नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' आगामी फागुन २१ मा हुने निर्वाचनमा रूकुम पूर्वबाट उम्मेदवार बन्दैछन्।
संसदीय राजनीतिमा आएपछि प्रचण्डका लागि यो पाँचौं निर्वाचन हो।
संसदीय राजनीतिमा बिरलै देख्न पाइने अभ्यास प्रचण्डले गरेका छन्।
अर्थात् प्रचण्डले हरेक निर्वाचनमा क्षेत्र बदलेका छन्।
२०६४ सालमा भएको पहिलो संविधानसभामा रोल्पा–२ र काठमाडौं–१० बाट उम्मेदवार बनेका प्रचण्ड दुवै क्षेत्रबाट विजयी भएका थिए।
२०७० सालमा भएको दोस्रो निर्वाचनमा प्रचण्ड काठमाडौं–१० र सिराहा–५ बाट उम्मेदवार बने। यो निर्वाचनमा उनी काठमाडौंबाट पराजित भए भने सिराहाबाट झिनो मतले विजयी भए।
२०७४ सालको निर्वाचनमा प्रचण्ड चितवन–३ बाट उम्मेदवार बनेका थिए। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर प्रचण्ड विजयी भए।
२०७९ सालको निर्वाचनमा कांग्रेस समर्थन लिएर प्रचण्ड गोरखा–२ मा उम्मेदवार बनेका थिए। उनी त्यो बेला पनि विजयी भए।
यो निर्वाचनमा प्रचण्ड रूकुम पूर्व पुगेका छन्।
रूकुम पूर्व प्रचण्डका लागि आधार इलाका जस्तै हो। यसअघिका भएका चार निर्वाचनमा त्यहाँबाट माओवादीले जितेको थियो।
२०७२ सालमा संविधान जारी भएसँगै रूकुम विभाजन भएको थियो। पूर्वी रूकुम लुम्बिनी प्रदेशमा पर्छ भने पश्चिम रूकुम कर्णाली प्रदेशमा पर्छ।
पश्चिम रूकुमबाट जनार्दन शर्मा विजयी हुँदै आएका छन्। यस पटक शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन्।
प्रचण्डको अर्को पनि संयोग छ। उनले हरेक निर्वाचनजस्तै पार्टीको नाम बदलेका छन्।
२०६४ सालमा नेकपा माओवादीबाट निर्वाचन लडेका प्रचण्डले निर्वाचनपछि नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालसँग एकता गरेर नेकपा (एकीकृत माओवादी) गठन गरे। नेकपा एकीकृत माओवादीकै नामबाट उनी २०७० सालको निर्वाचनमा उम्मेदवार बने।
२०७३ सालमा विभिन्न पार्टीहरूसँग एकता गरेर उनले पार्टीको नाम नेकपा माओवादी केन्द्र राखे।
२०७४ सालको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचन लडेका थिए। निर्वाचनपछि नेकपा एमालेसँग एकता गरेर नेकपा बनाएको भए पनि सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि प्रचण्ड नेकपा माओवादी केन्द्रमै फर्किएका थिए।
२०७९ सालको निर्वाचनमा भने उनले नेकपा माओवादी केन्द्रकै नामबाट निर्वाचन लडेका थिए।
यस पटकको निर्वाचनअघि माधव नेपाल नेतृत्वको नेकपा समाजवादीसहित विभिन्न पार्टीसँग एकता गरेर प्रचण्ड नेकपाको संयोजक बनेका छन्।