मध्यपूर्वमा जारी तनावबीच इसराइल र लेबननबीच अमेरिकामा वार्ता भएको छ।
अमेरिकाको मध्यस्थतामा राजधानी वासिङ्टन डिसीमा मंगलबार इसराइल र लेबननबीच प्रारम्भिक वार्ता भएको हो।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओको पहलमा भएको वार्तामा अमेरिकाका लागि इसराइलका राजदूत यचिल लेटर र लेबननकी राजदूत नाडा मोवाद थिए। अमेरिकाबाट विदेशमन्त्री रूबिओ, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ज, लेबननका लागि अमेरिकी राजदूत माइकल इसा लगायत थिए।
वार्ता करिब २ घन्टा चलेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। वार्तालाई दुवै पक्षले सकारात्मक भनेका छन्।
सन् १९४८ मा इसराइल स्थापना भएयता औपचारिक रूपमा युद्धकै अवस्थाबाट गुज्रिरहेका दुई देशका प्रतिनिधि एउटै टेबलमा बसेको यो दुर्लभ क्षण हो।
यद्यपि यो पूर्ण औपचारिक वार्ता भन्दा पनि प्रारम्भिक वार्ता हो। यसमा एक-अर्काको अडान बुझ्ने र युद्धविरामको सम्भावना खोजी गर्ने काम भएको थियो।
दुवै पक्षले औपचारिक वार्ताका लागि तयार भएको भनेका छन्। अब अर्को वार्तामा एजेन्डा, मुद्दा तथा सम्झौता हुने विषयहरूमा छलफल हुने बताइएको छ।
'प्रत्यक्ष वार्ता सुरू हुने दिशामा छलफल भयो। उपयुक्त समय र स्थानमा प्रत्यक्ष वार्ता अघि बढाउनेमा सहमति भएको छ,' वार्तापछि जारी वक्तव्यमा भनिएको छ।
अमेरिकाका लागि इसराइली राजदूत लेटरले लेबनन पक्षले इरान समर्थित हिजबुल्लाहको प्रभावबाट मुक्त हुने संकेत दिएको दाबी गरेका छन्। यद्यपि इसराइलले लेबननमाथि आक्रमण रोक्छ कि रोक्दैन भन्ने चाहिँ खुलाएनन्।
लेबननकी राजदूत नाडा मोवादले पनि वार्ता सकारात्मक रहेको बताइन्।
वार्ताको सुरुवातमै विदेशमन्त्री रूबिओले सबै समस्या तत्काल समाधान नहुने स्वीकार गर्दै प्रक्रिया दीर्घकालीन हुने संकेत दिएका छन्। इसराइलका राजदूत लेटरले पनि आगामी केही साताभित्र थप वार्ता हुन सक्ने बताएका छन्। तर समय र स्थान भने तय भइसकेको छैन।
अमेरिका-इसराइल र इरानबीच युद्धविराम भएको एक सातापछि वासिङ्टनमा वार्ता भएको हो। पाकिस्तानी मध्यस्थतामा भएको युद्धविराम प्रारम्भमा मध्यपूर्वका सबै युद्धग्रस्त मुलुकहरूमा लागू हुने भनिएको थियो।
पछि इसराइलले युद्धविराम इरानसँग मात्रै भएकाले लेबननमा हमला जारी राख्ने घोषणा गरेको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लेबनन युद्धविराममा नसमेटिएको बताएका थिए।
फेब्रुअरी २८ मा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी इसराइलर र अमेरिकाको संयुक्त हमलामा मारिएपछि इरान समर्थित हिजबुल्लाहले इसराइलमा हमला गरेको थियो।
इरानले युद्धविरामपश्चात लेबननमा अझै शक्तिशाली हमला गरिरहेको छ।
इसराइलले भने युद्धको मारमा परेको लेबनन पनि युद्धविराममा समेटिनुपर्ने माग गर्दै आइरहेको छ। इस्लामावादको वार्तामा पनि इरानले लेबननको विषय प्राथमिकताका साथ राखेको थियो।
अधिकारीहरूका अनुसार लेबननमा २ हजारभन्दा बढी मानिस मारिएका छन् भने करिब १२ लाख विस्थापित भएका छन्।