२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन हुँदै गर्दा अशोक राईसँग १२ मध्ये ७ सांसद थिए।
सात जना सांसदको बलमा उनले जसपा गठन गरेर त्यसको अध्यक्ष बने। तर पार्टी गठनको दुई वर्ष पुग्दै गर्दा राईलाई साथ दिएका ७ मध्ये ५ जनाले छाडिसकेका छन्।
राईको साथ छाड्नेमा नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, र प्रदीप यादव हुन्। अब राईसँग उनी स्वयं र उनकी श्रीमती समेत रहेकी निवर्तमान सांसद सुशीला श्रेष्ठ मात्र छन्।
पार्टी विभाजन बेला साथ दिएकामध्ये नवलकिशोर शाह राष्ट्रिय स्वाभिमान पार्टीमा लागेका छन्। २०७९ को निर्वाचनमा जसपा नेपालबाट निर्वाचन जितेका शाह राई नेतृत्वको जसपामा उपाध्यक्ष थिए।
पर्सा-१ बाट निर्वाचन जितेका प्रदीप यादव पार्टी उपमहासचिव थिए। उनी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फर्किएर एमाले गइसकेका छन्। यसपालि एमाले तर्फबाट उमेदवार बन्दै छन्।
सिरहा-४ बाट निर्वाचन जितेका वीरेन्द्र महतो राई नेतृत्वको जसपाका कोषाध्यक्ष थिए। उनी सिके राउत नेतृत्वको जनमत पार्टीबाट सिरहा-४ मा उमेदवार बन्दै छन्।
समानुपातिकतर्फ सांसद बनेकी रञ्जु ठाकुर भने अहिले कुनै पार्टीमा छैनन्। सप्तरी-२ बाट आफूले उमेदवारी दिने तयारी गरिरहेको ठाकुरले सेतोपाटीलाई बताइन्।
'केही पार्टीसँग कुरा चलिरहेको छ। म उमेदवार बन्ने हो। पार्टीसँग कुरा मिलेन भने स्वतन्त्र उठ्छु,' उनले भनिन्, 'राई नेतृत्वको पार्टीप्रति जिल्लामा कुनै आकर्षण भएन। कसैलाई दोष दिनेभन्दा म आफू त्यहाँबाट निस्किएँ।'
त्यस्तै, समानुपतिक सांसद बनेकी हसिना खान यसपटक पनि समानुपातिक सूचीमा छन्। तर उनले व्यावहारिक रूपमा जसपा छाडिसकेकी छन्। पार्टीमा सक्रिय पनि छैनन्। उनको उमेदवारी रहे पनि त्यसको कुनै अर्थ नहुने जसपा छाडेका एक नेताले सेतोपाटीलाई बताए।
राईको साथ छाड्नेमा निवर्तमान सांसदहरू मात्र छैनन्। पार्टी विभाजन बेला मुख्य साथ दिएका पदाधिकारीले समेत उनको साथ छाडेका छन्।
उनलाई सबभन्दा पहिले साथ छाड्नेमा संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ हुन्। श्रेष्ठले राईलाई २०७० मा एमाले छाड्दा साथ दिएका थिए। तर श्रेष्ठ अहिले नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भइसकेका छन्।
सह-अध्यक्ष रेणु यादवले पनि राईको साथ छाडेकी छन्। उनी उपेन्द्र यादव नेतृत्वको जसपा फर्किसकेकी छन्।
राईलाई बलियो साथ दिने अर्का प्रभावशाली नेता मोहम्मद इस्तियाक राई पनि हुन्। उनी जसपाका महासचिव थिए। बाँके-२ बाट २०६४ र २०७४ को निर्वाचन जितेका राईले यसपटक सूर्य चिह्न लिएर चुनाव लड्ने भएका छन्।
जसपा अध्यक्ष अशोक राईले भने आफूले यसलाई स्वाभाविक रुपमा लिएको बताए।
'निर्वाचन बेला यस्तो भइरहन्छ। पछिल्लो समय विचारभन्दा निर्वाचन ठूलो हुन थालेको छ। यो समस्या हाम्रो पार्टीमा मात्र होइन, सबैतिर छ,' उनले भने, 'पार्टीमा आउने-जाने चलिरहन्छ। हामी निर्वाचनको तयारीमा छौं। युवाहरूलाई निर्वाचनको उमेदवार बनाउँछौं।'
आफूले २०७९ को निर्वाचनमै अब उमेदवार नबन्ने भनेकाले पार्टीको काममा मात्र लाग्ने बताए।
राईले २०७९ मा सुनसरी-१ बाट एमालेको समर्थनमा निर्वाचन जितेका थिए।
राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने निर्णय यसअघि गरिसकेका छन्।
तीन वटै पार्टीले नाउपाको 'जाँतो' चिह्नमा समानुपातिक बन्दसूची बुझाइसकेका छन्।