फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रबाट १५७ जनाको उम्मेदवारी दर्ता भएको छ।
जिल्ला निर्वाचन अधिकृत कल्पना अर्यालका अनुसार जिल्लामा राजनीतिक दलहरूबाट ९४ जना र स्वतन्त्र रूपमा ६४ जनाको उम्मेदवारी परेको हो।
सबभन्दा धेरै क्षेत्र नं. २ मा ४१ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नं. २ मा राजनीतिक दलहरूबाट २० जनाको उम्मेदवारी दर्ता हुँदा स्वतन्त्र रूपमा २१ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार क्षेत्र नं २ बाट नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले छैटौं पटक उम्मेदवारी दर्ता गरेका छन्।
रूपन्देहीमा पहिलो पटक २०५६ सालमा पराजित भएका पौडेल त्यसयता २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा भने लगातार विजयी हुँदै आएका छन्। यस पटक पाँचौं पटक जित निकाल्ने दाउमा पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।
नेपाली कांग्रेसबाट उद्योगी तथा व्यवसायी चुन्नप्रसाद पौडेलले उम्मेदवारी दिएका छन्।
यशोदा फुड्स र बुटवल अस्पताल प्रालिका अध्यक्ष समेत रहेका पौडेल उद्योग व्यवसायमा सफल मानिन्छन्।
बुटवलको हायात प्यालेसका सञ्चालक समेत रहेका पौडेलको चुनावी यात्रा भने पहिलो हो।
त्यस्तै, क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टीका सुवास पाण्डे (विश्वदीप), राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कार्भिका थापा लगायतले उम्मेदवारी दिएका छन्।
क्षेत्र नं. ३ मा पनि ३६ जनाको उम्मेदवारी परेको छ। जिल्ला निर्वाचन अधिकृत अर्यालका अनुसार क्षेत्र नं. ३ मा राजनीतिक दलबाट १९ र स्वतन्त्रतर्फ १७ जनाको उम्मेदवारी परेको छ।
यो क्षेत्रमा नेकपा एमालेका वासुदेव घिमिरे, नेपाली कांग्रेसका सुशील गुरूङ, रास्वपाका डा. लेखजंग थापा, राप्रपाका क्याप्टेन गौरव बोहरा लगायतले उम्मेदवारी दिएका छन्।
त्यस्तै, क्षेत्र नं १ मा राजनीतिक दलका २० जना र स्वतन्त्र बाट ११ गरी ३१ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नं. १ मा नेकपा एमालेका दधिराम न्यौपाने, नेपाली कांग्रेसका हिराबहादुर केसी, राप्रपाका प्रज्वल बोहरा र रास्वपाका सुनील लम्सालले उम्मेदवारी दिएका छन्।
त्यस्तै, क्षेत्र नं. ४ मा राजनीतिक दलबाट १५ जना र स्वतन्त्र बाट ७ जना गरी २२ जनाको उम्मेदवारी दर्ता भएको छ।
क्षेत्र नं. ४ मा नेकपा एमालेबाट प्रमोद यादव, राप्रपाबाट अहमदद्दिन मुसलमान, नेपाली काँग्रेसबाट आशुतोष मिश्र र रास्वपा बाट कन्हैया बानियाको उम्मेदवारी परेको छ।
क्षेत्र नंं ५ मा १९ जना राजनीतिक दलबाट र ८ जना स्वतन्त्र गरी २७ जनाको उम्मेदवारी दर्ता भएको छ। यहाँ नेकपा एमालेका खिमलाल भट्टराई, नेपाली कांग्रेसका भरत कुमार शाह, रास्वपा तौफिक अहमद खान, नेपाली कम्युनिस्ट पार्टीबाट मुहम्मद वकिल मुसलमान लगायतको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकृत अर्यालले जानकारी दिइन्।