कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त भएका छन्।
उनी विगतमा कान्तिपुर दैनिकको आर्थिक ब्युरो प्रमुख थिए।
अवस्थीलाई प्रधान सम्पादकमा नियुक्त गरिएको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ।
इकान्तिपुरका अनुसार उनले सन् २०२६ मे ५ बाट कान्तिपुर दैनिकको प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्नेछन्। उनीसँग पत्रकारिता, राजनीतिक एवं आर्थिक विश्लेषण र अध्यापन क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ।
सेजनका पूर्व अध्यक्ष रहेका उनी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशक, नेपालस्थित राष्ट्रसंघीय कार्यालयमा दिगो विकास लक्ष्य सल्लाहकार र नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहेर काम गरेका थिए।
प्रधान सम्पादकबाट उमेश चौहानले राजीनामा दिएपछि कान्तिपुरले आवेदन खुला गरेको थियो।
१७ वटा आवेदन परेकोमा अन्तिम सूचीमा परेका तीन जनामध्येबाट अवस्थीलाई छनोट गरिएको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ।