कञ्चनपुरमा गाउँपालिका उपाध्यक्ष पक्राउ परेकी छन्। बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
गत वर्ष वैशाख ९ गते बेलौरी नगरपालिका–१० मा मोटरसाइकलसहित जलेर मृत्यु भएको अवस्थामा ५० वर्षीय हरिकिसन रानाको शव फेला परेको थियो ।
बेलडाँडी गाउँपालिका – ३ का हरिकिसन एकाबिहानै सडक किनारमा आफ्नो मोटरसाइकलसहित जेलेर मृत्यु भएको अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी प्रमुख एसपी खड्गबहादुर खत्रीका अनुसार एक वर्ष अघिको उक्त घटनाका बारेमा बिहीबार मात्रै हरिकिसनकी श्रीमति फिरिया रानाले उपाध्यक्ष नाथविरुद्ध ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी दिएकी थिइन्।
सोही जाहेरीका कारण गाउँपालिका उपाध्यक्षलाई बिहीबार पक्राउ गरिएको एसपी खत्रीले बताए। फिरियाले गाउँपालिका उपाध्यक्ष नाथसँग आफ्नो श्रीमान हरिकिसनको लेनदेन रहेको, कृषी उपकरण खरिद तथा कृषी अनुदान लगायतका बिषयमा दुई जनाबीच तनाव बढेको तथा गाउँपालिका उपाध्यक्ष नाथले पटक / पटक ज्यान मार्ने धम्की दिने गरेको लगायतका विषय उल्लेख गरी जाहेरी दिएकी थिइन्।
हरिकिसनको मृत्यु भवितव्य, दुर्घटना वा नियोजित हत्या हो भन्ने बारेमा प्रहरीको अनुसन्धान जारी छ । एसपी खत्रीले गाउँपालिका उपाध्यक्ष नाथको बारेमा घटनाको बारेमा थप अनुसन्धान हुने बताए ।
यो घटना अनुसन्धानका लागि गत वर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पनि कन्चनपुर पुगेको थियो।