रोल्पामा पूर्वसहयोद्धाहरू फागुन २१ गतेको निर्वाचनका लागि आमनेसामने हुने भएका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य चुडामणि वली ‘आदर्श’ र पूर्वनेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनसँग आमनेसामने हुने भएका हुन्।
यी दुई नेता विगतमा १० वर्षसम्म चलेको ‘सशस्त्र जनयुद्ध’ का सहयोद्धा थिए।
नेकपा (माओवादी) विभाजनपछि पछिल्लो समय पूर्वअर्थमन्त्री पुनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराउँदा चुडामणिले भने नेकपा (माओवादी) बाट उम्मेदवारी दिएका छन्।
एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा उम्मेदवारी दर्तापछि चुडामणिले रोल्पाली जनताले फेरि एक पटक इतिहास रच्ने बेला आएको बताए।
‘रोल्पाबाट जितेर गएका नेताहरूले रोल्पालाई फर्केर हेरेनन् बरू भ्रष्टाचार र सुन तस्करीमा लागे,’ चुडामणिले भने, ‘जनताको जीवनस्तरलाई उठाउने भन्दा पनि आफ्नै निजी जीवन बनाउनतिर लागे र यतिखेर त्यस्तालाई मतदानमार्फत परास्त गरी इतिहास रच्ने अवसर आएको छ।’
चुडामणिले पार्टीका महासचिव विप्लवले नै चुनाव लड्न पठाएको हुँदा आफूले उम्मेदवारी दिएको बताएका थिए।
पश्चिम रोल्पाको गंगादेव गाउँपालिका– ३ झ्यामका बासिन्दा वली शहिद परिवारका सदस्य हुन्।
उनका कान्छा भाइ खकेन्द्र वली ‘शिव’ तत्कालीन जनयुद्धको समयमा कपुरकोट रिपिटर टावर आक्रमणका क्रममा मारिएका थिए।
‘जनयुद्ध’ को समयमा वलीको सिंगो परिवार नै होल्टाइमर कार्यकर्ता भएर काम गरेका थिए।
रोल्पामा नेपाली कांग्रेसबाट युवा अर्थविद् डा. सुधनकुमार वली पनि उम्मेदवार छन्।
३२ वर्षीय अर्थविद् वली योभन्दा पहिले लुम्बिनी प्रदेश योजना आयोगका सदस्य थिए।
नेकपा (एमाले) बाट गोकुल घर्तीले उम्मेदवारी दर्ता गराएका छन्।