अमेरिका र इरान दीर्घकालीन युद्धविरामका लागि अर्को चरणको प्रत्यक्ष वार्ता गर्ने विषयमा छलफल भइरहेको छ।
अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएपछि अर्को चरणको प्रत्यक्ष वार्ता गर्न छलफल चलिरहेको भनेर ब्लुमबर्गले जनाएको छ।
अप्रिल ७ मा घोषणा गरिएको दुई हप्ताको युद्धविराम अर्को हप्ता समाप्त हुनुअघि नै नयाँ वार्ता गर्ने लक्ष्य रहेको भनेर यस मामिलाका जानकार व्यक्तिहरूको हवाला दिंदै ब्लुमबर्गले लेखेको छ।
वार्ता संभवत फेरि पनि इस्लामावादमा हुन सक्नेछ। यद्यपि छलफलका लागि अन्य स्थानहरूको बारेमा पनि कुरा भएको ब्लुमबर्गले थपेको छ।
पाकिस्तानमा भएको वार्ता असफल बऐपछि अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी सुरू गरेको छ।
अमेरिका र इसराइलले युद्ध सुरू गरेपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेर आफ्नो अनुमतिमा मात्रै सो जलमार्ग प्रयोग गर्न दिइरहेको छ।
वार्ता असफल भएपछि जबाफमा अमेरिकाले पनि हर्मुजमा नाकाबन्दी सुरू गरेको हो।
अमेरिकी नाकाबन्दी सुरू भए पनि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले द्वन्द्व समाधानका लागि प्रयासहरू अझै जारी रहेको बताएका छन्। अमेरिकी नाकाबन्दी सुरू भएको घोषणा गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि संवाद चलिरहेको जानकारी दिएका थिए।
इरानले सोमबार सम्पर्क गरेको थियो र उनीहरू सम्झौता गर्न चाहन्थे भनेर ट्रम्पले दाबी गरेका छन्। तर इरानलाई परमाणु हतियार राख्न अनुमति दिने कुनै पनि सम्झौतालाई स्वीकृति नदिने उनले बताएका छन्।
'इरानसँग परमाणु हतियार हुने छैन,' ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामी कुनै पनि देशलाई विश्वलाई ब्ल्याकमेल गर्न वा धम्काउन दिन सक्दैनौं।’
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)