इरानको आणविक कार्यक्रम स्थगनबारे पटक पटक भएको वार्ता सकारात्मक नबनेपछि अमेरिकाले मध्यपूर्वमा थप सैन्य शक्ति तैनाथ गर्ने तयारी गरेको छ।
गत साता ओमानमा तेहरानको आणविक कार्यक्रमबारे अमेरिकी र इरानी अधिकारीबीच वार्ता भएको थियो। त्यसमा ठोस सहमति नभएपछि अमेरिकाले मध्यपूर्वमा थप सैन्य शक्ति तैनाथ गर्न लागेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुटनीतिक तवरबाटै इरानलाई सहमतिमा ल्याउन अमरिकाको प्रयत्न हुने बताउँदै आएका छन्। सहमति नभए आक्रमणको विकल्प पनि अमेरिकासँग रहेको उनको भनाइ छ।
त्यसो नभए इरानका लागि परिणाम अत्यन्तै पीडादायी हुने भनेर पनि चेतावनी दिएका थिए।
उत्तर क्यारोलिनास्थित एक सैन्य अड्डामा अमेरिकी सैनिकहरूलाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्न कठिन भएको ब्रिफिङ गरेका थिए।
‘कहिलेकाहीँ डर आवश्यक हुन्छ। डर त्यस्तो हतियार हो जसले प्रतिकूल अवस्था नियन्त्रणमा ल्याउँछ,’ उनले सेनालाई सम्बोधन गर्ने क्रममा भनेका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पेन्टागनले मध्यपूर्वमा थप एउटा विमानवाहक युद्धपोत पठाउने निर्णय गरिसकेको छ।
त्यससँगै हजारौँ थप सैनिक, लडाकु विमान, निर्देशित क्षेप्यास्त्र बोकेका विनाशक युद्धपोत लगायत आक्रमण र प्रतिरक्षाका लागि सक्षम सैन्य साधनहरू तैनाथ गरिँदै छन्।
गत वर्षको जुलाइमा अमेरिकाले इरानका आणविक भट्टीहरूलाई लक्ष्य गर्दै मिडनाइट ह्यामर नाम दिएर अपेरसन सञ्चालन गरेको थियो। त्यतिबेला अमेरिकी सेनाले इरानका तीन वटा आणविक भट्टीहरूमा शक्तिशाली बम खसालेको थियो।
यसपलिको योजना त्यो भन्दा ध्वंसात्मक रहने भनेर ह्वाइट हाउसका अधिकारीहरूले रोयटर्ससँग बताएका छन्।
यसपालिको आक्रमणमा अमेरिकाले आणविक पूर्वाधार मात्र नभई इरानी राज्य तथा सुरक्षा संयन्त्रका संरचनाहरूलाई समेत निशाना बनाउन सक्ने भनेर ती अधिकारीले विस्तृत विवरण नदिई भनेका छन्।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले पनि अमेरिकाले युएसएस जेराल्ड फोर्ड नामको लडाकू विमानवाहक युद्धपोत मध्यपूर्वमा पठाउने तयारी भइरहेको जनाएको छ।
यो युद्धपोत केही महिनादेखि क्यारेबियन सागर क्षेत्रमा थियो। भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरलाई उनकै निवासबाट पक्राउ गरेर अमेरिका ल्याउने अपरेसनमा पनि यो युद्धपोत संलग्न थियो भनेर सिएनएनले लेखेको छ।
गत महिना मात्रै अमेरिकाले इरानतर्फ युएसएस अब्राहम लिंकन नाम गरिएको युद्धपोत तैनाथ गरेको थियो।
युएसएस जेराल्ड फोर्ड अब युएसएस अब्राहम लिंकनसँगै मिसिनेछ।
सम्भावित आक्रमणको तयारीबारे रोयटर्सले ह्वाइट हाउसकी प्रवक्ता एना केलीलाई पनि सोधेको छ।
उनले राष्ट्रपतिसँग सबै विकल्प खुला छ भनेर जबाफ दिएकी छन्। यद्यपि सबै पक्षको सुझाव सुनेर राष्ट्रिय सुरक्षा र देशको हितअनुसार अन्तिम निर्णय स्वयम् राष्ट्रपति ट्रम्पले लिने उनले बताएकी छन्।
पेन्टागनले भने यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
रोयटर्सले ह्वाइट हाउसकै दुई अधिकारीहरूलाई उद्धृत गरेर अमेरिकी सेना तयारी अवस्थामा रहेको र राष्ट्रपति ट्रम्पको आदेश कुरिरहेको भनेर लेखेको छ।
इरानसँग पनि ठूलो संख्यामा क्षेप्यास्त्र भण्डार रहेकाले अमेरिकी सेनामाथि जोखिम उच्च हुने भनेर पनि विश्लेषकहरूले बताएका छन्।
इरानको प्रतिकारात्मक आक्रमणले क्षेत्रीय द्वन्द्व फैलिने सम्भावना पनि बढाउन सक्छ।
एक अधिकारीले अमेरिकाले इरानबाट प्रतिकार हुने पूर्ण अपेक्षा गरेको र त्यसले केही समयसम्म आक्रमण–प्रत्याक्रमणको श्रृंखला निम्त्याउन सक्ने बताए।
इरानको रिभोलुसनरी गार्ड्सले इरानी भूमिमा आक्रमण भए मध्यपूर्वका जुनसुकै अमेरिकी सैन्य अड्डालाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ।
जोर्डन, कुवेत, साउदी अरेबिया, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र टर्कीमा अमेरिकाका सैन्य अड्डाहरू छन्।