नेपाली कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश कार्यसमितिका अधिवेशन गर्न बाँकी छ।
असोज १८ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ।
महाधिवेशनबाट १३१ जना निर्वाचित भएका थिए, सभापतिले ६६ जना मनोनीत गर्नै बाँकी छ। केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ।
सभापति गगन थापाले शपथ लिइसकेका छन्। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ कात्तिक १२ गते केन्द्रीय कार्यालय सानेपामा हुनेछ।
शपथग्रहणपछि एक/दुई दिनमै केन्द्रीय कार्यसमितिको पहिलो बैठक राख्ने तयारीमा सभापति थापा छन्। उनले मंसिर महिनाभर अभियान सञ्चालन प्रस्ताव गरेका छन्। केन्द्रीय समितिमा छलफलपछि 'घर फर्क' अभियान सञ्चालन तयारीमा कांग्रेस छ।
विगतमा कांग्रेस रहेका तर पछिल्लो निर्वाचनमा अरू पार्टीलाई मत दिएकाहरूसँग संवाद गरी घर फर्काउने तयारीमा कांग्रेसले अभियान सञ्चालनको तयारी गरेको हो।
स्थानीय तह निर्वाचनअघि कांग्रेसले 'रिसाएका मानिसहरू' लाई संवाद गरी पुन: पार्टीमा जोड्न खोजेको देखिन्छ।
स्थानीय तह निर्वाचन मिति तय भइसकेको छैन। तर २०८४ वैशाखमा हुन सक्ने आकलनबीच कांग्रेसले त्यसका लागि आन्तरिक तयारी पनि गर्दैछ।
स्थानीय तह निर्वाचनको मितिले जिल्ला र प्रदेश अधिवेशन प्रभावित हुन सक्छ।
कांग्रेसले वडा, पालिका, प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरी केन्द्रीय महाधिवेशन गरेको थियो। अब जिल्ला र प्रदेश अधिवेशन हुन बाँकी छ।
सभापति गगन थापाले पार्टीका नेताहरूबीच छलफल गरेर केन्द्रीय निर्वाचन समितिमार्फत् जिल्ला र प्रदेश कार्यसमिति अधिवेशन कार्यतालिका प्रकाशित गरिने बताएका छन्।
‘तिहार र छठलगत्तै पार्टीले अभियान सुरू गर्छ, उपयुक्त समयमा जिल्ला र प्रदेश अधिवेशन हुन्छ,’ सभापति थापाले भने, ‘अहिले सबै कुरा छाडेर सबै जना जिल्ला अधिवेशनको मात्र कुरा गरिराख्नुभएको छ, आफ्नो अधिवेशन र चुनावबाट बाहिर निस्कनुपर्छ। यसलाई सामान्य कुरा मानौं। म जित्ने र हार्ने तथा महाधिवेशनबाट बाहिर रहेका सबै साथीलाई समेटेर लैजान्छु।’
उनले केही समयपछि जिल्ला र प्रदेश अधिवेशन हुने बताए।
‘हामीले केही समयपछि प्रदेश अधिवेशन गर्नुपर्नेछ, जिल्लाको अधिवेशन गर्नुपर्नेछ, केन्द्रीय समिति बैठक राखेर साथीहरूसँग सल्लाह गर्छु, तपाईंहरूसँग पनि सल्लाह गर्छु, कुन मिति उपयुक्त हुन्छ भनेर, किनभने स्थानीय चुनाव पनि आउँदैछ,’ उनले भने, ‘यी कुराहरूलाई ख्याल गर्दै अधिवेशन तिथिमिति तय गर्छौं।’
कांग्रेसले विगतमा पनि केन्द्रीय महाधिवेशनपछि केही प्रदेश र जिल्ला अधिवेशन गरेको थियो। २०७८ मा १४ औं केन्द्रीय महाधिवेशन सकेपछि १६ जिल्ला अधिवेशन भएका थिए।