प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषदमा दुई जना मन्त्री यस्ता छन्, जो कुनै समय शिक्षक र विद्यार्थी थिए।
पहिले शिक्षक-विद्यार्थी र अहिले सँगसँगै मन्त्री भएका यी दुई जना विक्रम तिमल्सिना र सस्मित पोखरेल हुन्।
नुवाकोट-१ बाट निर्वाचित विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री छन् भने काठमाडौं-५ बाट निर्वाचित सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुद मन्त्री भएका छन्।
यसअघि तिमल्सिनाले त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गत स्नातकोत्तरको सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण शिक्षामा अध्यापन गराउँथे। उनले एउटा सेमेस्टरमा राजनीतिक भ्रष्टाचार निवारण विषय पढाउने गर्थे। त्यही विषय सस्मित पोखरेल अध्ययन गरिरहेका छन्।
सस्मितले काठमाडौं महानगरपालिकामा कार्यरत रहँदा नै उक्त विषय लिएर अध्ययन गर्न थालेका हुन्।
अहिले बालेन शाहको मन्त्रिपरिषदमा शिक्षक र विद्यार्थी दुवै जना मन्त्री बन्न पुगेका हुन्।
सञ्चारमन्त्री बनेका तिमिल्सिना केही समयअघि नै रास्वपामा सदस्य बनेका थिए। रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत उनी अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञसमेत हुन्।
उनले अस्ट्रेलियाको ग्रेफथ विश्वविद्यालयको स्कुल अफ गभर्मेन्ट एन्ड इन्टरनेसनल रिलेसनबाट उनले राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका थिए। उनले रेडियो सगरमाथामा सञ्चारकर्मीको रूपमा समेत काम गरिसकेका छन्।
यता सस्मित काठमाडौं महानगरपालिकामा बालेन मेयर हुँदा शिक्षा क्षेत्रमा काम गरेका थिए। काठमाडौं महानगरले दिँदै आएको छात्रवृत्ति कार्यक्रममा पनि उनी लगायतको टिमले काम गरेको थियो।
उनले शिक्षाको गुणस्तर सुधार गर्न पहिलो प्राथमिकतामा राखेको बताएका थिए।
उनले २०७९ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका बालेन शाहलाई सघाएका थिए। बालेनको घोषणापत्र लेखनदेखि चुनावी अभियानमा समेत उनले सहयोग गरेका थिए।
त्यस्तै, संसदीय चुनावमा सस्मितले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिए। त्यतिखेर उनले १०५२ मत पाएका थिए।
सम्बन्धित समाचार: