२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनविरूद्ध खडा भएका नेपाली कांग्रेसका धेरै 'हेभिवेट' नेताहरू पराजित भएका थिए। तिनैमध्येका एक थिए, महेश आचार्य।
२०४८ मा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बने यता आचार्य नेपालको राजनीतिक वृत्तमा सधैंजसो चर्चामै रहिरहे।
प्रखर वक्ता, अर्थतन्त्रका विज्ञ, निष्ठा र विचारवान नेताको पहिचान बनाएका आचार्य २०५६ र २०७० को निर्वाचनका विजेता थिए। २०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका उनी पटकपटक मन्त्री र एक पटक राष्ट्रियसभा सदस्य बनेका थिए।
उनै आचार्य २०७४ मा मोरङ–४ बाट उम्मेदवार थिए। यसै पनि मोरङलाई कांग्रेसको सुरक्षित थलो मानिन्थ्यो, आचार्यले जित्दै आएका कारण तुलनात्मक रूपमा सुरक्षित ठानिन्थ्यो।
एमाले र माओवादी मिलेर चुनाव लडेको त्यो निर्वाचनमा कांग्रेस मुलुकभरी नै खुम्चियो।
प्रत्यक्षतर्फ जम्मा २३ सिट मात्रै जितेको कांग्रेसले मोरङमा मिनेन्द्र रिजाललाई मात्रै जिताउन सक्यो। मोरङ २ मा रिजाल जित्दा ६ मा शेखर कोइराला पनि पराजित भए। मोरङ–४ मा महेश आचार्य वाम गठबन्धनका माओवादी उम्मेदवार अमनलाल मोदीसँग पराजित भएका थिए।
त्यसबेला मोदीले ३३ हजार ५२९ मत प्राप्त गर्दा कांग्रेस नेता आचार्य २६ हजार ८ सय मतमा सीमित बनेका थिए।
यसरी कांग्रेसका हेभिवेट नेता आचार्यलाई पराजित गरेपछि माओवादी नेता मोदीको राजनीतिक यात्रा चर्चायोग्य बन्दै अघि बढ्यो।
त्यसको पाँच वर्षपछि २०७९ मा भएको निर्वाचनमा आफू मोरङ–४ बाट अन्तिमपटक चुनाव लड्ने योजनामा थिए आचार्य।
उनले यो इच्छा सार्वजनिक रूपमै प्रकट गरेका थिए। तर, कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूले गठबन्धन बनाएर निर्वाचन लड्दा यो क्षेत्र माओवादीको भागमा पर्यो।
अघिल्लो चुनावको विजेताले क्षेत्र नछाड्ने सहमति अनुसार कांग्रेसले माओवादीकै मोदीलाई सहयोग गर्यो। गठबन्धनको बलमा मोदीले फेरि निर्वाचन जिते। मोदीले ३० हजार ६१२ मत प्राप्त गरेर जित हात पार्दा एमालेका विनोद ढकालले २४ हजार ४६३ मत पाएका थिए।
२०७९ मा मोरङ–४ मा ७ हजार ४६८ मत पाएर राप्रपा तेस्रो बन्दा रास्वपाका नेत्र शिवाकोटी चौथो बनेका थिए। उनले ५ हजार ३३३ मत पाएका थिए।
यसअघिका दुईटा निर्वाचन गठबन्धनको बलमा जितेका मोदी यसपटक पनि यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छन्। अहिले धेरैवटा वाम घटक मिलेर बनेको नेकपा एक्लैबाट चुनाव लड्नुपर्ने चुनौती मोलिरहेका मोदीले यसपटक पनि हेभिवेट प्रतिष्पर्धीहरूको चुनौती झेल्नुपर्नेछ।
कांग्रेस महामन्त्री गुरूराज घिमिरे पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन्।
विशेष महाधिवेशनबाट महामन्त्री बनेका घिमिरे २०७९ मा प्रदेशसभामा पराजय सहेका नेता हुन्। एमालेबाट कोशीका पूर्वमन्त्री जीवन घिमिरे उम्मेदवार छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सन्तोष राजवंशीलाई उम्मेदवार बनाएको छ।
यसअघिका दुईटा निर्वाचनमा ठूला दलहरूले गठबन्धन गरेको र उनीहरूको परम्परागत भोट बैंक सुरक्षित देखिएका कारण धेरैले जीतबारे सहजै पूर्वानुमान लगाउँथे। यसपटक दलहरू एक्लाएक्लै भिडिरहेका छन्। त्यसैले कसको पल्लाभारी छ भन्ने पूर्वानुमान कठिन बनेको छ।
यसबीचमा स्थापित दलहरूलाई चुनौती दिन भन्दै नयाँ पार्टीहरू पनि चुनावी मैदानमा छन्। पुराना र नयाँ दलका चर्चित उम्मेदवारहरू मैदानमा रहेका कारण मोरङ–४ को प्रतिष्पर्धा रोचक हुने देखिन्छ।
यो क्षेत्रमा यसपटक कूल २० जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए। उनीहरूमध्ये कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका विनोद परियार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका कारण उनको उम्मेदवारी रद्द भयो। अब १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा कायम छन्।
ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका, बेलबारी नगरपालिकाको ५, ६ र ७ नम्बर वडा र विराटनगर महानगरपालिकाको १, २, ३, ८ र १० नम्बर वडा समेटिएको मोरङ–४ मा यसपटक कूल १ लाख १९ हजार २५५ जना मतदाता छन्।
अघिल्लो निर्वाचनको समानुपातिकमा यो क्षेत्रमा कांग्रेस पहिलो बनेको थियो। २०७९ मा कांग्रेसले सबैभन्दा बढी १९ हजार ५५५ मत पाएको थियो। दोस्रोमा एमालेले १८ हजार ३८६ मत प्राप्त गर्दा माओवादीले ९ हजार ७६० मत पाएर तेस्रो भएको थियो।
त्यस्तै राप्रपा ७ हजार ८४६ मतसहित चौथो र ७ हजार २७० मतसहित रास्वपा पाँचौं भएको थियो।
नेकपाका उम्मेदवार अमनलाल मोदी यो क्षेत्रबाट जीतको ह्याट्रिक गर्न चाहन्छन्। कांग्रेसका महामन्त्री गुरूराज घिमिरे पहिलोपटक संघीय चुनाव लड्दैछन्। कांग्रेसमा लामो समयदेखि रूपान्तरणको बहस छेड्दै आएका उनले यसपटक कांग्रेसमा विद्रोहको अगुवाइ गरेका थिए। फलस्वरूप विशेष महाधिवेशनले उनलाई महामन्त्री चुनेको थियो। अघिल्लो चुनावमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएका कारण त्यो मत जोगाउन सके जीत हात पार्ने आशा कांग्रेसमा देखिन्छ।
२०७४ मा कोशीको सामाजिक विकासमन्त्री हुँदा कामकाजी मन्त्रीको छवि बनाएका एमालेका जीवन घिमिरे २०७९ को प्रदेशसभा चुनावमा पराजित भएका थिए। त्यसबेला कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनसँग एमाले एक्लै लडेको थियो। २०७९ मा यो क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ दोस्रो धेरै मत पाएको र मतान्तर धेरै नभएका कारण त्यो मतान्तर घटाउन सकिने आशामा एमाले देखिन्छ।
स्थापित र पुराना दलहरूसँग आक्रोशित मत आफूले पाउने आशामा रास्वपा देखिन्छ। यद्यपि यही क्षेत्रमा काम गरिरहेका पुराना कार्यकर्ताहरूबाट उम्मेदवार नबनाएको भन्ने असन्तोष रास्वपामा देखिन्छ।
यसरी भिन्न–भिन्न दाउसहित दलहरू र स्वतन्त्र उम्मेदवारहरू मोरङ–४ मा जीत हात पार्ने दौडमा छन्। उनीहरूमध्ये कसले सफलता पाउला त्यसका लागि फागुन २१ को जनादेश कुर्नपर्नेछ।