आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएसँगै एमाले उपाध्यक्ष गोकर्ण विष्ट गुल्मीबाट लगातार छैटौं पटक अर्थात् ‘डबल ह्याट्रिक’ उम्मेदवार बनेका छन्। २०५६ बाट सांसदका लागि चुनावी प्रतिस्पर्धामा उत्रेका उनी त्यसपछिका पनि सबै निर्वाचनमा उम्मेदवार भएका छन्।
उनी २६ वर्षदेखि निरन्तर प्रतिस्पर्धामा रहे पनि उनले प्रतिस्पर्धा गर्ने अन्य पार्टीबाट प्रायः सधैं नयाँ अनुहार हुने गरेका छन्। यो पटक पनि उनी नयाँ उम्मेदवारसँग नै प्रतिस्पर्धा गरिरहेका छन्।
एक लाख ७ हजार मतदाता रहेको गुल्मी २ मा अहिले एमालेबाट गोकर्ण विष्टले उम्मेदवारी दिँदा प्रतिस्पर्धी मानिएका कांग्रेसका भुवन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीले उम्मेदवारी दिएका छन्। उनीहरू दुवै जनाले प्रतिनिधिसभा तथा संघीय सांसदका लागि पहिलोपटक चुनावी प्रतिस्पर्धामा ओर्लिएका हुन्।
यसअघिका ५ वटा निर्वाचनमध्ये गोकर्णले ४ वटामा जित निकालेका छन् भने एउटामा हार ब्यहोरेका थिए। २०७० देखि लगातार तीन (२०७०, २०७४ र २०७९) ह्याट्रिक जित निकालेका थिए।
उम्मेदवारीमा डबल ह्याट्रिकसहित फेरि मैदानमा उत्रिएका गोकर्ण विष्टका लागि गुल्मीको चुनाव सधैंझैँ यसपटक पनि फरक–फरक अनुहारका नयाँ प्रतिस्पर्धीसँगको राजनीतिक परीक्षा बनेको छ।
२०४८ यताका सातवटा निर्वाचनमा साविकको गुल्मी ३ र हालको गुल्मी २ बाट एमालेले ५ पटक चुनाव जितेको छ। कांग्रेसले बहुमत ल्याएको २०४८ को निर्वाचनमा साविकको गुल्मी ३ बाट कांग्रेसले जितेको थियो। २०६४ मा माओवादीले बहुमत ल्याउँदा साविकको गुल्मी ३ बाट माओवादीले चुनाव जितेको थियो।
२०५१ सालको निर्वाचनमा साविकको गुल्मी ३ (जुन अहिले सबै भाग गुल्मी २ मा पर्छ) बाट एमालेका टंक पोखरेलले ५१ मतको साँघुरो अन्तरले जित निकालेका थिए। त्यतिबेला रूद्रमणि पनि प्रमुख प्रतिस्पर्धीमध्ये थिए। २०४८ को चुनावमा भने रूद्रमणिले टंकलाई हराएका थिए।
२०५६ को निर्वाचनमा कांग्रेस, एमाले दुवैले नयाँ उम्मेदवार उठाए। एमालेबाट ३४ वर्षीय गोकर्ण विष्ट पहिलोपटक निर्वाचनमा होमिएका थिए। कांग्रेसले भने जिल्ला पार्टी सभापति रहेका त्रैलोक्य प्रताप सेनलाई सो क्षेत्रबाट उम्मेदवार बनाएको थियो। उता २०५१ का विजेता टंक पोखरेल मालेबाट उम्मेदवार बनेका थिए।
यो चुनावमा निकटतम प्रतिद्वन्द्वी सेनलाई २२ सय मतले पछि पारेर विष्ट विजयी भएका थिए। त्यतिबेला विष्टले १८ हजार २० मत लिएका थिए भने सेनले १५ हजार ७६४ मत लिएका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनमा एमालेले उनै विष्टलाई उम्मेदवार बनायो। कांग्रेसले उम्मेदवार फेरेर सुरेशचन्द्र भुसाललाई बनायो। माओवादीले सो क्षेत्रमा चन्द्रबहादुर थापालाई उम्मेदवार बनाएको थियो। यो वर्ष चन्द्रबहादुर थापाले विष्टलाई २ हजार मतले पछि पारेर विजयी बने। थापाले १६ हजार ५८१ मत ल्याए, विष्टले १४ हजार ५४३ र भुसालले ९ हजार १३२ मत लिएका थिए।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेले फेरि गोकर्ण विष्टलाई उम्मेदवार बनायो भने माओवादी र कांग्रेसले उम्मेदवार फेरे। कांग्रेसले २०५६ का उम्मेदवार सेनलाई उम्मेदवार बनायो भने माओवादीले वामदेव क्षेत्रीलाई उम्मेदवार बनाएको थियो। यो पटक विष्ट १५ हजार १२ मतका साथ विजयी बनेका थिए। सेनले ८ हजार ७४५ र क्षेत्रीले ५ हजार २४२ मत प्राप्त गरेका थिए।
१६५ निर्वाचन क्षेत्रपछिको पहिलो चुनाव २०७४ सालमा वाम गठबन्धन गरेर एमाले–माओवादीले साझा उम्मेदवार बनाए। गठबन्धनको तर्फबाट विष्ट नै उम्मेदवार भए। कांग्रेसले चन्द्रबहादुर केसीलाई उम्मेदवार बनायो। यो पटक विष्टले ३४ हजार मत पुर्याएर विजयी हुँदा केसीले २० हजार मत ल्याएका थिए।
२०७९ को निर्वाचनमा एमालेले लगातार पाँचौं पटक विष्टलाई नै उम्मेदवार बनायो। यता कांग्रेस, माओवादी लगायतका पाँच दलले तत्कालीन एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीलाई उम्मेदवार बनायो। चुनावी परिणाममा विष्ट २८ हजार ४७३ मत ल्याएर विजयी बने भने झाँक्रीले २६ हजार ४११ मत ल्याएकी थिइन्।
अहिले गुल्मी २ बाट एमालेले छैठौं पटक विष्टलाई नै उम्मेदवार बनाएको छ। सधैंजस्तै यो पटक पनि उनीसँग प्रतिस्पर्धा गर्ने अनुहार भने फेरिएका छन्। कांग्रेसले जिल्ला पूर्व पार्टी सभापति भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उनी २०७४ को स्थानीय तह निर्वाचनमा रेसुंगा नगरपालिकामा मेयरका उम्मेदवार थिए। २०७९ को निर्वाचनमा प्रदेशसभामा उम्मेदवारी दिएका थिए। दुवै पटक एमाले उम्मेदवारहरूसँग हारेका थिए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीएसपी गोविन्द पन्थीलाई उम्मेदवार बनाएको छ।
एमाले नेताहरू यो पटक पनि गुल्मीमा विष्टलाई सजिलो हुने दाबी गर्छन्। तर, सधैं एउटै व्यक्ति भन्ने चुनौती भने रहेको उनीहरूको बुझाइ छ। ‘विगत हेर्दा यो पटक पनि निकै सहज छ। तर, जताततै अनुहार फेरिएको अवस्थामा सचेत हुनुपर्ने देखिन्छ,’ एक स्थानीय नेताले भने।