सम्पत्ति विवरण सार्वजनिक गर्न माग भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले आफ्नो नाममा चार–पाँच तोला सुन र दुई–चार लाख रुपैयाँ भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसद साम्पाङले खोटाङ केपिलासगढी-२ चोखाने गाउँमा आमाको नाममा केही पाखो, खरबारी र उतिसघारी सहितको केही खेतबारी रहेको पनि उल्लेख गरेका छन्।
‘मेरो सम्पत्ति विवरण चाहिएको रहेछ। केही दिनपछि दिउँला नि मेरो। मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा खोटाङ केपिलासगढी–२ चोखाने गाउँको पाखारेखा, खरबारी बाँस र उतिस घारी सहितको केही खेतबारी छ,’ उनले भनेका छन्, ‘गाउँ भिरालो पाखामा छ। त्यो पनि दाजु दिदीहरूले अंश लिएका छैनन्। मेरो नाममा केही छैन। ४–५ तोला सुन वैदेशिक रोजगारीबाट जोडेको होला। बैंक ब्यालेन्स २–४ लाख होला। म सार्बजनिक गर्नेछु। केही छैन मेरो नाममा,’ उनले लेखेका छन्।