अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक हतियार बनाउन मिल्ने गरी प्रशोधन गरिएको युरेनियम हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका छन्।
आणविक हतियार कार्यक्रम रोक्न भन्दै गत जुनमा इसराइलले इरानमाथि हमला गरेको थियो। इरानको फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाइएको आणविक भट्टी इसराइलले ध्वस्त पार्न नसकेपछि अमेरिका पनि त्यति बेला युद्धमा होमिएको थियो।
अमेरिकाको मिजोरीबाट करिब १८ घन्टा उडेर गएका बी–२ बमवर्षक विमानले बंकर–भेदी बम खसालेर फर्दो लगायत अन्य ठाउँका आणविक भट्टीमा प्रहार गरेका थिए।
त्यति बेला इरानले आणविक बम बनाउन मिल्ने गरी करिब ४०० किलो युरेनियमको उच्च प्रशोधन गरेको थियो।
अमेरिकी आक्रमण पछि सो युरेनियम भग्नावशेषको मुनि पुरिएको मानिन्छ। त्यसरी पुरिएको उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्न इरान राजी भएको ट्रम्पले दाबी गरेको भनेर द वाशिङटन पोष्टले लेखेको छ।
'इरानसँग आणविक हतियार छैन, र तिनीहरू यसमा सहमत भएका छन्। हामीले बी-२ बमवर्षक विमानबाट गरेको आक्रमणका कारण जमिनको धेरै मुनि रहेको आणविक धुलो हामीलाई फिर्ता दिन उनीहरू सहमत भएका छन्। त्यसैले इरानसँग हाम्रा धेरै सहमतिहरू भएका छन्, र मलाई लाग्छ कि केही धेरै सकारात्मक र धेरै महत्त्वपूर्ण कुरा हुन गइरहेको छ,' ह्वाइट हाउसमा बिहीबार पत्रकारहरूलाई ट्रम्पले भने।
ट्रम्पले पुरिएको सो उच्च प्रशोधित युरेनियमलाई आणविक धुलो भन्ने गर्छन्।
अमेरिका र इरानबीच दीर्घकालीन युद्धविरामका लागि अहिले पाकिस्तानले मध्यस्थता गरिरहेको छ। पाकिस्तानसँग छलफलका क्रममा इरानले उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्न सहमत भएको अरू कसैले पनि अहिलेसम्म पुष्टि गरेको छैन।
तर केही समय अघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उच्च प्रशोधित चार सय किलो युरेनियम रूसले लाने सर्तमा इरानमाथिको आक्रमण रोक्न अमेरिकालाई प्रस्ताव गरेको समाचार आएको थियो।
अमेरिका र इरान दीर्घकालीन युद्धविरामका लागि अहिले छलफल भइरहेको छ। एक-दुई दिनमै अर्को वार्ता हुने र युद्ध रोक्न सहमति हुन सक्ने भनेर ट्रम्पले दाबी गरेका छन्।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेका थिए।
अप्रिल ७ मा अमेरिका र इरानबीच दुई हप्ते युद्धविराम भएको थियो। युद्धको स्थायी अन्त्य गर्न अमेरिका र इरानबीच पाकिस्तानमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको थियो। शनिबार दिउँसोदेखि आइतबार बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका थिए।
अमेरिकी वार्ता टोलीको नेतृत्व गरेका भान्सले इरानले अमेरिकी प्रस्ताव अस्वीकार गरेको पनि जनाएका थिए।
'उनीहरू हाम्रो शर्त मान्न तयार देखिएनन्,' उपराष्ट्रपति भान्सले भने। 'तर तेहरानले परमाणु हतियार र त्यसका लागि आवश्यक हतियार विकास गर्दैन भन्ने हामीलाई इरानबाट स्पष्ट र ठोस प्रतिबद्धता चाहिन्छ,' उनले थपे।
अर्कोतर्फ इरानले पनि अमेरिकाले ज्यादै कडा र अव्यावहारिक माग राखेको दाबी गरेको छ।
दुई पक्षबीच मुख्यतः इरानको आणविक हतियार कार्यक्रमको विषयमा सहमति जुट्न नसकेको मानिन्छ। ट्रम्पले दाबी गरे जस्तो इरान उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्न राजी भएको हो भने चाँडै युद्ध अन्त्य गर्न सहमति हुने देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)