राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
प्रसाईंले निर्वाचन आयोगलाई लक्षित गरी ५२ करोड लेनदेन गरी विशेष महाधिवेशन पक्षलाई आधिकारिकता मानेको आरोप लगाएका थिए। कांग्रेस विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय उपर भ्रामक सूचना प्रवाह गरेको आरोपमा प्रसाइलाई प्रहरीले पक्राउ गरेको हो।
पोखराको एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रसाईंलाई पक्राउ गरी नेपाल प्रहरीको साइबर ब्युरोमा पठाउने तयारी गरिएको उनले बताए।
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई मान्यता दिन निर्वाचन आयोगसँग ५२ करोड लेनदेन भएको दाबी प्रसाइले गरेका थिए।
उक्त दाबी भ्रामक भएको भन्दै निर्वाचन आयोगले अनुसन्धानको दायरामा ल्याउन साइबर ब्युरोलाई आइतबार पत्राचार गरेको थियो।
निर्वाचन आयोगको उजुरीका आधारमा प्रसाइलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाई पटक-पटक साइबर अपराधमा पक्राउ पर्दै छुट्दै आएका छन्।
उनलाई काठमाडौं ल्याउँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।