राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहीबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेकामा बधाई ज्ञापनको प्रस्ताव पारित गरेको छ।
प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागेजिन 'टाइम' ले प्रकाशित गरेको सन् २०२६ का सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन परेका हुन्।
रास्वपा संसदीय दल नेता बालेन उक्त सूचीमा परेकामा बधाई ज्ञापन गर्ने प्रस्ताव पारितपछि सभापति रवि लामिछानेले उनलाई अँगालो हालेर व्यक्तिगत रूपमा पनि बधाई दिएका थिए।
त्यसको जबाफमा प्रधानमन्त्री बालेनले बैठकमा सहभागी रास्वपा सांसदहरूलाई नमस्कार गरेर धन्यवाद दिए।
उनले बधाई प्रस्तावको जबाफमा कुनै प्रतिक्रिया भने नजनाएको बैठकमा सहभागी एक रास्वपा सांसदले बताए।
टाइमले हरेक वर्ष नेता, कलाकार, नवप्रवर्तक, प्रभावशाली व्यक्तित्व लगायतका केही समूह विभाजन गरी सूची सार्वजनिक गर्दै आएको छ।
प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४औं नम्बरमा छन्। उक्त समूहमा पोप लियो पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा मेक्सिकोकी प्रधानमन्त्री क्लाउडिया शेइनबउम छिन्। अमेरिकी विदेशमन्त्री मार्को रूबिओ तेस्रो र राष्ट्रपति डोनाल्ड ट्रम्प चौथो नम्बरमा छन्।
पाँचौंमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, छैटौंमा न्युयोर्कका मेयर जोहरन ममदानी, सातौंमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, आठौंमा जापानकी प्रधानमन्त्री सनइ तकाइची, नवौंमा इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, दसौंमा नामिबियाकी राष्ट्रपति नेतुम्बो नन्दी नदैतवाह, एघारौंमा मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफ, बाह्रौंमा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसम, तेह्रौंमा स्पेसएक्सकी प्रमुख ग्वाइन शटवेल र चौधौंमा प्रधानमन्त्री बालेन शाह छन्।
प्रभावशाली नेताको सूचीमा कुल २४ जना छन्।
टाइमले बालेनलाई हिप–हप कलाकारबाट उदाएका राजनीतिक नेतृत्वका रूपमा चित्रण गरेको छ। भ्रष्टाचार र पुरानो राजनीतिक संरचनाप्रति असन्तुष्ट युवा पुस्ताको आन्दोलनले उनलाई सत्तामा पुर्याएको भनेर पनि उल्लेख गरिएको छ।
बालेनको उदयलाई युवा विद्रोहका रूपमा हेरिएको र यसले क्षेत्रीय सत्ता संरचनामै तरंग ल्याएको पत्रिकाले उल्लेख गरेको छ।
काठमाडौं महानगरपालिकाको मेयर रहँदा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न प्रशासनिक जटिलता तोड्ने प्रयास गरेको भनेर टाइमले प्रशंसा गरेको छ। तर स्थानीय तहमा देखिएको सफलता राष्ट्रिय स्तरमा दोहोर्याउन सक्ने नसक्ने विषयमा अझै चुनौती रहेको उल्लेख गरिएको छ।
अमेरिकी र्याप कलाकार टुपाक शकुर र फिफ्टी सेन्टका प्रशंसक बालेनले 'नयाँ वा पुराना सबै नेता चोर हुन्' भनेर सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका थिए भनेर पनि टाइमले लेखेको छ।
'नेपाली जनताले उनले आफ्नै भनाइ गलत साबित गर्ने अपेक्षा राखेका छन्,' टाइमले लेखेको छ।