राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिजोको दिनमा काठमाडौंका मेयर बालेन शाहले एउटा प्रशासकीय अधिकृत माग्दा समेत नपाएको भन्दै अब सत्ता पल्टाउने चेतावनी दिएका छन्।
सोमबार जनकपुरधाममा आयोजना गरेको घोषणा सभामा बोल्दै लामिछानेले सो कुरा बताएका हुन्।
'जनताको लोकप्रिय व्यक्तिले एउटा प्रशासकीय अधिकृत माग्दा दिएनन्,' लामिछानेले भने, 'अब प्रशासकीय अधिकृत होइन, सत्ता फेर्ने हो।'
उनले गत निर्वाचनमा चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसदबाट बाहिरिनुपरेको बताए।
उनले आसन्न निर्वाचनबाट रास्वपाले सबैभन्दा धेरै मत ल्याएर संसदमा प्रवेश गर्ने दाबी पनि गरे।
उनले जनताको समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको दाबी गर्दै पार्टीले परिवर्तनका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।।
उनले भने, ‘जब चितवनका जनताले मलाई अत्यधिक भोट दिएर मलाई पठाएका थिए। छलछाम गरेर मलाई संसदबाट निकालियो। हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ। अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौँ। मेरो टाउकोमा लागेका मुद्दाहरूको कारण प्रत्येक दिन देशको कुनै न कुनै अदालतमा मैले उपस्थित हुनुपर्छ। मलाई प्रवाह छैन। जनताको मुद्दा बोकेर हिँडेको मान्छे लड्दै गरौँला, जित्दै गरौँला, हारे हारिन्छ, जिते जितिन्छ।’