युरोपेली संसदका ४५ वर्षीय सदस्य पिटर माग्यारको पार्टीले हंगेरीमा प्रधानमन्त्री भिक्टर ओर्बानको १६ वर्षदेखिको शासनको अन्त्य गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र र विश्वभरका उग्र दक्षिणपन्थीहरूको प्रेरणा स्रोतका रूपमा रहेका ओर्बानको फिदेज पार्टीले आइतबार भएको संसदीय चुनावमा हार बेहोरेको छ।
विगतमा ओर्बानकै फिदेज पार्टीमा आवद्ध रहेका चलचित्रका नायक जस्तो देखिने माग्यारले दुई वर्ष अघि मात्रै तिस्जा पार्टी खोलेको थिए। उनको पार्टीले भारी बहुमत प्राप्त गर्ने निश्चित भइसकेको छ।
लोकरीझ्याइँकारी उग्र राष्ट्रवाद र चरम दक्षिणपन्थी विचारका ओर्बानलाई हराउने माग्यार पनि अनुदारवादी नै हुन्।
कानुन विषय पढेका माग्यार दुई दशकभन्दा बढी समयसम्म ओर्बानको फिडेज पार्टीका कम चिनिएका सदस्य थिए। उनले ब्रसेल्समा कूटनीतिज्ञका रूपमा काम गरेका र सरकारी निकायहरूमा वरिष्ठ पदहरू सम्हालेका थिए भनेर द न्यू योर्क टाइम्सले लेखेको छ।
फिडेजकी प्रमुख नेतृ जुडित भार्गासँग उनले सन् २००६ मा विवाह गरेका थिए। उनीहरूको २०२३ मार्चमा सम्बन्ध विच्छेद हुँदा भार्गा अर्बान सरकारमा न्याय मन्त्री थिइन्।
एउटा बालगृहमा भएको यौन दुर्व्यवहारको घटना लुकाउन दोषी ठहरिएका व्यक्तिलाई माफी दिइएको खुलासा भएपछि उत्पन्न राजनीतिक विवादका कारण माग्यारले २०२४ मा ओर्बानसँगको सम्बन्ध तोडेका थिए।
सोही वर्ष उनले तिस्जा नामक नयाँ राजनीतिक पार्टी सुरु गरे। उनको पार्टीले त्यसै वर्ष भएको युरोपेली संसद्को चुनावमा हंगेरीमा ३० प्रतिशत मत प्राप्त गरेको थियो।
ओर्बानलाई दक्षिणपन्थी भनेर आलोचना गर्नु भन्दा उनको चुनावी अभियान फिदेज सरकारले गरेको भ्रष्टाचारप्रतिको जनआक्रोशमा केन्द्रित थियो।
विशेष गरी युरोपेली संघले (इयु) दिएको अर्बौं युरोको दुरुपयोग र हंगेरीको सुस्त आर्थिक वृद्धिको जनता चिन्तित थिए। उनले इयुसँगको सम्बन्ध सुधार्ने वाचा गरे। ओर्बानले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पारेको भन्दै इयुले हंगेरीका लागि विकास कोष रोक्का गर्दै आएको छ। आफुले जिते सो पैसा इयुले फुकुवा गर्ने आशा उनले जनतालाई देखाए।
उनले जनताको जीवनस्तर र हंगेरीको जीर्ण स्वास्थ्य सेवा जस्ता मुद्दाहरूमा पनि ध्यान केन्द्रित गरे। आफु पनि अनुदारवादी रहेका माग्यारले लैङ्गिक अल्पसंख्यकको अधिकार जस्ता उदारवादी मुद्दाहरूबाट आफूलाई टाढै राखे। ओर्बानको रुसतर्फको झुकावको आलोचना गर्दै उनले मस्कोले हंगेरीलाई धम्काउने गरेको लामो इतिहासमा जोड दिए। माग्यारले जिते हंगेरीको सेनालाई युक्रेनको पक्षमा लड्न पठाउँछन् भनेर ओर्बानले प्रचारबाजी गरेका कारण उनले युक्रेन युद्धको बारेमा भने धेरै कुरा गरेनन्।
ओर्बानका लागि माग्यार पहिलो दक्षिणपन्थी चुनौती भने थिएनन्। सन् २०२२ को आम निर्वाचनमा ओर्बानका विभाजित विपक्षीहरू सात सन्तानका पिता तथा एक सानो सहरका अनुदारवादी मेयर पिटर मार्की-जेको पक्षमा गोलबद्ध भएका थिए। तर मार्की-जेले ओर्बानलाई हराउन सकेनन्। सत्तारुढ दलले आफ्नो सञ्चार संयन्त्र प्रयोग गरेर मार्की-जेलाई युक्रेनमा रुस विरुद्ध लड्न हंगेरीका जनतालाई पठाउन खोज्ने ‘युद्धपिपासु’
को रूपमा चित्रण गरेपछि फिडेजले भारी विजय हासिल गरेको थियो।
यसपटक भने सुशासन र जनताको जीवनस्तरको मुद्दा बोकेर माग्यारले ओर्बानको १६ वर्षको शासनको अन्त्य गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)