२०७९ को स्थानीय निर्वाचन जितेर धरान उपमहानगरको मेयर पद सम्हालेयता हर्क साम्पाङ र अरू जनप्रतिनिधिबीच सधैंजसो खटपट भइरह्यो।
स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका साम्पाङ र दलहरूबाट जितेर आएका अरू जनप्रतिनिधिबीचको बेमेलले न धरानमा समयमा बजेट आयो, न कुनै बैठक सौहार्द रूपमै सम्पन्न भयो। यही बेमेलबीच उपमहानगरमा ४६ महिना बिताएका मेयर साम्पाङको बिदाइ भने आइतबार हार्दिक रूपमा भयो।
उनले उपमेयर अइन्द्रविक्रम वेघालाई राजीनामा बुझाए र बिदाइ कार्यक्रममा मायाको चिनो पनि लिए। अनि, सबैलाई आभार प्रकट गरेर बिदा भए।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-१ बाट चुनाव लड्न मेयर साम्पाङले राजीनामा दिएका हुन्। उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरेर 'हर्कवाद' को सिद्धान्त नै अघि सारेका छन्।
आइतबार धरान उपमहानगर परिसरमा अर्को रोचक दृश्य पनि देखियो।
हर्कविरूद्ध चुनाव लड्न लागेका धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि सँगसँगै बिदा लिए। उनी नेकपाबाट सुनसरी-१ मै उम्मेदवार बन्दैछन्। उनीहरूले एकअर्कालाई शुभकामना पनि दिएका छन्।
माओवादीबाट वडाध्यक्ष बनेका भट्टराई र साम्पाङबीच सधैं बेमेलको स्थिति रहे पनि बिदाइ हुँदै गर्दा दुवैले एकअर्काप्रति हार्दिकता प्रकट गरे।
उनीहरूले धरानकै राम्रोका लागि काम गरिरहेको भन्दै हाँसेर एकअर्कालाई शुभकामना दिए।
'हाम्रो कार्यकाल रमाइलै थियो, काम गर्ने क्रममा अलि कडाकडै भइयो होला। कहिलेकाहीँ छुचो पनि भएँ होला,' अन्य जनप्रतिनिधि र कर्मचारीमाझ हर्कले भने, 'मैले धरानकै राम्रोका लागि गरेको ठानेर चित्त नदुखाइदिनुहोला।'
'धरानका जनताको सेवा गर्न अझै पुगेको छैन,' साम्पाङले भने, 'अब अर्को भूमिकाबाट तपाईंहरूको सेवा गर्न आउनेछु।'
धरानमा दशकभन्दा बढी समय अभियनीका रूपमा काम गरेका हर्क २०७९ को स्थानीय चुनावमा तत्कालीन सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै धरानको मेयर चुनिएका थिए।
उपमहानगरको राजनीतिक जिम्मेवारी सम्हालेयता मेयर साम्पाङ निरन्तर विवाद र चर्चामा छाइरहे। चर्चा उनको श्रम अभियानले दिलाएको थियो भने विवाद चाहिँ उनको कार्यशैली र अभिव्यक्तिका कारण।
खासगरी धरानको खानेपानी आपूर्तिमा उनले ल्याएको परिवर्तनको सबैले प्रशंसा गरेका छन्। उनले स्थानीय चुनावमा आफ्नो मुख्य एजेन्डा नै धरानको खानेपानीलाई बनाएका थिए। मेयरमा निर्वाचित भए धरानवासीलाई काकाकुल नपार्ने उनको वाचालाई मतदाताले विश्वासको मत दिएका थिए।
नभन्दै उनले धरानको खानेपानीमा छोटो समयमै देखिने परिवर्तन ल्याएका छन्। स्थानीय खोलादेखि कोकाहबाट समेत पानी ल्याएर धराने नागरिकको प्यास मेट्न उनले गरेको प्रयासको सर्वत्र प्रशंसा हुने गरेको छ।
त्यसबाहेक श्रमदानबाटै पार्क, नालाहरू बनाएका हर्कले वृक्षरोपणको क्षेत्रमा पनि धरानमा ठूलै अभियान चलाएका छन्।
आफूले जिम्मेवारी सम्हालेयताको सबभन्दा ठूलो उपलब्धि नै श्रम अभियान र त्यसमार्फत् धरानमा उपलब्ध खानेपानी भएको बताउने उनले श्रम अभियान बाहेकका अरू कामलाई आफूले उपलब्धि नठान्ने पनि बताउँथे।
'मेरो कार्यकालमा कति बाटो बनाएँ, कति संरचना थपेँ भन्नेमा मेरो धेरै चासो छैन,' मेयर साम्पाङले बारम्बार भन्दै आएका छन्, 'मैले कतिलाई श्रमप्रति आस्थावान् बनाउन सकेँ, माटोको माया जगाउन सकेँ र जीवनप्रति आशावादी बनाउन सकेँ भन्ने कुरामा म आफ्नो सफलता-असफलता नाप्नेछु।'
उनले हरेक शनिबार वा बिदाको दिन हजारौं सर्वसाधारण सहभागी हुने श्रम अभियान चलाउँथे। अन्य दिन पनि सयौं सहभागी हुँदै आएका छन्।
श्रमसँगै धरानमा जारी लागुऔषध विरोधी अभियानले पनि युवाहरूलाई सकारात्मक प्रभाव पारेको अनुभव यहाँका अभिभावकको छ।
मेयर साम्पाङ हरेक शुक्रबार टिमसहित विभिन्न ठाउँमा पुग्थे। लागुऔषध विरोधी प्लाकार्ड, गीत र कविताहरू प्रस्तुत गरेर स्थानीयलाई लागुऔषधबाट टाढा रहन आह्वान गर्थे।
उनी आफ्नो कार्यकालभरि आर्थिक अनियमतितामा कहिल्यै मुछिएनन्। सुविधा भोग गरेको आरोप उनलाई कहिल्यै लागेन।
यति हुँदा हुँदै मेयर साम्पाङ बारम्बार विवादमा भने परे। नगरभित्र र बाहिर सामाजिक सञ्जालमा उनको आलोचना भइरहन्छ। उनी नगरको टिम परिचालनमा विफल भएको बताउनेहरू धेरै छन्।
कहिले वडाध्यक्षलाई बैठक छाडेर जानुस् भनेर, अनि कहिले वडाध्यक्षलाई प्रस्टीकरण सोधेर पनि मेयर साम्पाङले आफूलाई विवादमा पार्दै आएका थिए।
आफूलाई शुभयात्रा नभनेका कारण उपमेयरलाई कार्यवाहक नदिएको भनेर पनि उनको आलोचना भयो। यसले उनको आफ्नै टिम अर्थात् जनप्रतिनिधिहरूको समूह आकर्षित भएन।
यति मात्र होइन, हजारौंको संख्यामा भएको श्रमदान र आर्थिक सहयोगको हिसाबकिताब पारदर्शी नभएको प्रश्न पनि उठेको छ। मेयर साम्पाङकै शब्दमा श्रमदान र आर्थिक सहयोगमा धरानमा 'करोडौं' को काम भएको छ। उनको आलोचना गर्नेहरू यसरी संकलित सहयोग अपारदर्शी रहेको, विधि अनुसार काम नभएको बताउने गरेका छन्।
साम्पाङले भने यस्ता आरोप अस्वीकार गर्दै आएका छन्।
उनको लोकप्रियताले धरानमा अभिव्यक्ति स्वतन्त्रता नै हरणमा परेको आरोप पनि धेरैले लगाए। अहिले हर्कसँगै चुनाव लड्ने तयारी गरेका वडाध्यक्ष भट्टराई त मेयरको विपक्षमा बोल्दा समर्थकहरू घर घेर्न आउने, ट्रोल बनाएर हैरान पार्ने गरिएको बताउँछन्।
साम्पाङले धरानमा खानेपानीको स्रोत खोज्न जति चिन्ता देखाए, ठूला आयोजनामा उनको दिलचस्पी कहिल्यै नदेखिएको भन्ने गुनासो पनि छ।
यसबाहेक हर्कले धरानमै बेसार र साबुन फ्याक्ट्री खोल्नेदेखि जंगलमा फलफूलका बिरूवा रोप्ने अभियान पनि चलाए।
'अरूका कुरा नसुन्ने, इमानदार र हक्की उनी एकोहोरो आफ्नो अभियानमा लागिरहने स्वभावका रहेछन्,' धरान नगरका एक उच्च तहका कर्मचारीले भने, 'आर्थिक रुपमा कुनै लोभ नदेखाउनु र सुविधाभोगी नहुनु उनको राम्रो पक्ष हो। कानुन मिच्ने र आफूलाई लागेको कुरा नै अन्तिम सत्य भन्ने हठ चाहिँ नराम्रो छ।'