चीनका राष्ट्रपति सी चिनफिङले कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य र सिनजियाङ प्रान्तका पूर्व प्रमुख मा सिन्गरुइलाई भ्रष्टाचार गरेको भनेर कारबाही गरेका छन्।
अन्तर्राष्ट्रिय रूपमा आलोचना हुने गरी सिनजियाङका वीगुर अल्पसंख्यकको चरम दमनको नेतृत्व गरेका मालाई सी पछिको पुस्ताका शक्तिशाली नेतामध्ये मानिन्थ्यो।
उनलाई ९ महिनाअघि सिनजियाङ प्रान्तका प्रमुखबाट हटाएर जिम्मेवारी विहीन बनाइएको थियो। अहिले उनलाई भ्रष्टाचार गरेको भनेर कारबाही गरिएको हो।
सन् २०१२ मा शासन थालेदेखि नै सीले विरोधीलाई भ्रष्टाचार लगायत विभिन्न कारण देखाएर कारबाही गरेका छन्।
विरोधीहरूलाई तह लगाएर सी कम्युनिस्ट व्यवस्था भएको चीनमा माओ त्से तुङपछिका सबभन्दा शक्तिशाली शासक बनेका हुन्।
आफ्नो एकछत्र नियन्त्रण कायम गर्ने क्रममा उनले बहालवाला नेताहरूलाई मात्रै होइन, अवकाशप्राप्त वरिष्ठ नेताहरूलाई पनि तह लगाएका छन्। पछिल्लो समयमा उनले वरिष्ठ जनरलहरूलाई कारबाही गरिरहेका थिए।
यसै वर्ष अमेरिकालाई आणविक हतियार सम्बन्धी सूचना बेचेको, रक्षा मन्त्री बनाउन घुस लिएको लगायत आरोप लगाएर सीले सबभन्दा वरिष्ठ जनरललाई कारबाही गरेका थिए।
सीपछि चीनमा सेनाको सबभन्दा शक्तिशाली जनरल झाङ युसियालाई अमेरिकालाई गोप्य सूचना चुहावट गरेको लगायत आरोप लगाएर गत जनवरीमा कारवाही गरेका थिए।
अहिले भने उनले पोलिटब्युरो सदस्यलाई कारवाही गरेका छन्। चीनमा सात सदस्यीय स्थायी समिति पछि पोलिटब्युरो सबैभन्दा शक्तिशाली निकाय हो। २४ सदस्यीय पोलिटब्युरोबाटै सर्वोच्च नेता सहित स्थायी समिति चयन गरिन्छ।
अहिलेका प्रायजसो सबै सैन्य जनरल र उच्च नेता सीले नै नियुक्त गरेका हुन्। तर उनीहरूमध्ये पनि उनी नजिकका र बाहिरका समूहहरू छन्। सी सन् १९८५ देखि २००२ सम्म फुजियान प्रान्तमा खटिएका बेला उनको मातहतमा रहेका धेरैलाई उनले उच्च पदमा बढुवा गरेका छन्। फुजियान ग्यांग भनेर चिनिने यिनीहरू सीको नजिक र शक्तिशाली मानिन्छन्।
अहिले कारवाहीमा परेका मा भने सान्डोङ ग्यांगका मानिन्छन् भनेर फरेन पोलिसी पत्रिकाले लेखेको छ। यो समूहको नेतृत्व सान्डोङ प्रान्तमा जन्मिएकी सीकी श्रीमती पेङ्ग लियुआनले गर्छिन् भनिन्छ। अर्कै प्रान्तमा जन्मिए पनि माको परिवार सान्डोङबाट बसाइ सरेको हो।
धेरै उच्च नेताका श्रीमती र सन्तानसँग साँठगाँठ गरेर समूह चलाएकाले मालाई कारबाही गरेको मानिन्छ। यस्तो समूहको प्रभाव प्रयोग गरेर नेतृत्वमा पुग्ने इच्छा राखेकाले मालाई सीले कारवाही गरेको हुन सक्छन्। उनलाई नौ महिना अघि सिनजियाङ प्रान्तका प्रमुखबाट हटाएर जिम्मेवारी विहिन बनाइए पनि कुनै कारबाही गरिएको थिएन। आफ्नी श्रीमतीसँग निकट भएका कारणले नै मालाई भ्रष्टाचारको कारबाही गर्न नौ महिना लागेको फरेन पोलिसीले लेखेको छ। मालाई कारबाही गरेर सीले बेग्लै समूह बनाएर आफ्ना लागि चुनौती सृजना गरे कसैलाई पनि नछोड्ने सन्देश दिएको देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)