अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई जिजस क्राइस्टका रूपमा प्रस्तुत गरिएको विवादास्पद एआई-निर्मित तस्बिर पोस्ट गरेपछि उनी विवादमा परेका छन्।
यो तस्बिरले एक किसिमको राजनीतिक र धार्मिक तरंग पैदा भएको छ।
आइतबार उनले आफ्नै प्लेटफर्म 'ट्रुथ सोसल' मा पोस्ट गरेको उक्त तस्बिरको व्यापक आलोचना भएपछि सोमबार उनले त्यसलाई हटाएका छन्।
तस्बिरमा ट्रम्पले सेतो वस्त्र लगाएका छन्। एउटा हातमा उज्यालो प्रकाश छरिरहेको गोला बोकेका छन् भने अर्को हातले एक बिरामी मानिसलाई स्पर्श गरेर उसलाई ठिक पारिरहेको देखाइएको छ। पृष्ठभूमिमा स्ट्याच्यु अफ लिबर्टी, अमेरिकी झन्डा, लडाकू विमान र सेनाहरू देखिन्छन्।
यो तस्बिर सार्वजनिक गरेपछि त्यसविरूद्ध राजनीतिक र धार्मिक वृतबाट तीव्र प्रतिक्रियाहरू व्यक्त भएका छन्।
अमेरिकाले इरानमाथि गरेको आक्रमणको पोप लियोले विरोध गरेरहेका छन्। अहिलेका पोप लियो अमेरिकी नागरिक हुन्। पोपले अमेरिका र इसराइलले इरानमा गरेको सैन्य आक्रमणलाई 'अमानवीय' भन्दै आलोचना गरेपछि ट्रम्प उनीमाथि खनिएका थिए।
रोयटर्सले ट्रम्प र पोप लियोबीचको सम्बन्ध निकै चिसिएको समयमा यो तस्बिर आएको जनाएको छ। पोप लियोले इरान युद्धको विरोध गरेपछि राष्ट्रपति ट्रम्पले उनको तीव्र आलोचना गरेका छन्।
पोप लियोले ट्रम्पको आक्रमणबाट आफू 'नडराउने' र अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्ने शक्तिहरूविरूद्ध आवाज उठाइरहने बताएका छन्।
सन् २०२४ को चुनावमा ट्रम्पलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका कट्टरपन्थी धार्मिक समर्थकहरू नै यो तस्बिरबाट रूष्ट देखिएका छन्। धार्मिक भावनामा चोट पुर्याएको भन्दै आफ्नै समर्थकहरूबाट आलोचना खेप्नु परेपछि ट्रम्प दबाबमा परेका हुन्।
तस्बिर हटाएलगत्तै ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्नो बचाउ गरेका छन्। उनले भने, 'यो मलाई डाक्टरको रूपमा देखाइएको तस्बिर हो, जसले मानिसहरूलाई निको पार्छ। म साँच्चै मानिसहरूको जीवन सुधार्ने काम गर्छु।'
युनिभर्सिटी अफ मिसिगनका प्रोफेसर ब्रेन्डन म्याकमोहनले ट्रम्पको स्पष्टीकरणलाई 'अत्यधिक शंकास्पद' भन्दै उक्त तस्बिरमा प्रयोग गरिएको प्रकाश र शैली परम्परागत क्रिश्चियन कलासँग हुबहु मिलेको बताएका छन्।