आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस, एमाले, रास्वपा, राप्रपा लगायतका पुराना र केही नयाँ दलले करिब सबै क्षेत्रमा उम्मेदवारी दिएका छन्।
२०७२ सालको संविधान जारी भई देशभर १६५ वटामा निर्वाचन क्षेत्र विभाजन गरिएपछि प्रतिनिधिसभाका लागि दुई पटक निर्वाचन भए। पछिल्ला निर्वाचनमा कांग्रेस, एमाले लगायतका दलले निर्वाचनअघि गठबन्धन गर्दै आएका भए पनि यसपालि एकल रूपमा उम्मेदवारी दर्ता गरे।
त्यतिबेला नेपाली कांग्रेसका महामन्त्री रहेका गगन थापाले देशभर उम्मेदवार नउठाउँदा कांग्रेसको सिद्धान्त र भोटमा नकारात्मक प्रभाव गरेको बताउँदै आएका थिए। यसपालि उनी सभापति भएपछि कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ।
२०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर चुनावमा गएका थिए भने कांग्रेसले केही क्षेत्रमा साना दलहरूसँग गठबन्धन गरेको थियो।
२०७९ सालमा कांग्रेसले तत्कालीन कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा लगायत पाँच दलसँग चुनावी तालमेल गरेको थियो।
कांग्रेसले २०७४ को निर्वाचनमा १६५ मध्ये १५५ क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको थियो। त्यसपछि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ९२ क्षेत्रमा मात्र आफ्नो उम्मेदवारी दिएको थियो।
यस क्रममा काठमाडौं–७, गोरखा–२, चितवन–३ र महोत्तरी–३ मा कांग्रेसले अघिल्ला दुवै निर्वाचनमा उम्मेदवार उठाएको थिएन। अहिले भने यी चार वटै निर्वाचन क्षेत्रसहित १६५ वटामै कांग्रेसले आफ्ना उम्मेदवार उठाएको छ।
यसले कांग्रेसको जनाधार बढाउन सहयोग पुग्ने राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन्।
'निर्वाचनअघि नै गठबन्धन संस्कृति मौलाएको थियो। हालका सभापति गगन थापाले यसमा विरोध जनाउँदै आएका थिए। उनले आफू सभापति भएपछि निर्वाचनअघिको गठबन्धन संस्कृति तोडेका छन्,' उनले भने, 'कांग्रेसले गठबन्धन नगर्ने भएकाले अरू दलले पनि गरेको छैन। यसले जनतामा परीक्षण हुन र जनाधार विस्तार गर्न कांग्रेसलाई सहयोग पुर्याउने छ।'
यी चार निर्वाचन क्षेत्रमा पहिले कांग्रेसले के गर्यो?
काठमाडौं–७
काठमाडौं–७ मा २०७४ को निर्वाचनमा राप्रपाका बिक्रमबहादुर थापालाई सघाएर कांग्रेसले उम्मेदवारी दिएको थिएन।
२०७९ को निर्वाचनमा तत्कालीन नेपाल समाजवादी पार्टी (नेसपा) की मानुषी यमि भट्टराईलाई सहयोग गरेको थियो। अहिले कांग्रेसले आफ्नो उम्मेदवार प्रमोदहरि गुरागाईंलाई उम्मेदवार बनाएको छ। उनी नेविसंघका पूर्वउपाध्यक्ष हुन्।
हालको काठमाडौं–७ मा पर्ने क्षेत्रबाट २०५६ सालमा कांग्रेसका तीर्थराम डंगोलले जितेका थिए।
गोरखा–२
गोरखा–२ मा २०७४ को निर्वाचनमा कांग्रेसले तत्कालीन नयाँ शक्ति पार्टीका बाबुराम भट्टराईलाई सघाएर आफूले उम्मेदवारी दिएको थिएन।
२०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई सहयोग गरेर आफ्नो उम्मेदवारी दिएन।
अहिले कांग्रेसले यो क्षेत्रबाट प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ।
२०७४ अघि २४० निर्वाचन क्षेत्र रहँदा गोरखामा तीन वटा निर्वाचन क्षेत्र थिए। अहिले गोरखा–२ मा पर्ने निर्वाचन क्षेत्रबाट त्यसअघि २०५१ र २०५६ मा कमला पन्तले कांग्रेसबाट जितेकी थिइन्। २०६४ मा भने कांग्रेसले हारेको थियो।
चितवन–३
चितवन–३ मा २०७४ को निर्वाचनमा कांग्रेसले राप्रपाका बिक्रम पाण्डेलाई सघाएर आफूले उम्मेदवारी दिएको थिएन।
२०७९ को निर्वाचनमा यहाँ कांग्रेसले माओवादीका भोजराज अधिकारीलाई सहयोग गरेको थियो।
यसपालि कांग्रेसले यो निर्वाचन क्षेत्रमा टेकप्रसाद गुरूङलाई उम्मेदवार बनाएको छ।
चितवन–३ कांग्रेसको बलियो क्षेत्र भएर पनि पटक पटक गठबन्धन गरेको भन्दै स्थानीय नेता कार्यकर्ताले विरोध जनाएका थिए। दुई वटै निर्वाचनमा यहाँबाट कांग्रेसका बागी उम्मेदवार उठेका थिए।
महोत्तरी–३
महोत्तरी–३ मा २०७४ को निर्वाचनमा कांग्रेसले तत्कालीन राष्ट्रिय जनता पार्टीका महन्थ ठाकुरलाई सहयोग गरेर उम्मेदवारी दिएको थिएन।
२०७९ को निर्वाचनमा पनि तत्कालीन लोसपमाका उनै महन्त ठाकुरलाई सहयोग गर्दै कांग्रेसले उम्मेदवारी दिएको थिएन।
अहिले भने कांग्रेसले यो क्षेत्रबाट बजरंग नेपालीलाई उम्मेदवार बनाएको छ। उनी कांग्रेसका महासमिति सदस्य हुन्।