अमेरिकी र इरानबीच दोस्रो चरणको वार्ता चाँडै नै हुने सम्भावना बढेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो चरणको वार्ता छिट्टै हुन सक्ने संकेत गरेका हुन्।
न्यूयोर्क पोस्टसँग कुरा गर्दै ट्रम्पले अर्को दुई दिनमै इस्लामावादमा केही हुन सक्ने भनेका हुन्।
'तपाईंहरू त्यही (इस्लामावादमा) बस्नुपर्ने हुनसक्छ। किनकी अर्को दुई दिनमै केही हुन सक्छ,' उनले भने, 'यो सम्भावना बढी छ। किनभने फिल्ड मार्सल (पाकिस्तानी सेना प्रमुख असिम मुनिर) ले राम्रो काम गरिरहेका छन्।'
यसअघि दोस्रो चरणको वार्ता स्वीटजरल्याण्डको जेनेभामा हुने चर्चा थियो। तर ट्रम्पले जेनेभामा वार्ता नहुने बताएका छन्।
'यससँग सम्बन्ध नै नराख्ने देशमा किन जानुपर्यो,' उनले भनेका छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जर्जियामा भएको एउटा कार्यक्रममा ट्रम्पले ठूलो सम्झौता गर्न चाहेको भए पनि दुई देशहरूबीच धेरै अविश्वास रहेको बताएका छन्।
'त्यो समस्या रातारात समाधान पनि हुँदैन,' मंगलबारको कार्यक्रममा उनले भनेका थिए।
युद्धको छैटौं हप्तामा गत साता अमेरिका र इरानबीच इस्लामावादमा वार्ता भएको थियो।
त्यहाँ २१ घन्टा भएको वार्ता विनानिष्कर्ष टुंगिएको थियो।
अमेरिकी वार्ता टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स र इरानी वार्ता टोलीको नेतृत्वक सभामुख मोहम्मद बागेर गालीबाफले गरेका थिए।
अमेरिकाले इरानलाई २० वर्षसम्म सबै आणविक गतिविधि पूर्ण रूपमा रोक्न प्रस्ताव गरेको छ भने तेहरानले ३ देखि ५ वर्षसम्मको मात्रै अस्थायी रोकको प्रस्ताव अघि सारेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरिकाले इरानसँग रहेको सबै समृद्ध युरेनियम देशबाहिर लैजानुपर्ने अडान राखेको छ। तर इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा परित्याग गर्ने संकेत भने दिएको छैन।
पाकिस्तानमा भएको वार्तामा संलग्न एक स्रोतका अनुसार, औपचारिक वार्ता निष्कर्षविहीन भए पनि त्यसयता पर्दा पछाडि (ब्याकच्यानल) भएका संवादमार्फत दुबै पक्षबीचको दूरी केही घटेको छ।
यसले नयाँ चरणको वार्तामा प्रस्तुत गर्न मिल्ने सम्भावित सहमतिको आधार तयार हुँदै गएको संकेत गर्छ।
पहिलो चरणको वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि नाकाबन्दी लगाएको छ। अमेरिकाले इरानी समुद्री जहाजमात्रै होइन उसको देशमा गएका अन्य देशका जहाजहरू पनि रोकेको छ। अमेरिकी सेन्ट्रल कमान्डले चौबीस घन्टामा कुनै पनि जहाज इरानतर्फ प्रवेश नगरेको बताएको छ।