निर्वाचन डिस्प्याच
काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले माघ दोस्रो साता राखेको एउटा प्रस्तावले राजनीतिक वृत्त तरंगित भयो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्री उम्मेदवार समेत रहेका बालेनले मानव–वन्यजन्तु द्वन्द्व समाधान गर्न मान्छे र जनावरलाई सँगसँगै राख्न नहुने तर्क अघि सारे।
मकवानपुरका रास्वपा उम्मेदवारको टोलीसँग छलफलमा बालेनले जंगलको छेउछाउ बसिरहेका समुदायलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गरे।
'नेपाल सरकारको नीति यस्तो हुनुपर्छ कि जंगल छेउछाउका गाउँलेलाई सार्ने हो,' उनले भनेका थिए, 'मान्छेलाई जनावरसँग राख्न भएन।'
मकवानपुरका उम्मेदवार टोलीले जंगल बढेको तर्क गरेपछि बालेनले जंगल बढ्नु र जनावर बढ्नु राम्रो भएको बताएका थिए। जंगल छेउछाउ बस्नेहरूको पाँच आना, एक रोपनी जति जग्गा भए त्यसको मूल्यांकन गरेर सुरक्षित स्थानमा पुनर्स्थापना गर्नुपर्ने उनको भनाइ थियो।
बालेनको यो प्रस्तावमा उपस्थित पार्टी नेता–कार्यकर्ता मौन देखिए।
मान्छे र वन्यजन्तु सँगसँगै राख्न नहुने बालेनको तर्क चितवनको माडीबाट हेर्दा मेल खाँदैन।
राप्ती नदी पार गरेपछि पुगिने माडी नगरपालिकाका बासिन्दाका लागि वन्यजन्तु र मानवबीचको द्वन्द्व विगत लामो समयदेखि समाधान हुन नसकेको समस्या बन्दै आएको छ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडीमा बाघ, हात्ती, गैंडा लगायत वन्यजन्तु बस्ती छिर्नु सामान्य भइसकेको छ।
माडी–१ सेरूवाका ६२ वर्षीय लालबहादुर विश्वकर्माले आफ्नो जीवनको अधिकांश समय यही त्राससँग बिताएका छन्। निर्वाचनका बेला उम्मेदवारहरू वन्यजन्तु व्यवस्थापनका सपना देखाउन आए पनि कहिल्यै यथार्थमा परिणत नभएको लालबहादुर बताउँछन्।
'चुनावैपिच्छे नेताहरू आउँछन्, जंगली जनावर रोक्ने योजना सुनाउँछन्,' उनले भने, 'जितेपछि देखिँदैनन्।'
गत वर्ष मात्र लालबहादुरका दुई वटा खसी र दुई वटा बाख्रा बाघले खायो। बाघले मारेका खसी र बाख्रा त्यही ठाउँमा छाड्न निकुञ्जका कर्मचारीले भने। लालबहादुरले पनि त्यसै गरे।


भोलिपल्ट फेरि बाघ आयो। अघिल्लो दिन मारेका बाख्रा खाएर त्यही ठाउँमा बस्यो। बस्ती नजिकै बाघ बसेपछि गाउँले त्रसित भए। नेपाली सेनाको टोलीले डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएर अन्यत्र लग्यो।
सरकारले वन्यजन्तुबाट भएको क्षतिको क्षतिपूर्ति दिने व्यवस्था गरेको छ। तर सरकारी झन्झटले क्षतिपूर्ति माग दाबी गर्न दिनहुँ धाउनुपर्ने बाध्यता भएको लालबहादुर बताउँछन्।
'१० हजार रूपैयाँको बाख्रा खाँदा पाँच हजार रूपैयाँ पाइन्छ,' उनले भने, 'त्यो पाउन १५ चोटि सरकारी अड्डा धाउनुपर्छ।'
बाघले घरपालुवा जनावर मात्र होइन, कहिलेकाहीँ मानिसमाथि पनि आक्रमण गर्छ। माडीबासीका आँखामा अहिले पनि बाघको आक्रमणमा परेका कयौं स्थानीयको दृश्य आउँछ, जसले उनीहरूलाई त्रसित बनाउँछ।
केही वर्षअघि जंगलमा घाँस–दाउरा गर्न गएका दुई जना स्थानीयको बाघको आक्रमणमा मृत्यु भयो।
'कुन बेला के हुन्छ भनेर थाहा नै हुँदैन,' लालबहादुरले भने, 'सधैं डरैडरमा बस्नुपर्छ।'
वन्यजन्तुलाई गाउँ आउन नदिने उपाय उनीहरूले उम्मेदवारहरू समक्ष राख्ने गरेका छन्।
माडीकी कमला ढकाल २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई जिताउन लागिपरिन्।
प्रचण्डले त्यति बेला वन्यजन्तु नियन्त्रणका कुरा मात्र गरेनन्, माडीलाई 'मणि' बनाउने आश्वासन पनि दिए।
चुनाव जितेर प्रचण्ड प्रधानमन्त्री भए। प्रधानमन्त्री भएपछि माडीबासीको दुःख हरण हुने कमलाको आशा थियो।
'यहीँबाट जितेका प्रचण्ड प्रधानमन्त्री हुनुभयो, तर फर्केर हेर्नुभएन,' उनले भनिन्, 'माडीमा अहिले अरू केही चाहिएको छैन, जंगली जनावरबाट सुरक्षा चाहियो।'
अहिले कमला रास्वपा उम्मेदवार सोविता गौतमलाई जिताउने भन्दै घरदैलो गरेकी छिन्। माडीमा भैंसी पालेकी कमलाले वन्यजन्तु नियन्त्रण गर्न रास्वपासँग पनि माग राखेको बताइन्।
'पुरानालाई धेरै जिताइयो, केही गरेनन्,' उनले भनिन्, 'नयाँले केही गर्छ कि, एक पटक हेरौं।'
माडी नगरपालिका चितवन क्षेत्र नम्बर– ३ मा पर्छ जहाँ नेपाली कांग्रेसबाट टेकप्रसाद गुरूङ, एमालेबाट शंकरराज थपलिया, नेकपाबाट रेनु दाहाल, रास्वपाबाट सोविता गौतम, राप्रपाबाट दीपक थापा मगर लगायत उम्मेदवार छन्।
लालबहादुर र कमला दुवैले चितवन राष्ट्रिय निकुञ्जबाट गाउँलेको जमिन जोडिएको सिमानामा बार लगाउनुपर्ने धारणा राख्छन्। यसरी बार लगाउँदा वन्यजन्तु गाउँ आउन नपाउने र खेतबारीमा पनि आउन नसक्ने उनीहरू ठान्छन्।
चितवनको पुरानो बस्ती बसेको माडीवासी आफ्नो थातथलो छाडेर अन्यत्र स्थानान्तरण हुन भने चाहँदैनन्।
'हामीलाई यहाँबाट अन्त लगेर राख्ने भनेको कुरा नै गलत छ। किनभने हाम्रो उब्जाउ जमिन र पुस्तौंदेखिको बसोबास छाड्न सक्दैनौं,' लालबहादुर भन्छन्।
कमला पनि आफ्नो मत रास्वपालाई दिए पनि रास्वपाकै वरिष्ठ नेता बालेनले भनेझैं स्थानान्तरण हुने कुरा गलत भएको धारणा राख्छिन्।
किनभने, बालेनले भनेझैं माडीवासीसँग ५ आना वा एक रोपनी मात्र जमिन छैन। उनीहरू खेतीपाती गरेर, पशुपंक्षी पालेर नै आयआर्जन गर्छन्। आफ्नो परिवारका लागि मात्र नभएर बेचविखन गर्न पनि खेतीपाती गर्छन्।
माडीको उब्जाउ र आयआर्जनको सम्भावनाले नै उक्त ठाउँमा मानिसको आकर्षण रहेको लालबहादुर बताउँछन्।


वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल माडीवासीलाई स्थानान्तरण गर्न भन्दा प्रकृतिसँग सहअस्तित्व कायम गरेर जानुपर्ने बताउँछन्।
चितवन राष्ट्रिय निकुञ्ज संरक्षण गर्न स्थानीय आदिवासीको महत्वपूर्ण योगदान रहेको भन्दै उनले वन, वन्यजन्तु र मान्छेबीच सहअस्तित्व कायम गर्नु नै उपयुक्त विकल्प भएको बताए।
'प्रकृतिबाट मानिसलाई अलग गर्नुभन्दा पनि सहअस्तित्व कायम गर्नुपर्छ,' उनले भने, 'वन, वन्यजन्तु र मान्छेवीच अस्तित्व स्वीकार गरेर समस्याको समाधान गर्नुपर्छ।'
स्थानीयवासीले माग गरे जस्तै तारबार गरेर वन्यजन्तुलाई गाउँ आउन नदिने उपाय यसअघि पनि लागू गरेको महेश्वरले बताए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वप्रमुख समेत रहेका उनले यसअघि लगाइएका तारबार बाढीले बगाउने, पुरानो भएर मक्किने र चुँडिने समस्या भएको बताए।
'एक पटक लगाएको तारबार २, ३ वर्षपछि मक्किने, बाढीले बगाउने समस्या छ। फेरि तारबार लगाउने गरी समस्या समाधान गर्न सकिन्छ,' उनले भने, 'तारबार भत्किएपछि फेरि बनाउनेतर्फ ध्यान दिनुपर्छ।'
चितवन राष्ट्रिय निकुञ्जको वन र वन्यजन्तु संरक्षण गर्न माडीबासीले धेरै योगदान दिए पनि राज्यका तर्फबाट लगानी कम भएको उनी बताउँछन्।
स्थानीयको आयआर्जन र सीप विकास गर्न सके माडीबासीको समस्या समाधान गर्न टेवा पुग्ने उनको महेश्वरको भनाइ छ।
'माडीका आदिवासीले निकुञ्ज संरक्षण गरेका छन्। सीमा सुरक्षामा पनि उनीहरूको ठूलो योगदान छ,' उनले भने, 'माडीवासीलाई राज्यका तर्फबाट लगानी बढाउनुपर्छ। गाउँलेलाई अन्यत्र सार्ने कुरा उचित देखिँदैन।'