सर्लाही क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महिन्द्र राय यादव र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोबीचको रोचक प्रतिस्पर्धा यसपालि पनि हुने भएको छ।
यी दुई उम्मेदवारसँगै प्रमुख पार्टीहरू नेपाली कांग्रेसका तर्फबाट डा. सरोज यादव, नेकपा एमालेबाट नागेश्वर साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रबिन महतो उम्मेदवार छन्।
२०७९ सालको निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रको चुनाव चिह्न लिएर यादव विजयी भएका थिए।
लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका महतो दोस्रो भएका थिए।
यादव र महतोबीच २०७० सालमा पनि प्रतिस्पर्धा भएको थियो। त्यो निर्वाचनमा पनि महतो पराजित भएका थिए।
यादवले तराई–मधेस सदभावना पार्टीका तर्फबाट निर्वाचन जितेका थिए भने महतो सदभावना पार्टीका उम्मेदवार थिए। त्यो निर्वाचनमा सर्लाहीका ६ क्षेत्रमध्ये यादव र महतोले क्षेत्र नम्बर ४ मा प्रतिस्पर्धा गरेका थिए।
२०७४ सालमा भने यादव र महतो एउटै पार्टीमा थिए।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट यादव सर्लाही क्षेत्र नम्बर २ बाट विजयी भएका थिए भने महतो धनुषा क्षेत्र नम्बर ३ मा गएका थिए।
तेस्रो मधेस आन्दोलनको रापतापको बलमा जनकपुर पुगेका महतोले नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई हराएका थिए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का तर्फबाट यादव समानुपातिकतर्फ सांसद बनेका थिए। २०४८ सालयता भएका निर्वाचनमा २०६४ सालमा मात्र प्रत्यक्ष उम्मेदवार बनेका थिएनन्।
२०६४ सालमा तत्कालीन सदभावना पार्टीका उम्मेदवार बनेर सर्लाही–४ बाट महतो निर्वाचित भएका थिए। त्यो निर्वाचनमा तमलोपा र सदभावना पार्टीबीच चुनावी तालमेल समेत भएको थियो।
यादव २०४८ सालदेखि उम्मेदवार बन्दै आएका छन्।
२०४८ सालमा नेकपा मानन्धर समूहबाट उम्मेदवार बनेर पराजित भएका यादवले २०५१ र २०५६ सालको निर्वाचन एमालेबाट जितेका हुन्।
त्यसयताका सबै निर्वाचन यादवले जित्दै आएका छन्।
२०६४ सालदेखि कम्युनिस्ट राजनीति छोडेर मधेस केन्द्रित राजनीतिमा होमिएका यादव २०७९ सालदेखि फेरि कम्युनिस्ट पार्टीमा लागेका हुन्।
महतोले सुरूदेखि नै मधेस केन्द्रित पार्टीको राजनीति गर्दै आएका छन्। २०४८ र २०५१ सालमा तत्कालीन सदभावना पार्टीबाट उम्मेदवार बनेर पराजित भएका महतो २०५६ सालमा भने विजयी भएका थिए।