अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट सम्बन्ध राख्ने नेताहरूलाई एकपछि अर्को चुनावी धक्का लागिरहेको छ।
ब्राजिलमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियोको सत्तामा फर्किने प्रयास असफल भएको छ। युरोपको सर्बियामा लामो समयदेखि प्रभाव जमाएको अलेक्जान्दर भुचिचको पार्टी पराजित भएको छ।
यसअघि हंगेरीमा पनि ट्रम्पका निकट सहयोगी भिक्टर ओर्बानले १६ वर्ष लामो सत्ता गुमाएका थिए।
अब सबैको ध्यान इसराइलतर्फ छ।
आज हुने चुनावमा ट्रम्पका मित्र बेन्जामिन नेतन्याहू आफ्नो राजनीतिक भविष्य जोगाउने प्रतिस्पर्धामा छन्।
करिब १९ वर्ष विभिन्न कार्यकालमा प्रधानमन्त्री बनेका नेतन्याहूलाई पूर्वसैनिक प्रमुख गादी आइसेनकोटले चुनौती दिइरहेका छन्।
ट्रम्पले चुनावको मुखमा नेतन्याहूलाई खुलेर समर्थन गरेका छन्। तर इसराइली मतदाताको मनमा नेतन्याहूप्रति कस्तो धारणा छ भन्ने प्रश्नले चुनावलाई झन् महत्त्वपूर्ण बनाएको छ।
ल्याटिन अमेरिकामा दक्षिणपन्थी उम्मेदवारहरूको लगातार जितपछि ब्राजिलको नतिजाले त्यो क्रम तोडेको छ। युरोपमा ट्रम्पसँग निकट सम्बन्ध भएका केही नेताले सत्ता गुमाएका छन्। तर फ्रान्स र जर्मनीमा दक्षिणपन्थी शक्तिहरूको प्रभाव बढिरहेकाले विश्वभर एउटै राजनीतिक लहर चलिरहेको निष्कर्ष निकाल्न नमिल्ने भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
इसराइलमा भने नेतन्याहूको चुनौती ट्रम्पको समर्थनभन्दा ठूलो छ।
उनको नेतृत्वमाथि सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न नसकेको, त्यसको जिम्मेवारी नलिएको र देशलाई लामो युद्धमा धकेलेको आरोप लाग्दै आएको छ।
यही कारण चुनावलाई उनको नेतृत्वमाथिको जनमतसंग्रहका रूपमा पनि हेरिएको छ।
अक्टोबरको पहिलो साता हिब्रु विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको सर्वेक्षणमा करिब एकतिहाइ इसराइलीले मात्रै नेतन्याहूलाई प्रधानमन्त्रीमा निरन्तरता दिन चाहेको बताएका थिए।
करिब दुईतिहाइले अर्को नेता चाहेका थिए।
अर्को सर्वेक्षणमा ४५ प्रतिशतले आइसेनकोटलाई प्रधानमन्त्रीका लागि बढी उपयुक्त मानेका थिए भने नेतन्याहूलाई ३३ प्रतिशतले रोजेका थिए।
यद्यपि, अन्य सर्वेक्षणमा नेतन्याहू नै सबैभन्दा धेरैले रोजेका उम्मेदवार थिए। यसले उनको समर्थन पूर्ण रूपमा समाप्त नभए पनि मतदाता विभाजित रहेको देखाउँछ।
नेतन्याहूको समर्थन कमजोर हुनुको एउटा प्रमुख कारण अक्टोबर ७ को सुरक्षा असफलता हो।
त्यस दिन हमासको आक्रमणमा करिब १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।
इसराइलको सुरक्षा संयन्त्रले यति ठूलो आक्रमण कसरी रोक्न सकेन भन्ने प्रश्नले देशलाई लामो समयदेखि विभाजित बनाएको छ।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार, नेतन्याहूका विरोधीहरूले आक्रमण रोक्न नसकेको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यसबारे स्वतन्त्र छानबिन हुनुपर्ने माग गर्दै आएका छन्।
नेतन्याहूले भने सुरक्षा संयन्त्रका अधिकारीहरूमाथि जिम्मेवारी सार्दै आफ्नो नेतृत्वले देशलाई थप ठूलो संकटबाट जोगाएको दाबी गरेका छन्।
अक्टोबर ७ को घटनाले आफ्नो मतदान निर्णयमा कति प्रभाव पार्छ भन्ने सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढी इसराइलीले त्यसको असर पर्ने बताएको भनेर जेरूसेलम पोस्टले लेखेको छ।
तर नेतन्याहूको आधार पूरै भत्किएको छैन।
दक्षिणपन्थी मतदातामाझ उनको पकड बलियो छ। इसराइलको सुरक्षा, इरानविरुद्धको सैन्य नीति र हमाससँगको युद्धमा उनको कडा अडानलाई समर्थन गर्नेहरू छन्। उनका समर्थकले लामो राजनीतिक अनुभव र अमेरिकासँगको निकट सम्बन्धलाई देशको सुरक्षाका लागि महत्त्वपूर्ण मान्छन्।
उनका विरोधी भने यही लामो शासनलाई समस्याको कारण मान्छन्।
भ्रष्टाचारसम्बन्धी मुद्दा, अक्टोबर ७ को घटनाप्रति जवाफदेहिताको अभाव र सरकारको विवादास्पद न्यायिक सुधारले उनको छविमा असर पारेका छन्।
सन् २०२३ मा न्यायपालिकाको अधिकार सीमित गर्ने सरकारी योजनाविरुद्ध इसराइलमा विशाल प्रदर्शन भएका थिए। अहिले त्यो विषय युद्ध र सुरक्षाको बहसको छायामा परेको छ।
यसपटक उनको प्रमुख प्रतिस्पर्धी गादी आइसेनकोट हुन्।
नेतन्याहूजस्तो भाषण र राजनीतिक रणनीतिमा माहिर नेता नभए पनि उनी इसराइली सेनाको पूर्वप्रमुख हुन्। सार्वजनिक मञ्चमा कम सहज देखिने र अमेरिकी राजनीतिमा नेतन्याहूजस्तो बलियो सञ्जाल नभएका आइसेनकोटले आफूलाई सुरक्षा अनुभव र जवाफदेहिताको आधारमा प्रस्तुत गरेका छन्।

मोरक्कोबाट आएका यहुदी आप्रवासीका छोरा आइसेनकोट दक्षिणी इसराइलको इलातमा हुर्किएका हुन्। उनले सेनाको गोलानी इन्फन्ट्री ब्रिगेडबाट सैनिक जीवन सुरु गरे र क्रमशः माथि उठ्दै इसराइली सेनाको प्रमुख बने।
सन् २०१९ मा अवकाश लिएपछि राजनीतिमा प्रवेश गरेका उनले नेतन्याहूको नेतृत्वमाथि प्रश्न उठाउँदै आएका छन्।
अक्टोबर ७ को आक्रमणपछि आइसेनकोट नेतन्याहूको आपत्कालीन युद्धकालीन मन्त्रिपरिषद्मा सहभागी भएका थिए।
तर युद्धका क्रममा उनले आफ्नो छोरा र दुई भतिजा गुमाए।
त्यसपछि सुरक्षा असफलताको जिम्मेवारी र सरकारको युद्धनीतिबारे उनको आलोचना अझ अर्थपूर्ण बनेको छ।
उनले आफूलाई केवल नेतन्याहूको विरोधीका रूपमा होइन, देशको सुरक्षा र शासन प्रणालीमा सुधार ल्याउन सक्ने विकल्पका रूपमा प्रस्तुत गरिरहेको भनेर एक्सियसले लेखेको छ।
नीतिगत रूपमा आइसेनकोट मध्य-दक्षिणपन्थी धारमा पर्छन्। अहिलेको अवस्थामा प्यालेस्टिनी राज्य स्थापनाको समर्थन नगरेका उनले पश्चिम किनारमा प्यालेस्टिनीमाथि हुने यहुदी अतिवादी हिंसा रोक्न कडा कदम चाल्ने बताएका छन्। गाजामा हमासको नियन्त्रण १८ महिनाभित्र अन्त्य गर्ने उनको प्रतिबद्धता छ।
इरानको विषयमा पनि आइसेनकोट नेतन्याहूभन्दा पूर्णतः विपरीत छैनन्।
उनले इरानको आणविक संरचनामाथि आक्रमण गर्ने नीतिलाई समर्थन गरेका छन्। तर सैन्य बल प्रयोग गरेर इरानको शासन नै परिवर्तन गर्ने योजनाको भने विपक्षमा छन्।
उनले इरानमाथि आर्थिक दबाब कायम राख्ने र अरब देशहरूसँग क्षेत्रीय गठबन्धन बनाएर इरानी प्रभाव सीमित गर्ने नीति अघि सारेका छन्।
नेतन्याहूले ट्रम्पको समर्थनलाई चुनावी शक्ति बनाउन खोजेका छन्।
ट्रम्पसँग उनको लामो सम्बन्ध छ र वासिङ्टनमा राजनीतिक नेता, दाता तथा समर्थकहरूको बलियो सञ्जाल पनि छ।
आइसेनकोट भने अमेरिकी राजनीतिमा तुलनात्मक रूपमा अपरिचित छन्।
तैपनि उनले ट्रम्पसँग सार्वजनिक टकराव खोजेका छैनन्।
नेतन्याहूलाई समर्थन गरेपछि पनि आइसेनकोटले अमेरिकी राष्ट्रपतिले इसराइली जनताले चुनेका जुनसुकै नेतासँग सहकार्य गर्ने विश्वास व्यक्त गरेका थिए।
इसराइलको चुनावमा अर्को महत्त्वपूर्ण विषय धार्मिक अतिवादी यहुदी पुरुषलाई अनिवार्य सैनिक सेवाबाट छुट दिने व्यवस्था पनि हो।
लामो युद्धका कारण सैनिक र रिजर्भ फौजमाथि परेको दबाब बढिरहेका बेला यो विषयले मतदातामाझ असन्तुष्टि थपेको छ। बढ्दो जीवनयापन खर्च र युद्धको आर्थिक भार पनि नागरिकको चिन्तामा छन्। तर चुनावी अभियानमा यी विषयभन्दा नेतन्याहूको नेतृत्व र राष्ट्रिय सुरक्षाको बहस बढी हावी भएको छ।
ब्राजिलमा लुला दा सिल्भाले फ्लाभियो बोल्सोनारोलाई हराएपछि ट्रम्पले कुनै प्रमाण नदिई चुनावमा धाँधली भएको हुन सक्ने दाबी गरेका थिए।
फ्लाभियोले सुरुमा नतिजा अस्वीकार गरे पनि उनको दलले पछि परिणाम स्वीकार गरेको थियो। सर्बियामा भने भुचिचले हार माने।
दुवै घटनाले ट्रम्पसँगको निकटता चुनाव जित्ने प्रत्याभूति होइन भन्ने देखाएका छन्।
तर इसराइलको परिणामले ट्रम्पको प्रभावबारे अझ संवेदनशील प्रश्न उठाउनेछ। नेतन्याहू सत्तामा टिके उनले आफ्नो नेतृत्व र अमेरिकी मित्रताको राजनीतिक उपयोग गर्न सफल भएको दाबी गर्न सक्नेछन्।
पराजित भए भने लामो समयको शासन, सुरक्षा असफलता र जनविश्वासको संकटले उनलाई सत्ताबाट बाहिर पुर्याएको अर्थ लाग्नेछ।
त्यसैले यो चुनाव नेतन्याहूको कुर्सीको मात्र परीक्षा होइन।
इसराइली जनताले युद्धकालीन नेतृत्वलाई निरन्तरता दिन चाहेका छन् कि त्यसको जिम्मेवारी खोज्दै नयाँ विकल्प रोज्न चाहेका छन् भन्ने पनि यसको केन्द्रमा छ।
परिणामले इसराइलको आगामी सरकार मात्र निर्धारण गर्ने छैन। इरानसँगको युद्ध, गाजाको भविष्य र मध्यपूर्वमा अमेरिकाको आगामी भूमिकामा समेत असर पार्न सक्छ।