नेपाली कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिले काम सुरू गरेको छ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महामन्त्री प्रदीप पौडेलको संयोजक र सहमहामन्त्रीहरू योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य रहेको समिति बनाएको थियो।
उक्त समितिको पहिलो बैठक आज बिहान बसेको हो।
समितिले प्रारम्भिक रूपमा काम सुरू गरेको छ।
समिति सदस्यसमेत रहेका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १४ औं महाधिवेशनपछि नवीकरण भएका क्रियाशील सदस्यता जिल्लागत रूपमा यकिन गर्नेलगायत केही निर्णय भएको जानकारी दिए।
साथै क्रियाशीलबारे केही भ्रम सिर्जना गर्न खोजिएको भन्दै प्रष्ट पार्ने तयारी गरिएको उनले बताए।
‘क्रियाशील सदस्यता अद्यावधिक गर्ने भनेको खारेज गर्ने भनेको होइन,’ उनले भने, ‘केही भ्रम सिर्जना गर्न खोजिएका छन्। त्यसैले प्रष्ट पार्न प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्रीय सभापतिलगायत सँग जुम मिटिङ गर्छौं।’
उनकाअनुसार शुक्रबार जुम मिटिङ हुनेछ।
कांग्रेसले उम्मेदवार नभएका केन्द्रीय सदस्य, जरा अभियानका केन्द्रीय प्रतिनिधि, १६५ क्षेत्रीय सभापति र उम्मेदवारलगायत सँग क्रियाशील सदस्यता अद्यावधिक अभियानबारे छलफल गर्न लागेको हो।