नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि बेल्जियमबाट आएकी हुन्, सीता सापकोटा।
कांग्रेस जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति सापकोटाले जेनजी आन्दोलनपछि देशको बेथितिमा मात्र होइन, प्रमुख राजनीतिक दलको नेतृत्वमा पनि प्रश्न उठेको उल्लेख गरिन्।
भृकुटीमण्डपमा जारी उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै सापकोटाले विशेष महाधिवेशनमा सरिक नभएका शीर्ष नेताहरूले पार्टी र देश रूपान्तरणको ऐतिहासिक अवसर गुमाएको बताइन्।
'इतिहासमा तपाईंहरू चुक्नुभयो, विगतमा धेरै राम्रो काम गर्नुभएको थियो तर तपाईंहरूको गुटबन्दी, घेराबन्दी र तपाईंहरूले चलाएको किचेन क्याबिनेटले पार्टी प्रभावित भयो,' उनले भनिन्, 'यो विशेष महाधिवेशनले पार्टीलाई गुटबन्दी र घेराबन्दीबाट मुक्ति दिनेछ।'
पार्टी नेतृत्वले कहिले सूर्य र कहिले हँसिया हथौडा चिह्नमा भोट हाल्नुस् भनेर घाँटी जोड्ने काम गरेकोमा उनले आलोचना गरिन्।
कांग्रेसले पार्टी रूपान्तरणसँगै नेतृत्व हस्तान्तरणको मुद्दा कार्यान्वयन गरेर विदेशमा पलायन भएकाहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने उनले बताइन्।
देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। अहिले पनि यहाँ नाम दर्ता गराउने क्रम जारी छ।
भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ।
नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ साथमा लिएर आउन अनुरोध गरिएको छ।