सहरमा मीनपचासको जाडो उत्रिइसकेको छैन। माघ लम्कँदै जाँदा साँझपखदेखि बिहानसम्म सडक शीतले छपक्कै भिज्छ।
रातिपख त कहिलेकाहीँ चिसो सिरेटो चल्छ, मुटु नै कठ्यांग्रिने गरी।
शिशिर यामको यही चिसो ठन्डीमा माइतीघरमा भने सदाबहार आन्दोलन चलिरहेको छ। कहिले मिटरब्याजीको चंगुलमा परेर सर्वश्व गुमाएकाहरू तपतपी आँसु तुहाउँदै माइतीघर आइपुग्छन् र सिंहदरबारतिर फर्किएर गुहार माग्छन्। कहिले वर्षौंदेखि उखुको बक्यौता नपाएका अकिञ्चन अनुहारहरू माइतीघरलाई व्यथा सुनाउन आइपुग्छन्। खुट्टा टट्याउने गरी महिनौंसम्म आन्दोलित हुन्छ।
शीत उभाएर घैला भरेको पैसा सहकारीले खाइदिएकाहरूको रूने थलो पनि त्यही माइतीघर बनेको छ।
भदौ २३ र २४ गतेको आन्दोलन हाँकेका जेनजी अगुवाहरूले माइतीघरमै पुगेर आफैले खडा गरेको सत्तालाई नित्य प्रश्न र खबरदारी गरिरहेका छन्।
सत्ताबाट ठगिएको महसुस गरिरहेका सीमान्त अनुहारहरूदेखि सत्तालाई खबरदारी गरिरहेका नवयुवासम्मको नियमित आन्दोलनले माइतीघर सदा गुलजार देखिन्छ।
लहरै टाँगिएका त्रिपाल, व्यवस्थित पालले अहिले माइतीघरको रंगीचंगी देखिएको छ। र, चिसो ठिहीमा माइतीघरले नै त्रिपाल ओतिरहेको आभाससमेत हुन्छ।
माइतीघरलाई पहरा दिइरहेका सुरक्षाकर्मी र आन्दोलनको थलोलाई साँघुर्याउने गरी लगाइएको छेकबारले माइतीघर आन्दोलनकारीको किल्लाजस्तो पनि प्रतीत हुन्छ।
तस्बिरहरूः
-1768537690.jpg)
-1768537690.jpg)
-1768537689.jpg)
-1768537689.jpg)
-1768537689.jpg)
-1768537689.jpg)