लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै संविधानले दिएको अधिकारभन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गरेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको अवसरमा सोमबार तुलसीपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त भएको बताए।
उनले संघीय सरकारले दिशा निर्देशन दिन सक्ने भए पनि ठाडो निर्देशन दिन नमिल्ने बताए।
‘संविधानले निर्दिष्ट गरेका हक अधिकार कार्यान्वयनका लागि संघीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गरेर अघि बढ्न हामी तयार छौं। तर, त्यसभन्दा बाहिर गएर निर्देशन दिने कार्य उपयुक्त हुँदैन,’ आर्चाले भने।
मुख्यमन्त्री आचार्यले भदौपछि विभिन्न खालका निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसप्रति संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराए।
संघीय सरकारले सञ्चार क्षेत्रप्रति गरेको व्यवहारप्रति पनि प्रदेश सरकार गम्भीर रहेको बताउँदै त्यस्ता निर्णय अविलम्ब सच्याउन उनले माग गरे।
उनले तीनै तहका सरकार योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
समाजलाई सुमार्गतर्फ लैजानुपर्नेमा उल्टै कुमार्गतर्फ लैजान खोजिएको भन्दै मुख्यमन्त्रीले चिन्ता जाहेर गरे।
‘यदि समयमै सचेत हुन सकिएन भने भविष्यमा मुलुकले दुर्घटना व्यहोर्नु पर्ने अवस्था आउन सक्छ,’ उनले भने।
राष्ट्रियताको सवाललाई कमजोर पार्न नहुने उल्लेख गर्दै मुख्यमन्त्रीले पुर्खाले आर्जेको मुलुकको भविष्यप्रति सबै गम्भीर हुनुपर्ने बताए।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमल सुवेदी, पूर्व नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुखहरूले मन्तव्य राखेका थिए।