दाङका तीन निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा निर्वाचित हुने तीन पदका लागि मंगलबार ६२ जनाले उम्मेदवारी दिएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फको निर्वाचनका लागि दाङको क्षेत्र नम्बर १ मा १४ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा सबभन्दा बढी २५ जनाको उम्मेदवारी परेको छ।
६२ मध्ये १९ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
क्षेत्र नम्बर १ मा दुई जना, क्षेत्र नम्बर २ मा आठ जना र क्षेत्र नम्बर ३ मा नौ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
दाङको क्षेत्र नम्बर १ मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
रोल्पाका उनी यसअघि नेकपा (माओवादी केन्द्र) बाट लुम्बिनीको मुख्यमन्त्री बनेका थिए। केसीकै पालामा बुटवलबाट दाङको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने राप्ती गाउँपालिकामा राजधानी सारिएको थियो। बुटवलवासीले रातारात 'चोरको शैली' मा राजधानी सारिएको भन्दै उनको आलोचना गरेका थिए।
बुटवलबाट राजधानी सार्ने निर्णय भने लुम्बिनीका प्रथम मुख्यमन्त्री तथा नेकपा (एमाले) महासचिव शंकर पोखरेलकै पालामा भएको थियो। त्यही भएर ५५ वर्षीय केसीले राजधानी सारेको जस स्वरूप आफूलाई दाङ क्षेत्र नम्बर १ का मतदाताले सहजै विजयी बनाउने दाबी गर्दै टिकट पाउनुपर्ने माग गर्दै आएका थिए।
तर उनको पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले साविक नेकपा (एकीकृत समाजवादी) र हाल नेकपाका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि रूष्ट बनेका उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।
पूर्वमन्त्री मेटमणि यसअघि नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनका क्रममा यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यसअघि पनि मेटमणिले नेकपाको वामगठबन्धन हुँदा यही क्षेत्रबाट निर्वाचन जितेका थिए।
यो निर्वाचन क्षेत्रबाट ६९ वर्षीय मालिकराम यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपा मेटमणि चौधरी, नेकपा (एमाले) का रेवतीरमण शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकसहित १२ राजनीतिक दलका उम्मेदवारले मंगलबार मनोनयनपत्र दर्ता गराएका छन्।
त्यस्तै, क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेल, कांग्रेसका किरण किशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसहित १५ वटा राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
दाङको निर्वाचन क्षेत्र नम्बर २ मा लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक युवा समिर वलीसहित ८ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
यो निर्वाचन क्षेत्रमा गत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार माओवादी नेता रेखा शर्माले जितेकी थिइन्। शंकर पराजित भएका थिए।
एकै घरका तीन दाजुभाइसँग शंकरको प्रतिस्पर्धा
कांग्रेसका किरणभन्दा पहिले शंकरले यसअघि उनका दुई दाजुभाइसँग पनि चुनावी प्रतिस्पर्धा गरेका थिए। यसअघि शंकरले किरणका जेठा दाजु कृष्ण किशोर घिमिरेसँग २०५६ सालको निर्वाचनमा पराजय भोगेका थिए।
कृष्ण किशोरले १९ हजार ७२ मत प्राप्त गर्दा शंकरले ११ हजार ६४७ मत पाएका थिए।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धन भएको थियो। शंकर पोखरेल त्यतिखेर २ (१) बाट लुम्बिनी प्रदेशसभा सदस्यका उम्मेदवार थिए। त्यो बेला शंकरसँग किरणका साइँला दाजु कमल किशोर घिमिरेसँग मुख्य प्रतिस्पर्धा भएको थियो।
एमाले–माओवादी गठबन्धनको त्यो समयमा एमाले नेता शंकरले कांग्रेसका कमल किशोर घिमिरेलाई पराजित गरेका थिए। शंकरले २० हजार ७२३ मत प्राप्त गरी निर्वाचित भएका थिए। कांग्रेसका कमल किशोरले ११ हजार १७२ मत पाएका थिए।
क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उतिखेर माओवादीका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा निर्वाचित भएका थिए।
त्यसअघि एमालेका शंकरले कांग्रेसका दीपक गिरीलाई २०५१ सालमा पराजित गरेका थिए। शंकर सोही क्षेत्रमा २०७० सालमा कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएपछि आफ्नो निर्वाचन क्षेत्र छोडेर घोराहीतर्फ लागेका थिए।
त्यसअघि २०६४ सालमा शंकर प्रत्यक्षतर्फ चुनाव नलडी समानुपातिक सांसद बनेका थिए।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका तर्फबाट पूर्वमन्त्री दीपक गिरी, एमालेका घनश्याम पाण्डे, नेकपाका धनबहादुर मास्की र रास्वपाका कमल सुवेदीसहित १६ जना विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। यहाँ ९ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
यो निर्वाचन क्षेत्रमा २०७९ मंसिरको चुनावमा कांग्रेसका दीपक निर्वाचित भएका थिए। गत निर्वाचनमा रास्वपाका सुवेदी पनि उम्मेदवार थिए। निर्वाचित हुने दीपकले ३६ हजारभन्दा बढी र सुवेदीले १५ हजारभन्दा बढी मत पाएका थिए।
नेकपाका धनबहादुर यसअघि लुम्बिनीका अर्थमन्त्री थिए। प्रदेश सदस्यमा भिडेका एमालेका घनश्याम भने कांग्रेसका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग पराजित भएका थिए।