नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति चुनिएपछि गगन थापाले 'नयाँ कांग्रेस' बनाउने अठोट प्रकट गर्दै भनेका थिए — कांग्रेसमा अब भागबन्डा हुने छैन। ६० पनि हुने छैन, ४० पनि हुने छैन। कांग्रेसमा अब परिवारवादको पनि अन्त्य हुनेछ!
तत्कालीन संस्थापन पक्षले अस्वीकार गरेको विशेष महाधिवेशनबाट पार्टी नेतृत्व हात पारेपछि सभापति गगनका लागि कानुनी रूपमा वैधानिकता प्राप्त गर्नुपर्ने चुनौती थियो। निर्वाचन आयोगले उनको नेतृत्वलाई वैध ठहर गरिदिएपछि शेरबहादुर देउवा पक्ष अदालत नै पुग्यो।
अदालतले देउवाको रिटमा अन्तरिम आदेश दिन नपर्ने आदेश सुनाइरहँदा सभापति गगनको हस्ताक्षर भएको टिकट बोकेर देउवा पक्षका नेताहरू जिल्ला जिल्ला पुगिसकेका थिए।
एक
सभापति गगनले प्रतिनिधिसभाको उम्मेदवार छनोट क्रममा आफ्नो पहिलो प्रतिबद्धता पालना गरेको भन्दै इतर पक्षकै नेताहरू बताइरहेका छन्।
'देउवा सभापति हुँदा जसरी टिकटको भागबन्डा हुन्थ्यो, यस पटक त्यसरी भागबन्डा भएन। यो राम्रो भयो,' सुनसरीमा टिकट पाएका कांग्रेसका एक उम्मेदवारले भने, 'पाउँदिनँ होला भन्ने त्रासमा रहेका धेरैले पाए। पाउँछु भनेर बसेका धेरै रित्तै बने। यो राम्रो भयो।'
२०७४ सालमा एमाले र माओवादीले गठबन्धन गरेर दुई तिहाइ नजिकको सिट जितेका बेला पनि मोरङ–२ मा डा. मीनेन्द्र रिजालले जित निकालेका थिए। प्रतिकूल अवस्थामा चुनाव जिते पनि रिजाललाई २०७९ सालमा देउवाले टिकट दिएका थिएनन्।
त्यस बेला गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालालाई टिकट दिएको कांग्रेसले माओवादी, एकीकृत समाजवादीसँग गठबन्धन गर्दा पनि मोरङ–२ गुमाएको थियो। त्यस बेला एमालेका ऋषिकेश पोखरेलले गठबन्धनविरूद्ध जित निकालेका थिए।
परिवारवादको आरोप निरन्तर खेप्ने कांग्रेसमा यस पटक बिपी कोइरालाका छोरा डा. शशांक कोइरालादेखि गणेशमान सिंहका छोरा प्रकाशमान सिंहसम्म टिकटविहीन बनेका छन्।
दुई
२०७९ सालमा कांग्रेसले प्रत्यक्षतर्फ महिला उम्मेदवार न्यून मात्रै उठाएको थियो। यस पटक पनि उल्लेख्य संख्यामा त महिला उम्मेदवार छैनन्, तर अघिल्लो चुनावको दाँजोमा दोब्बरभन्दा बढी प्रत्यक्षमा खडा भएका छन्।
अघिल्लो चुनावमा ५ जना महिला प्रत्यक्षमा खडा गरेको कांग्रेसले यस पटक ११ जना महिलालाई प्रत्यक्षमा टिकट दिएको छ।
तीन
त्यस्तै २०७९ सालमा प्रत्यक्षतर्फ दलित उम्मेदवार एकै जना पनि नउठाएको कांग्रेसले यस पटक उपस्थितिमा सीमित बनाएको छ।
दलिततर्फका सहमहामन्त्री प्रकाश स्नेहीलाई कांग्रेसले उम्मेदवार बनाएको छ।
चार
कांग्रेसका कार्यकर्ताहरूले यस पटक देशका १६५ वटै निर्वाचन क्षेत्रमै आफ्नो चुनाव चिह्न रूखमा मत दिन पाउने अवसर पाउने छन्। २०७९ सालमा कांग्रेसले ९० हाराहारी क्षेत्रमा मात्रै उम्मेदवार उठाएको थियो।
'यो धेरै खुसीको कुरा हो,' विराटनगरका कांग्रेस कार्यकर्ता राजेश कार्कीले भने, 'आफ्नै दलको चिह्नमा भोट हाल्न नपाउँदाको पीडा हामीले धेरै भोग्दै आएका छौं।'
उनले भने जस्तै यसपालि कांग्रेसले कसैसँग तालमेल गरेको छैन। बरू सदभावनाका अनिल झालाई समेत कांग्रेसमै प्रवेश गराएर रूख चिह्नबाटै रौतहटबाट उम्मेदवार बनाएको छ।
पाँच
यस पटक विवादास्पद अनुहारहरूलाई कांग्रेसले टिकट दिन अस्वीकार गरेर पनि राम्रो भएको एक केन्द्रीय सदस्य बताउँछन्।
'टेरामक्स प्रकरण' का आरोपी माहेन बस्नेतदेखि भुटानी शरणार्थी प्रकरणका आरोपी बालकृष्ण खाणम्मले टिकट नपाएको भन्दै ती नेताले भने, 'अनुहारमा दाग लागेकाहरूविरूद्ध नेतृत्व निर्मम बनेको छ।'
त्यस्तै यसपालि १६५ जना उम्मेदवार चयन हुँदा १०६ जना नयाँ भएको प्रवक्ता देवराज चालिसेले बताए।
कुल उम्मेदवारमा नयाँको संख्या झन्डै दुई–तिहाइ छ।
मेची पहाड र झापाका चार जिल्लाका १२ जना उम्मेदवारमध्ये झापा –४ का देउमान थेवेबाहेक ११ जना नै नयाँ छन्।
'१६५ उम्मेदवार खडा गरेका छौं, जसमा १०६ जना नयाँ हुनुहुन्छ। ११ जना महिला हुनुहुन्छ। यसअघि जम्मा ५ जना महिलाहरूले प्रत्यक्षतर्फ टिकट पाउनुभएको थियो,' उनले भने, 'युवाहरूलाई पनि प्राथमिकता राखेर टिकट दिएका छौं।'
युवातर्फ काठमाडौं–४ मा सचिन तिमल्सेना, इलाम–१ मा निस्कल राई, रोल्पामा सुदनकुमार ओलीलाई कांग्रेसले उम्मेदवार बनाएको छ।
कांग्रेसले यस पटक विदेशस्थित सम्पर्क समितिका नेतालाई पनि उम्मेदवार बनाएको छ।
कैलाली–४ बाट उम्मेदवार बनेका गोरखबहादुर विष्ट (आनन्द) नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति हुन्। उनी नेपाल फर्केर चुनाव लड्ने भएका छन्।
कांग्रेस महामन्त्री गुरूराज घिमिरेले समयको चापका बीचमा पनि सकेसम्म सन्तुलित, जित्न सक्ने उम्मेदवारहरू आग्रह नराखी छानिएको बताएका छन्।