प्रधानमन्त्री सुशीला कार्कीले आफू बोल्दा बोल्दै एक जना प्रहरी महानिरीक्षक (आइजिपी) ले हप्काएको बताएकी छन्।
राष्ट्रिय समाचार समिति (रासस) की कालिका खड्कासँग अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले नाम नखुलाइकन एक आइजिपीले आफूलाई हप्काएको बताएकी हुन्।
'… त्यत्रो आन्दोलन भयो। त्यो परिस्थितिबाट अहिलेको परिस्थितमा मुलुकलाई त ल्यायौँ नि। एउटा आइजिपीले मलाई हप्काएको थियो, बोल्दाबोल्दै। यो सबै संघर्ष त थियो नि,' उनले भनिन्।
पढ्नुस्ः बालेनले प्रधानमन्त्री कार्कीसँग भेटेर पहिलोपटक उठाएका थिए ओली र लेखकलाई पक्राउ गर्ने विषय
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहँदा नेपाल प्रहरीमा दुई जना आइजिपी भएका थिए।
कार्की प्रधानमन्त्री हुँदा चन्द्रकुवेर खापुङ आइजिपी थिए। उनको कार्यकाल सकिएपछि दानबहादुर कार्की आइजिपी छन्।
त्यस्तै सशस्त्र प्रहरीतर्फ राजु अर्याल आइजिपी छन्। सशस्त्रमा आइजिपी परिवर्तन भएको छैन।
प्रधानमन्त्री कार्कीले आइजिपीले हप्काएको प्रसंग विस्तृतमा नबताए पनि असोज तेस्रो साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जाहेरी परेपछि प्रहरीमाथि दबाब बढेको थियो।
दबाबपछि सुरक्षा निकायका प्रमुखहरू बालुवाटार पुगेर प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतसँग बैठक गरेका थिए।
बैठकमा चर्काचर्की भएको थियो।
ओली र लेखकलाई पक्राउ गर्न काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाहले पनि प्रधानमन्त्री कार्कीलाई दबाब दिएका थिए।
यो पनिः ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझ्यो, पठायो जाँचबुझ आयोगलाई
केपी ओलीले चुनाव हार्नुहोला भन्ने सोचेको थिइनँ
प्रधानमन्त्री कार्कीले चुनावमा ‘नसोचेको कुरा भएको’ पनि बताएकी हुन्।
‘पुराना दलले पनि आत्तिनुपर्दैन। नयाँले मात्तिनु पर्दैन। हामीले पनि नसोचेको भयो। मैले त ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ। उहाँको ३०/४० वर्ष राजनीति गरेको ठाउँ, उहाँको इष्टमित्र सबै भएको ठाउँ हो’, कार्कीले भनेकी छिन्, ‘अन्तिममा भेट्दा मैले ओलीजीलाई भनेको थिएँ। राजनीतिमा कस्तो हुन्छ भने मेरा परिवारका मानिस पनि कांग्रेस छन्। वर्षभरि पार्टीलाई धारे हात लाउँछन् तर भोट दिनेबेलामा त्यसैलाई दिन्छन्। तपाईंलाई भोट दिन्छन् भनेको थिएँ। त्यस्तो होला भन्ने त मलाई पनि लागेको थिएन।’
विपक्षीले पाएको थोरै मतलाई पनि रास्वपाले सम्मान गर्नुपर्ने प्रधानमन्त्री कार्कीले बताएकी छन्।
'राजनीतिमा निर्वाचन नभएसम्म यो पार्टी र त्यो पार्टी हुन्छ। निर्वाचनपछि अल्पमतलाई पनि जित्नेले बेवास्ता गर्नुहुँदैन’, कार्कीले भनेकी छिन्, ‘पुराना पार्टीलाई रास्वपाले सम्मान गर्नुपर्छ। सत्तापक्षले गलत गरेमा प्रतिपक्षले विरोध गर्नुपर्छ। राजनीति भनेको सामाजिक सेवा हो। भारतमा इन्दिरा गान्धीले त्यसैगरी हार्नुभएको थियो, पछि जित्नुभयो। नेपालका परिपक्व भएका नेतालाई जनताले बिर्सिँदैनन्। आज एउटा लहर आएको हो, भोलि अर्को आउन पनि सक्छ।’
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष ओली राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहसँग पराजीत भएका थिए। ओलीझापा–५ बाट निर्वाचन लड्दै आएका छन्।
बालेनप्रति विश्वास छ
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहप्रति आफूलाई विश्वास रहेको पनि बताएकी छन्।
उनले बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको आफ्नो बुझाइ रहेको रहेको बताउँदै उनीप्रति विश्वस्त रहेको बताएकी हुन्।
'बालेनप्रति विश्वास छ । केही होला भन्ने आशा पनि छ,' उनले भनिन्।
बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर रास्वपा चुनावमा होमिएको थियो। त्यसलाई जनताले पनि अनुमोदन गरेको छ।
रास्वपा एक्लैले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ।
दलहरूले समानुपातिकबाट सांसद बन्नेहरूको सूची निर्वाचन आयोगमा बुझाएपछि आवश्यक प्रक्रिया सम्पन्न भएसँगै सरकार गठन प्रक्रिया अघि बढ्नेछ।
रास्वपाले सहमति अनुसार नै बालेनलाई संसदीय दल नेता हुँदै प्रधानमन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरिसेको छ।
प्रधानमन्त्री कार्कीले निर्वाचन गराउने जिम्मेवारी पूरा गरेको बताएकी छन्।
'नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्छ। देशमा बस्ने वातावरण बनाउनुपर्छ। विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस्। शिक्षामा सुधार जरुरी छ। देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ। प्राकृतिक स्रोतसाधनका हिसाबले अन्यन्तै सुन्दर देश छ। अब द्वन्द्व र तनावको अवस्था नहोस् । सबै मिलेर बस्ने वातावरण बनोस्,' उनले भनिन्।
सचिवहरूले फनफनी घुमाए
प्रधानमन्त्री कार्कीले सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने आफूले देखेको बताएकी छन्।
‘हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्। आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र देशको कुरा छ भने त्यो हुँदैन र मिल्दैन मात्र भन्ने। अख्तियार देखाउने। केही सीप नलागे विवादमा परिन्छ हजुर भन्ने। त्यो मैले रद्दी देखेको छु। सरकारको काममा ७५ प्रतिशत असर त्यहाँबाट परेको छ,’ उनले कुराकानीमा भनेकी छन्।
नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नुपर्ने धारणा राखेकी छिन्। सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था पूरा गर्नुपर्ने उनको भनाइ छ।
‘सबैभन्दा ठूलो समस्या रोजगारीको अभाव छ। भएका अवसरमा पनि नातावाद छ। यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नुपर्छ। खुलेआम भ्रष्टाचार रोख्नुपर्छ,’ उनले भनिन्।
समयमा कुनै परियोजना पूरा नहुने अवस्था विद्यमान रहेको उनले बताएकी छन्।
‘नेपाली हो भने त पीर पर्नुपर्छ नि । आज म दुःखपूर्वक भन्दै छु, हामीले कुनै सहयोग पाएनौं । तर हामीले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरेपछि यसबीचमा अख्तियारले केही ठूला मुद्दा अघि बढाएको छ। ४०–४५ थान भ्रष्टाचारका मुद्दा यही सरकार आएपछि दर्ता गरेको छ। अन्यथा कतैबाट सहयोग भएन। कर्मचारीतन्त्र चुस्तदुरुस्त हुनुपर्छ। ठूलो क्रान्तिकारी कदम नै अब कर्मचारीतन्त्र सुधारका लागि चाल्नु आवश्यक देख्दछु। अहिलेकै तरिकाले त राम्रो छवि ल्याउने देखिँदैन,’ उनले भनेकी छन्।
प्रधानमन्त्री कार्कीले आफूले विषम परिस्थितिमा प्रधानमन्त्री भएर जुन काम गर्नुपर्ने हो, त्यो पूरा गरेको उनले भनेकी छन्। उनले आफू अब पुरानै निजी दैनिकीमा फर्किंने पनि बताएकी छन्।
राष्ट्रपति हुने भन्ने पनि चर्चा छ नी भन्ने राससको जिज्ञासामा उनले अब अरु कुनै मोह नरहेको बताएकी छन्।
‘मभन्दा लायक र अवसर नपाएका मान्छे अरू पनि धेरै हुनुहुन्छ। सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो। त्यो पूरा भयो ।
विकासका क्षेत्रहरुमा पनि केही प्रयास भएका छन्। नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्छ। देशमा बस्ने वातावरण बनाउनुपर्छ। विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस्। शिक्षामा सुधार जरुरी छ। देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ। प्राकृतिक स्रोतसाधनका हिसाबले अन्यन्तै सुन्दर देश छ,’ उनको भनाइ छ।
देशमा द्वन्द्व र तनावको अवस्था नहोस् भन्ने आफ्नो कामना रहेको उनको भनाइ छ।
‘सबै मिलेर बस्ने वातावरण बनोस्। बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको छु। मलाई बालेनप्रति विश्वास पनि छ। केही होला भन्ने आशा छ,’ उनले भनेकी छन्।