नेपाली कांग्रेसले आज प्रतिनिधि सभाका सांसदहरूसँग छलफल गरेको छ।
फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो। तर अहिलेसम्म संसदीय दल नेता चयन हुन सकेको छैन।
सहमहामन्त्री प्रकाश रसाइली स्नेही संयोजक रहेको ३ सदस्यीय निर्वाचन समिति बनेको छ। उक्त समितिले नै आज सिंहदरबारमा सांसदहरूसँग छलफल गरेको हो।
संसदीय दल विधान संशोधन लगायतका विषयमा आज सांसदहरूसँग छलफल गरिएको संयोजक स्नेहीले जानकारी दिए।
‘संसदीय दल विधान संशोधनलगायत विषयमा आज कुराकानी भयो, संसदीय दल नेता चयनका विषयमा कुरा सुरू भएको छ आज टुंगिएन, भोलि पनि छलफल गर्छौं,’ उनले भने।
सांसद अर्जुननरसिंह केसीका अनुसार ३८ सांसदमध्ये आज २६ जनाले धारणा राखेका थिए।
‘२६ जना सांसदहरूले धारणा राख्नुभयो, संसदीय दल नेता चयनमा ढिलाइ भएको कुरा आयो, अब छिटो संसदीय दल नेता चयन गर्नुपर्छ भन्ने सबैको कुरा छ,’ उनले भने, ‘सकेसम्म सर्वसहमतिमा संसदीय दल नेता चयन गरौं भन्ने सबैको कुरा छ।’
एक सांसदका अनुसार आज बोलेकामध्ये तीन जनाले संसदीय दल नेतामा आकांक्षा देखाएका छन्। सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले संसदीय दल नेतामा आकांक्षा राखेका छन्। यीमध्ये आचार्य प्रत्यक्ष निर्वाचित सांसद हुन्।
‘कतिपय सांसदहरूले आइपरे आफू पनि संसदीय दल नेता बन्न सक्छु भन्ने ढंगले कुरा राख्नुभएको थियो, तीन जनाले चाहिँ दल नेतामा दाबी नै गर्नुभएको छ,’ ती सांसदले भने, ‘छिटो भन्दा पनि सकेसम्म सहमति जुटाएर दल नेता चयन गर्न खोजेको जस्तो देखिन्छ।’