अरू क्षेत्रहरूमा जस्तै दाङको क्षेत्र नम्बर १ मा पनि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरगर्मी बढेको छ।
यहाँ १४ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। उम्मेदवारहरू घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन्।
विभिन्न दलबाट १२ जना र स्वतन्त्र २ जना गरी १४ जना उम्मेदवार चुनावी मैदानमा छन्।
नेपाली कांग्रेसले सहमहामन्त्री ५१ वर्षीय योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ।
नेकपा एमालेबाट ६८ वर्षीय रेवतीरमण शर्मा घिमिरे उम्मेदवार छन् भने नेपाली कम्युनिष्ट पार्टीबाट ५२ वर्षीय मेटमणि चौधरी उम्मेदवार छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका ६० वर्षीय देवराज पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३२ वर्षीय विनय केसी, राष्ट्रिय जनमोर्चाका ४४ वर्षीय गणेशप्रसाद आचार्य, नेकपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लुम्बिनीका पूर्वमुख्यमन्त्री ५५ वर्षीय कुलप्रसाद केसीलगायत १४ उम्मेदवार आ–आफ्नो प्रचार प्रसारमा व्यस्त छन्।
प्रतिस्पर्धा हुने आकलन गरिएका ४ जना उम्मेदवार भने एकै गढवा गाउँपालिकाका हुन्। कांग्रेसका योगेन्द्र चौधरी, नेकपाका मेटमणि चौधरी, रास्वपाका देवराज पाठक र राप्रपाका विनय जिसी गढवा गाउँपालिकाका स्थायी बासिन्दा हुन्।
उम्मेदवारमध्ये मेटमणिले यसअघिका दुई वटा निर्वाचन जितेका थिए। उनी गठबन्धनबाट साझा उम्मेदवार हुँदा जितेका थिए।
कांग्रेसले पहिलो पटक योगेन्द्रलाई उम्मेदवार बनाएको छ। उनी विगतमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चुनाव लडे पनि जितेका थिएनन्। त्यसबेला उनी सरकारी जागिर छाडेर थरूहट हुँदै राजनीतिमा आएका थिए।
२०६४ को संविधानसभा चुनावका बेला कांग्रेसका नेता विजयकुमार गच्छदार आफ्नो समूहसहित उपेन्द्र यादवको पार्टीमा गएका थिए।
योगेन्द्र त्यही समूहबाट समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए। यादव र गच्छदार मिलेर बनेको पार्टी फुटेपछि योगेन्द्र गच्छदारतिर लागेका थिए।
गच्छदार १० वर्षपछि ०७४ सालमा कांग्रेसमै फर्किए। उनीसँगै योगेन्द्र पनि कांग्रेस फर्किएका थिए। त्यसपछिको महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने पुसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बने।
यस्तो छ अघिल्लो निर्वाचनको स्थानीय तहको अंकगणित
दाङ क्षेत्र नम्बर १ मा चार वटा पालिका छन्।
घोराहीका ४ वडा वडा नं. १, २, ३ र ५ पनि क्षेत्र नम्बर १ मा पर्छन्।
यहाँका चार पालिकामध्ये लमही नगरपालिकामा मेयर र उपमेयर कांग्रेसले जितेको थियो।
राजपुर गाउँपालिकामा पनि मेयर र उपमेयर कांग्रेसले नै जितेको छ।
गढवा गाउँपालिकाको प्रमुख तत्कालीन नेकपा (माओवादी केन्द्र) ले र उपप्रमुख कांग्रेसले जितेको छ।
राप्ती गाउँपालिकामा पनि माओवादीले प्रमुख र उपप्रमुख एमालेले जितेको छ।
लमही नगरपालिकाका ९ वडामध्ये ८ वडामा कांग्रेसले जितेको छ। वडा नं. ५ मात्रै नेकपा (माओवादी केन्द्र) ले जितेको छ।
गढवा ८ वडामध्ये ५ र ७, राजपुरका ७ वडामध्ये २ र ४ र राप्ती गाउँपालिकाका ९ वडामध्ये वडा नं. ३ मात्रै मात्रै कांग्रेसले जितेको छ। कांग्रेसले कूल ३७ वडामध्ये सबैभन्दा बढी १३ वटा वडा जितेको छ।
त्यस्तै तत्कालीन माओवादीले लमही नगरको वडा नं. ५, राजपुरका ३, ६ र ७ नम्बर वडा, गढवाका २, ३, ४ र ६ र राप्ती गाउँपालिकाका २, ६, ८ र ९ वडा जितेको छ। माओवादीले कूल १२ वडा जितेको छ।
त्यस्तै एमालेले राप्तीका १,५,७ वडा, गढवाका १, ८ वडा, राजपुरका १,५ वडा र घोराहीका १, २, ३ र ५ वडा जितेको छ। एमालेले कूल ११ वडा जितेको छ। राष्ट्रिय जनमोर्चाले राप्ती गाउँपालिकाको वडा नं. ४ मा जितेको छ।
दाङ क्षेत्र नं. १ मा देउखुरीका ४ पालिकाका साथै घोराही उपमहानगरपालिकाको वडा नं. १,३, ४ र ५ नम्बर वडा पनि पर्छन्। यी सबै वडा एमालेले जितेको छ।
अब २०७९ को चुनावमा दलहरूले समानुपातिकतर्फ ल्याएको मत हेरौं।
नेकपा (एमाले) ले १७ हजार ९६९, नेपाली कांग्रेसले १५ हजार ६७, नेकपा (माआवादी केन्द्र) ले ११ हजार ४५२, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ४१०, नागरिक उन्मुक्ति पार्टीले ७ हजार १७९, नेकपा (समाजवादी) ले ३ हजार २१८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७९८, राष्ट्रिय जनमोर्चाले १ हजार ६१४, हाम्रो नेपाल पार्टीले ८२४ र जनता समाजवादी पार्टीले ५४४ मत ल्याएका थिए।
दाङ १ मा २०७९ मा जम्मा मतदाता १ लाख ३३ हजार ७३४ थियो। सदर मत ७३ हजार १४७ थियो। अघिल्लो निर्वाचन भन्दा हाल ५२६८ जना मतदाता थपिएका छन्।
२०७९ को प्रत्यक्षतर्फ बढी मत प्राप्त गरेका तीन जना उम्मेदवारमध्ये तत्कालीन नेकपा (एकीकृत समाजवादीका) मेटमणि चौधरीले २६ हजार ५ सय ७६ मत प्राप्त गरी निर्वाचित भएका थिए।
नेकपा (एमाले) की शान्ता चौधरीले २१ हजार ४९३ मत प्राप्त गरेकी थिइन्। त्यो बेला कांग्रेस–माओवादी–नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीका बीचमा चुनाबी गठबन्धन भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट त्यो बेला पनि देवराज पाठक नै उम्मेदवार थिए। पाठकले १३७९८ मत पाएका थिए। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ८०१९, राष्ट्रिय प्रजातन्त्र पार्टीका लीला बुढाथोकीले १४३९, हाम्रो नेपाल पार्टीकी गंगा चौधरी सत्गौंवाले १०९३ मत प्राप्त गरेकी थिइन्।
मेटमणि चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा गठबन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार इन्द्रजित थारु १ (क) र नेपाली कांग्रेसका अनुराग खड्का दाङको १ (ख) बाट निर्वाचित भएका थिए।
तत्कालीन माओवादीका इन्द्रजित थारूले १३ हजार ४१९ मत प्राप्त गर्दा एमालेका गंगाराम भट्टराईले ११ हजार ७८० मत मात्रै प्राप्त गरेका थिए। १ हजार ७८० मतान्तरले थारू विजयी भएका थिए।
त्यस्तै कांग्रेसका अनुराग खड्काले १६ हजार २२२ मत प्राप्त गर्दा एमालेका कुलबहादुर केसीले १३ हजार १७० मत प्राप्त गरेका थिए। लमहीका पूर्वमेयर केसीभन्दा खड्काले ३ हजार ५२ मत बढी प्राप्त गरेका थिए।
तर, यो पटक फरक परिस्थिति छ।
पूर्वमाओवादीको मत विप्लवका उम्मेदवार शाही र पूर्वमुख्यमन्त्री केसीको स्वतन्त्र उम्मेदवारीले गर्दा नेकपा उम्मेदवार मेटमणिको मत घट्ने चर्चा छ। त्यसको फाइदा अरू उम्मेदवारले उठाउन सक्छन्।