नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाइसकेको खुलेको छ।
पुस १६ गते विशेष महाधिवेशन पक्षधरहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार सभापति, कार्यवाहक सभापति र केन्द्रीय कार्य समितिलाई निर्देशन दिन माग गर्दै आयोगलाई पत्र लेखेका थिए।
आयोगले भने त्यसमा कुनै जबाफ दिएको थिएन।
त्यसको केही दिनपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पनि बुझाइएको आयोगका एक अधिकारीले जानकारी दिए।
'उहाँहरूको विवाद बढेर विशेष महाधिवेशन हुने निश्चितजस्तो भएपछि हस्ताक्षरको फाइल डोरीले बाँधेर बुझाउनुभएको छ,' निर्वाचन आयोगका ती अधिकारीले सेतोपाटीसँग भने।
जारी विशेष महाधिवेशनबाट पुरानो कार्य समिति भंग गरेर नयाँ चयन गर्ने तयारी भइरहेको छ। यस्तोमा निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिन्छ कि दिँदैन भन्ने धेरैको चासो छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनी पक्षधर नेताहरूले जारी विशेष महाधिवेशनलाई 'अवैधानिक' भन्दै आएका छन्।
विशेष महाधिवेशन पक्षधहरूले भने एक कदम अघि बढेर निर्वाचन आयोगमा भविष्यमा हुन सक्ने विवाद आफ्नो पक्षमा पार्न हस्ताक्षर बुझाएका हुन्।
कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ। निर्वाचन आयोगमा हस्ताक्षरहरू पहिले नै बुझाइसकेकाले पछि विवाद भयो भने आयोगले मान्यता दिनेमा विशेष महाधिवेशन पक्षधरहरू ढुक्क देखिन्छन्।
कांग्रेस महामन्त्री गगन थापाले पनि विशेष महाधिवेशनको हलमै 'विशेष महाधिवेशनले वैधानिकता पाउने' भन्दै आश्वस्त तुल्याएका थिए।