यका लागि धेरै अर्थ राख्छ। आज यी सदस्यहरूले यो विशेष महाधिवेशन आह्वान गरेका छन्। यसमा सबैले भाग लिएर एकताको सन्देश दिनुपर्ने खाँचो छ,' उनले भने।
देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। अहिले पनि यहाँ नाम दर्ता गराउने क्रम जारी छ।
भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ।
नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ साथमा लिएर आउन अनुरोध गरिएको छ।