२०७२ सालमा संविधान जारी भएपछि दुई वटा चुनावमा प्रमुख राजनीतिक दलहरूले गठबन्धन गरेर प्रतिस्पर्धा गरे।
गठबन्धनकै आडमा दल र उम्मेदवारले सफलता पनि प्राप्त गरे।
मुलुकभरका १६५ मध्ये बहुसंख्यक क्षेत्रमा गठबन्धनका उम्मेदवार जित्थे। तर केही क्षेत्र यस्ता थिए, जहाँ गठबन्धनका उम्मेदवार दुई पटक नै पराजित भए।
२०७४ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार ऋषिकेश पोखरेललाई हराउँदै नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल जितेका थिए।
२०७९ मा कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनबाट उम्मेदवार रहेकी सुजाता कोइरालालाई एमालेका पोखरेलले हराएका थिए।
यसरी मोरङ २ का मतदाताले २०७४ र २०७९ दुवै पटक गठबन्धनका उम्मेदवारलाई अस्वीकार गरेका थिए।
चुनावअघि नै गठबन्धन गरेर निर्वाचनको मैदानमा होमिने अभ्यासमा यसपटक रोक लागेको छ। प्रमुख दल एक्ला–एक्लै चुनावी प्रतिष्पर्धामा छन्।
पछिल्ला दुई निर्वाचनमा गठबन्धन गरेका दलहरूलाई हराइदिँदै आएका मोरङ २ का मतदाताले यसपटक एक्ला–एक्लै भिडिरहेकामध्ये कुन उम्मेदवारलाई जिताउलान्?
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ २ मा राजनीतिक दल र स्वतन्त्र गरी १७ जना उम्मेदवार प्रतिष्पर्धामा छन्।
एमालेबाट दिलीप बगडिया (अग्रवाल), कांग्रेसबाट मिनेन्द्र रिजाल, नेपाली कम्युनिष्ट पार्र्टीबाट चन्द्रवीर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णकुमार कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कंसराज राजवंशी उम्मेदवार छन्।
साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट मेघेन्द्रकुमार रोक्का, जनता समाजवादी पार्टी (जसपा) बाट विनोदकुमार सिंह गनगाई, जनमत पार्टीका घनश्याम चौधरी, मंगोल नेशनल अर्गनाइजेसनका धनबहादुर लिम्बु, श्रम संस्कृति पार्टीका अबुहो रैरह उम्मेदवार छन्।
यो क्षेत्रमा एमाले, कांग्रेस, नेकपा र रास्वपा लगायतका मुख्य दलबीच चुनावी प्रतिस्पर्धा हुने चर्चा छ।
२०७९ मा यो क्षेत्रबाट जितेको एमालेले त्यसबेलाका विजेता ऋषिकेश पोखरेललाई टिकट नदिएर रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) लाई उम्मेदवार बनाएको छ।
२०७४ मा माओवादीबाट मेयर जितेका बगडिया २०७९ मा एमाले प्रवेश गरेर पुनः मेयर दोहोरिएका नेता हुन्।
मोरङका उद्योगीसमेत रहेका बगडियाले त्यसबेला पार्टी फेरेर आफू मेयर मात्रै जितेनन्, रंगेली नगरका कूल ४७ मध्ये ४६ जना जनप्रतिनिधि एमालेकै जिताएका थिए।
एक जना सदस्य जसपाले जित्दा रंगेलीमा कांग्रेस सदस्यविहीन बनेको थियो।
रंगेलीमा देखाएको त्यही एकछत्र व्यक्तिगत प्रभाव उनले अहिले टिकट पाउने एउटा आधार बन्यो।
त्यसबाहेक एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध, यसअघिका सांसद ऋषिकेश पोखरेल पत्नी अन्जला सहकारी ठगी विवादमा मुछिँदा पोखरेल आफै विवादित बनेपछि बगडिया एमाले उम्मेदवार बन्न सफल भए।
२०७४ मा वाम गठबन्धनलाई हराउँदै मोरङमा कांग्रेसलाई जितविहीन हुनबाट जोगाएका मिनेन्द्रले २०७९ मा भने टिकट नै पाएका थिएनन्। एक्लै २०७४ मा जितेका उनलाई गठबन्धन हुँदा तत्कालीन सभापति शेरबहादुर देउवाले टिकट दिएका थिएनन्।
देउवाले सुजातालाई टिकट दिएका थिए। एक्लै जितेको क्षेत्रमा गठबन्धन हुँदा पनि कांग्रेसकी सुजाता जित्न सकिनन्।
यसपटक सभापति गगन थापाले मिनेन्द्रलाई नै टिकट दिए। थापा विशेष महाधिवेशनको पक्षमा उभिँदा मिनेन्द्र विपक्षमा थिए। तैपनि थापाले मिनेन्द्रलाई उम्मेदवार बनाए।
२०७४ को निर्वाचनमा मोरङ २ बाट मिनेन्द्रले ३५ हजार ८ सय १९ मत प्राप्त गरेका थिए।
वाम गठबन्धनका एमाले उम्मेदवार ऋषिकेश पोखरेल ३४ हजार १४ मतसहित दोस्रो भएका थिए। जसरी कुनैबेला झापालाई एमालेको किल्ला मानिन्थ्यो, छिमेकी मोरङ कांग्रेसको त्यस्तै सुरक्षित गढ मानिन्थ्यो।
२०२८ सालको झापा आन्दोलनको जगमा निर्माण भएको पार्टी भएकाले एमालेलाई झापामा सुरक्षित मानिँदा बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाहरूको गृहजिल्ला मोरङलाई कांग्रेसको गढ ठानिन्थ्यो।
तर २०७४ को वाम गठबन्धन सामु मोरङमै कांग्रेस निरिह भएको थियो। नेता शेखर कोइराला र महेश आचार्यलगायत पराजित भएका थिए भने मिनेन्द्र रिजालले मोरङ कांग्रेसको साख रक्षा गरेका थिए।
त्यसबेला मोरङ २ कांग्रेसको ‘परम्परागत किल्ला’ भनेर प्रचार भयो। कांग्रेसले गरेको यस्तो प्रचार २०७९ को निर्वाचनमा खण्डित भयो। एमाले र माओवादी मिलेर बनेको नेकपा तीन टुक्रा भइसकेको थियो। त्यो तीनमध्ये दुई समूह माओवादी र एकीकृत समाजवादीसँग कांग्रेसले चुनावी गठबन्धन गरेको थियो।
त्यो निर्वाचनमा एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मतसहित विजेता बन्दा कांग्रेसकी सुजाता कोइराला ३१ हजार ९४० मतसहित दोस्रो बनेकी थिइन्।
रास्वपाका ठगेन्द्रप्रसाद न्यौपाने ४ हजार ९८७ मत ल्याएर तेस्रो बनेका थिए।
यसपटक रास्वपाबाट मोरङ २ मा उम्मेदवार बनेका कृष्ण कार्की सुरूमै विवादमा मुछिएका छन्। भदौ २४ मा संसद् भवनमा आगजनी हुँदा संलग्न भएको तस्बिर उनले फेसबुकमा राखेका थिए। त्यो तस्बिर अहिले मोरङमा 'भाइरल' भएको छ।
त्यसबाहेक वैदेशिक रोजगारीका क्रममा जापानमा रहँदा उनले फेसबुकबाटै रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको लेखेको स्टाटस पनि अहिले छ्याप्पछ्याप्ती बनेको छ।
नेकपाबाट उम्मेदवार बनेका चन्द्रवीर राई मोरङका पुराना वाम नेता हुन्।
उमेरले पाका उनी माओवादीसँग एकता हुनुअघिसम्म उनी एकीकृत समाजवादीको मोरङ अध्यक्ष थिए।
२०७९ को समानुपातिक मतको नतिजा पनि यहाँ एमालेकै पक्षमा बढी देखिएको थियो।
एमालेले सबैभन्दा धेरै २७ हजार ९१४ मत पाउँदा काँग्रेसले २३ हजार ३९५, माओवादीले ७ हजार ५३७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ३०१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ८६६ र जनता समाजवादी पार्र्टी नेपालले १ हजार १८१ मत प्राप्त गरेका थिए।
झापासँग साँध जोडिएको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे नगरपालिकाको ५ र ६ नम्बर वडा, कानेपोखरी गाउँपालिकाको १, २ र ३ नम्बर वडा र रंगेली नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाहरू मोरङ २ मा पर्छन्।
यसपटक यहाँ १ लाख २९ हजार १ सय ८४ मतदाता छन्।