इरानसँगको युद्धमा धेरै अमेरिकी हतियार खर्च भए पछि डोनाल्ड ट्रम्प सरकारले मोटर निर्माता लगायत कम्पनीहरूसँग हतियार बनाउनेबारे छलफल गर्न थालेको छ।
दोस्रो विश्वयुद्धको झल्को दिने गरी अमेरिकी सरकारले हतियार उत्पादनमा ठूलो भूमिका खेल्न फोर्ड, जनरल मोटर्स लगायतका अमेरिकी निर्मातासँग छलफल थालेको भनेर द वाल स्ट्रिट जर्नलले लेखेको छ।
दोस्रो विश्वयुद्धको बेला अमेरिकी सरकारले मोटर लगायत अरू निर्माता कम्पनीलाई द्रुत गतिमा युद्धपोत, लडाकु विमान र हतियारहरू बनाउन लगाएको थियो। आफ्नो सम्पूर्ण निर्माण क्षमतालाई युद्धका लागि प्रयोग गरेपछि अमेरिकाले तत्कालीन सोभियत संघ, बेलायत लगायत देशसँग गठबन्धन गरेर दोस्रो विश्वयुद्ध जितेको थियो।
त्यसैको झल्को दिने गरी अहिले ट्रम्प सरकारले पनि मोटर र अरू निर्माता कम्पनीसँग हतियार बनाउने बारे छलफल थालेको हो।
रूससँग लड्नका लागि युक्रेनलाई पछिल्ला वर्षमा हतियार दिए पछि अमेरिकी हतियारको भण्डार कम हुँदै गएको थियो। यस्तो समयमा इसराइलसँग मिलेर अमेरिकाले फेब्रुअरी २८ मा इरानसँग युद्ध शुरू गरेको थियो।
युद्धका क्रममा इरानी मिसाइलबाट जोगाउन महंगा ‘इन्टरसेप्टर’ मिसाइल मात्रै नभएर आक्रमणमा प्रयोग हुने मिसाइलको पनि भण्डार रित्तिंदै गएको मानिन्छ।
यस्तो बेलामा ताइवानको विषयमा चीनसँग युद्ध भएमा अमेरिकी हतियार केही दिनमै सकिने चिन्ता विश्लेषकहरूले गर्न थालेका छन्। त्यसैले द्रुत गतिमा हतियार बनाउन अमेरिकी सरकारले निजी निर्मातासँग छलफल थालेको देखिन्छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले भने जस्तो सैन्य उत्पादनलाई युद्धस्तरमा बढाउन सरकारले प्रयास थालेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)