नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेनस्थलमा आएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्।
विशेष महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै भण्डारीले भने – ‘किसूनजीका अनुयायी आदरणीय शेरबहादुर देउवा दाइ, त्यो घेरा छाडेर कांग्रेस हस्तान्तरण गर्न आएको छु भन्नुहोस।’
उनले नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीच विवाद भएका बेला किसुनजीले सभामा आएर कांग्रेसमा कुनै बिमती नभएको धारणा राखेको घटना स्मरण गरे।
भण्डारीले कांग्रेसको विशेष महाधिवेशनमा नआएका नेताहरुलाई एउटा लोक कथा समेत सुनाए।
‘साथीहरु, बिरालाले भन्छ अरे – यो घरको मालिक मर्यो भने अगेनामा गएर आगो ताप्ने थिएँ। जबकी अगेना सँधै तातो रहँदैन। दाउरा जोड्ने मान्छे भएन भने अगेना तातो रहँदैन।’
उनले पार्टीमा सही विचारको इन्जेक्सन दिन नसके अगेना चिसो भए जस्तो कांग्रेस चिसो हुने बताए।
उनले कांग्रेस र एमाले दुई ठूला दलले सरकार बनाउँदा राजाले गद्दी छाडेको भन्दा बेहाल अवस्था बनेको बताए।
‘बिडम्बना ६२ /६३ मा जुन राजालाई हामीले तानाशाह भन्यौं। श्रीपेच हस्तान्तरण गरेर आफैँ गाडी चलाएर हाँसेर गए’, भण्डारीले भने, ‘हाम्रो नेतालाई जोगाउन हेलकप्टर चढाएर लैजानुपर्यो। त्यो पनि प्रजातन्त्र हो।’
उनले गाउँगाउँबाट आएर महाधिवेशन प्रतिनिधिले सचेनता दिएको भन्दै देश जोगाउँ र पार्टी जोगाउँ भन्नेलाई स्यालुट गर्ने बताए।